
चितवन, ७ असार ।
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशनका लागि कुल ४ हजार २११ जना प्रतिनिधि निर्धारण गरिएको छ। सात प्रदेश, प्रवास (विदेश), समायोजन र मनोनयनको प्रक्रिया पूरा गरी महाधिवेशनका लागि यी प्रतिनिधिहरू चुनिएका हुन्।
पार्टी सचिवालयका सङ्गठन विभाग सचिव शङ्कर श्रेष्ठका अनुसार महाधिवेशनलाई प्रविधिमैत्री, व्यवस्थित र समावेशी बनाउन विधागत रूपमा प्रतिनिधिहरूको चयन गरिएको छ।
प्रदेश र समूहगत आधारमा महाधिवेशन प्रतिनिधिको विवरण
रास्वपाको महाधिवेशनमा बागमती प्रदेशबाट सबैभन्दा बढी र कर्णाली प्रदेशबाट सबैभन्दा कम प्रतिनिधिको सहभागिता रहनेछ।
१. प्रदेशगत प्रतिनिधि सङ्ख्या:
-
बागमती प्रदेश: ७९४ जना
-
मधेस प्रदेश: ६३० जना
-
लुम्बिनी प्रदेश: ६२१ जना
-
सुदूरपश्चिम प्रदेश: ५०५ जना
-
गण्डकी प्रदेश: ४५४ जना
-
कोशी प्रदेश: ३६४ जना
-
कर्णाली प्रदेश: ३४३ जना
२. प्रवास, मनोनयन र समायोजन समूह:
-
प्रवास सम्पर्क विभाग (३३ देश): १७० जना
-
पार्टी सभापतिद्वारा मनोनित: १३८ जना
-
पार्टी समायोजन (समूहगत रूपमा प्रवेश गरेका): १९२ जना
क-कसले पाए महाधिवेशन प्रतिनिधिको अवसर? (प्रतिनिधि छनोट मापदण्ड)
रास्वपाको विधान र निर्देशिका अनुसार स्थानीय तहदेखि केन्द्रीय संरचनासम्मका विभिन्न पदाधिकारी तथा सदस्यहरूलाई महाधिवेशन प्रतिनिधिको जिम्मेवारी दिइएको छ:
स्थानीय र जिल्ला तहबाट:
-
प्रत्येक गाउँपालिकाबाट १ जना, नगरपालिकाबाट २ जना, उपमहानगरपालिकाबाट ३ जना र महानगरपालिकाबाट ४ जना प्रतिनिधि।
-
सबै पालिका सभापति, क्षेत्रीय सभापति, क्षेत्रीय उपसभापति र जिल्ला सभापतिसहित ५ जना प्रतिनिधि रहने व्यवस्था।
-
प्रदेश सम्पर्क विभागबाट ३–३ जना र जिल्ला सम्पर्क विभागबाट १–१ जना।
केन्द्रीय र प्रादेशिक संरचनाबाट:
-
प्रदेश समितिका सबै सदस्यहरू, प्रदेशस्तरीय विभाग, केन्द्रीय निर्वाचन आयोग, अनुशासन आयोग र लेखा आयोगका पदाधिकारी।
-
सङ्घीय नेतृत्व मञ्चका सबै केन्द्रीय सदस्य र केन्द्रमा रहेका ३८ वटा विभागबाट ११–११ जनाका दरले प्रतिनिधि।
-
केन्द्रीय समितिमा नरहेका रास्वपाका बहालवाला प्रतिनिधिसभा सदस्यहरू।
निर्वाचनका उम्मेदवार र पराजित व्यक्तिहरू:
-
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा रास्वपाका तर्फबाट प्रत्यक्षतर्फ पराजित भएका उम्मेदवारहरू।
-
समानुपातिक बन्द सूचीमा रहेका व्यक्तिहरू तथा पार्टीमा निरन्तर सक्रिय रहेका विशिष्ट व्यक्तिहरू।
चितवनमा महाधिवेशनको रौनक
असार ९ गतेसम्म चल्ने यस महाधिवेशनले रास्वपाको आगामी वैचारिक दिशा, नीति र नेतृत्वको खाका तय गर्नेछ। देशभरी र प्रवासबाट समेत ठुलो सङ्ख्यामा प्रतिनिधिहरू चितवन ओर्लिएकाले भरतपुर र आसपासको क्षेत्रमा राजनीतिक सरगर्मी निकै बढेको छ।








