पुस्तान्तरण र चासो नहुँदा खस्किँदै लाखेजात्राको रौनक

  सिलिचुङ सम्बाददाता

 

भोजपुर । पछिल्लो पुस्तामा चासो घट्दै गएपछि नेवार समुदायको सांस्कृतिक पर्व लाखेजात्राको रौनक खस्किँदै गएको छ । विगतका वर्षमा निकै उल्लासमय रहने लाखेजात्रा पहिलो र दोश्रो चरणको कोरोना भाइरसका कारण यसको रौनक अझ सुस्ताएको छ । मुख्य बजारक्षेत्र र भिडभाड हुने स्थानहरुमा लाखेजात्रा प्रर्दशन गर्न बन्देज गरिएपनि नेवार समुदायको बाहुल्यता भएको गाउँबस्तीमा भने लाखेजात्राको तामझाम बढेको छ ।

मूलतः दशक लामो सशस्त्र द्वन्दले यहाँका कतिपय स्थानिय नेवार समुदाय पलायन हुनु र पछिल्ला पिँढीका युवापुस्ताको चासो नदिएका कारण यो साँस्कृतिक पर्व ओझेलमा परिरहेको छ

धुमधामका साथ निकालिने लाखेजात्रा साउनको नागपञ्चमीदेखी श्रीकृष्ण रथयात्रासम्म स्थानीय नेवार समुदायले निकाल्ने गरिन्थ्यो । तर पछिल्लो युवापिँढीमा जातीय संस्कार र चासो हनु छाडेपछि गठेमंगल, गाईजात्रा, लाखेजात्रा क्रमशः ओझेलिँदै गएको स्थानीय अग्रजहरुको बुझाई छ । बढ्दो आधुनिक प्रविधि र संस्कृतिसंग पछिल्लो पुस्तान्तरण हुन थालेकाले पनि जात्राको चहलपहलमा कमि आएको भोजपुर लाखे समाजका अध्यक्ष विनम श्रेष्ठले सुनाए । भन्छन्, ‘युवा जति पलायन भए, भएकाले पनि खासै महत्व दिँदैनन्, जान्नेबुझ्ने अग्रजहरुको पनि कुनै चासो दिदैनन्, त्यसैले बर्षेनी जात्राको रौनक हराउन थालेको हो’
१०÷११ वर्ष अघिसम्म दुर्गम गाउँगाउँबाट मानिसहरु लाखेजात्रा हेर्न हप्तौ लगाएर सदरमुकाम आउने गर्थे । तर आजभोली केहि वर्ष अगाडीसम्म मात्र लाखेजात्राको बेला बजारमा निस्किँदा बाटोमा खुट्टा राख्ने ठाउँसमेत हुन्नथ्यो । लाखे हेर्ने मानिसहरुको भिडमभाडले बृद्धबृद्धा र साना केटाकेटीलाई बाटो काट्न निकै मुस्किल हुने गथ्र्यो । जातीय पहिचानको साँस्कृतिक महत्व नयाँ पिँढीमा पुस्तान्तरण नहुँदा जातीय पर्व लोपन्मुख हुने अवस्था बढेको भोजपुर नगरपालिका ५, बोखिमका फविन्द्र प्रधानको ठम्याई छ ।
मूलतः दशक लामो सशस्त्र द्वन्दले यहाँका कतिपय स्थानिय नेवार समुदाय पलायन हुनु र पछिल्ला पिँढीका युवापुस्ताको चासो नदिएका कारण यो साँस्कृतिक पर्व ओझेलमा परिरहेको नेपाल भाषा मंका खलः का अध्यक्ष गणेश प्रधानको भनाई छ । केहि वर्षअघिसम्म स्थानिय नेवारहरु एकै ठाउँ भेला भएर ठाकठुके नाँच र ढोलकी, झ्याली, हार्मोनियम, बाँसुरी, मुरलीमा नेवारी गित गाउँदै लाखेजात्रा देखाउने, नगर परिक्रमा गर्ने गर्थे । तर पुराना पुस्ता सुविधा खोज्दै बसाईसराईँ जानु र पछिल्लो पुस्ता अवसरको खोजी पलायन हुनु सांस्कृतिक महत्वको लाखेनाचको रौनक खस्किएको अर्का स्थानिय नविन प्रधानले सुनाए ।
‘उर्जाशिल युवापुस्ताको नै चासो छैन, भएका बुढापाकाले लाखे भएर नाच्न र घण्टौसम्म ढोल–झ्याम्टा बाजाको ताल त दिन सक्दैननन्, यो हाम्रो बिडम्बना हो’ उनले भने, ‘यस्तै क्रम रहने हो भने भविष्यमा लाखेजात्रा लोप होला भन्न सकिन्न’ संक्रमणको जोखिमका कारण सदरमुकाम लगायतका शहरबजारमा लाखेजात्रा प्रदर्शन गर्न बन्द गरिएपनि ग्रामीण भेगमा लाखेनाँच धुमधामले सुरु भएको छ । आफ्नो संस्कृति र पहिचानको जगेर्ना गर्न लागि पनि गाउँघरमा सामाजिक दुरी कायम गरी लाखे नचाउने गरेको भोजपुर नगरपालिका ५, बोखिमका हरि प्रधानले बताए । भने, ‘हाम्रो पहिचान र कलासंस्कृति भन्नु नै यहि हो, सतर्कता अपनाएरै गाउँघरमै छरछिमेक दाजुभाई मिलेर परम्परागत लाखे नचाएका छौँ’
कोभिड १९ का कारण देखाउँदै योवर्ष भोजपुर सदरमुकाम, टक्सारबजार, दिङलाबजार, चम्पे, दाँवाबजार लगायत बजारक्षेत्रमा जात्रा बन्द गरिएको छ । जात्रामा सर्वसाधरणको भिडभाड र संक्रमणको जोखिम धेरै हुने भएकोले योवर्षको लाखेजात्रा प्रदर्शन नगर्न निर्देशन दिईएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद भण्डारीले बताए । उनले भने, ‘कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखेर बजारक्षेत्रमा भिडभाड हुने किसीमका कार्यक्रमहरु रोक्ने निर्णय गरेका हौँ’

 

भोजपुर सदरमुकाममा निकालिने लाखेजात्रा । तश्विर, सिलिचुङ

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार