
लन्डन । नेपाली मिडिया सोसाइटी यूकेले यसबर्ष तिहारको पावन अवसरमा देउसी भैली खेलेको छ । लन्डनस्थित हेरो र नर्थहोल्ड क्षेत्रमा बुधवार आफ्ना नेपाली शुभचिन्तकहरुको घरघरमा गएर धुमधामका साथ देउसी भैली खेलेको हो ।
बेलायतमा नेपाली संस्कृति र परम्पराको जगेर्ना गर्दै नयाँ पुस्ताहरुमा संस्कृतिको सकरात्मक सन्देश प्रबाह गर्न, समाजमा नेपालीपनको झल्को दिदै नेपाली समुदायहरुमा पारस्पारिक सम्बन्धलाई सबल, प्रगाढ र सुमधुर बनाउदै बेलायतमा रहेको गोर्खाहरुको इतिहासलाई जीवन्त बनाउनका लागि दस्तावेजीकरण र बृत्तचित्र निमार्णको उद्देश्यसहित देउसी भैलो खेलिएको नेपाली मिडिया सोसाइटी युकेका अध्यक्ष किरण राईले बताए ।
घरघरमा गएर नेपाली मिडिया सोसाइटी यूकेका सल्लाहकार कुमार लामाको सांगीतिक समुहको टोलीले नेपाली गीत गाउँदै देउसी भैली खेलेका थिए । घरघरमा गएर नेपालीपनामा देउसी भैली खेल्नुको साथै गीतसंगीत प्रस्तुत गरिएपछि अधिकांश घरका सदस्यहरुले खुशी व्यक्त गर्नुका साथै आगमी तिहारका लागि पनि निरन्तरता र निमन्त्रण गरेका थिए ।
अधिकांश घरहरुमा भौतिक रुपमा देउसी भैली खेल्न सम्भव नभएकाहरुमा धेरै शुभचिन्तकहरुले अनलाइनमार्फत देउसी भैली भेटी प्रदान गरेका थिए । सामाजिक हितको लागि पवित्र उद्देश्यसहित खेलिएको देउसी भैलीबाट संकलित रकमलाई पारदर्शी ढंगले त्यसको सही ढंगले सदुपयोग गरिने नेपाली मिडिया सोसाइटी यूकेका महासचिव तेजकुमार माबो मुस्कानले बताए । अनलाइनमार्फत अझै भेटीहरु आउने क्रम जारी रहेकाले सम्पुर्ण भेटीहरु संकलन भईसकेपछि नामसहित भेटी रकमलाई सार्वजानिक गरिने पनि महासचिव माबो मुस्कानले बताए ।
घरघरमा गएर देउसी भैली खेलेपछि नेपालको गाउँघरकै झल्को आएको भन्दै अधिकांश बृद्धलाई खुशी व्यक्त गरेका थिए । यसरी नै घरघरमा गएर देउसी भैली खेलेर अझ नेपाली संस्कृति, संकारलाई जीवन्त बनाउन पनि अधिकांशले सुझाव दिए ।









