म्याग्दी : प्लाष्टिकजन्य सामग्रीको प्रयोग बढ्दै गएकाले म्याग्दीका ग्रामीण भेगहरूबाट परम्परागतरूपमा प्रयोग गरिँदै आइएको बाँस र निगालोको चोयाबाट बुनिएका डोको, डालो, थुन्से र भकारी लोप हुँदै गएका छन्।
यस क्षेत्रका दलित तथा आदिवासी जनजाति समुदायका व्यक्तिहरूले पुस्तौँदेखि डोको‚ डालो, थुन्से र भकारी बुनेर विभिन्न ठाउँमा लाग्ने मेला, बजार र गाउँघरसम्म पुर्याइ बिक्री गरी जीविकोपार्जन गर्दै आएका थिए। तर, केही वर्षअघिसम्म गाउँघरमा खाद्यान्नको भण्डारणका लागि प्रयोग गरिने यी वस्तुहरू पछिल्लो समयमा लोप हुँदै गएको छ। प्लाष्टिकका समानको बढी प्रयोग र गाउँघरका सामुदायिक वनमा पनि कच्चा पदार्थ बाँस र निगालो अभावका कारण यो पेशा संकटमा परेको बेनी नगरपालिका-३ का भविन्द्र विक बताउँछन्।
बेनी नगरपालिका, मालिका, मंगला, रघुगंगा, धवलागिरि र अन्नपूर्ण गाउँपालिकाका विभिन्न ठाउँका बासिन्दा डोको, डालो, नाङ्लो (सुप्पो), चाल्लो, टपरी, भकारीलगायत घरायसी प्रयोजनका लागि प्रयोग गरिने सामग्री बिक्री गरी जीविकोपार्जन गर्दै आएका थिए। तर‚ पछिल्लो समय उनीहरू पेशा परिवर्तन गर्न बाध्य भएका छन्।
‘बाँस र निगालो पाउन छाडेपछि आयआर्जनको बाटो बन्द भएको छ‚’ मालिका-२ रुमका तुलबहादुर विकले भने‚ ‘परिवार पाल्न धौधौ भएको छ।’ गाउँघरमा बाँस र निगालाका सामानहरु प्रयोग गर्नेको संख्या पनि घट्दै गएको बेनी-२ बगरफाँटका ७८ वर्षीय टेकबहादुर कार्कीले बताए। ‘गाउँघरमा अन्न राख्नका लागि बजारबाट ड्रम वा प्लाष्टिक र स्टिलका भाँडा ल्याएर प्रयोग गरिन्छ,’ उनले भने‚ ‘अब बाँस, निगालोबाट बुनेका सामग्रीहरु त लोप नै भैसकेका छन्।’
मेहनत र परिश्रमअनुसारको आम्दानी नहुँदा पनि बैकल्पिक पेशा रोज्न थालेका छन्। टाढाबाट कच्चा पदार्थ ल्याएर सामग्री निर्माण गर्दा पनि लागत खर्च अनुसारको आम्दानी नभएको उनीहरुको गुनासो रहेको छ।
बाँस र निगालोको चोयावाट बन्ने एउटा डोको ३०० देखि ५०० रुपैयाँसम्म बिक्री गर्ने हुने गरेको छ। यस्तै‚ डालो, भकारी, मानो र नाङ्लो ८०० देखि तीन हजार रुपैयाँसम्म बिक्री हुने गरेको छ। युवाहरू वैदेशिक रोजगारी र व्यापार व्यावसायमा आकर्षित भएपछि केही पाका पुस्ताका व्यक्ति मात्र यो पेशा गर्दै आएका छन्। निर्माण गरिएका सामग्रीको पनि बजार अभाव छ। नजिकका गाउँवस्तीमा सहजै बिक्री हुँदैन। बिक्री भए पनि उचित मूल्य पाउन नसकेको उनीहरूको भनाइ छ।