काठमाडौँ, ३ असार ।
विश्वकप फुटबलमा साविक विजेता अर्जेन्टिनाले धमाकेदार सुरुआत गरेको छ। आधुनिक फुटबलका महान् खेलाडी तथा कप्तान लियोनेल मेसीको सानदार ह्याट्रिकको मद्दतले अर्जेन्टिनाले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा अल्जेरियामाथि एकपक्षीय जित दर्ता गरेको हो।
अमेरिकाको कान्सास सिटी रङ्गशालामा आज (बुधवार) बिहान सम्पन्न समूह ‘जे’ को खेलमा अर्जेन्टिनाले अल्जेरियालाई ३–० गोल अन्तरले पराजित गर्दै स्पष्ट ३ अङ्क जोडेको छ।
मेसीको नाममा विश्वकप २०२६ को पहिलो ह्याट्रिक
३९ वर्षीय भेट्रान फरवार्ड मेसीले यस खेलमार्फत फिफा विश्वकप २०२६ को पहिलो ह्याट्रिक गर्ने कीर्तिमान आफ्नो नाममा लेखाएका छन्। जारी विश्वकपका यसअघिका खेलहरूमा कुनै पनि खेलाडीले ह्याट्रिक गर्न सकेका थिएनन्।
यसरी भयो गोलको वर्षा:
-
पहिलो गोल (१७औँ मिनेट): खेलको सुरुआतदेखि नै अल्जेरियामाथि दबाब बनाएको अर्जेन्टिनाका लागि खेलको १७औँ मिनेटमा मेसीले उत्कृष्ट प्रहार गर्दै टोलीलाई १–० को अग्रता दिलाए।
-
दोस्रो गोल (६०औँ मिनेट): दोस्रो हाफमा अझ आक्रामक रूपमा प्रस्तुत भएका मेसीले खेलको ६०औँ मिनेटमा टोली र व्यक्तिगत रूपमा दोस्रो गोल थपे।
-
ह्याट्रिक पूरा (७६औँ मिनेट): खेलको ७६औँ मिनेटमा अल्जेरियाको डिफेन्सलाई ताेड्दै मेसीले बललाई जालीको दिशा दिए र आफ्नो लोभलाग्दो ह्याट्रिक पूरा गरे।
समूह ‘जे’ को शीर्ष स्थानमा अर्जेन्टिना
यो सानदार जितसँगै समूह ‘जे’ मा रहेको अर्जेन्टिना ३ अङ्क र +३ गोल अन्तरसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। उपाधि रक्षा गर्ने लक्ष्यका साथ मैदान उत्रिएको अर्जेन्टिनाका लागि मेसीको यो लयले समर्थकहरूमा थप उत्साह जगाएको छ।
अल्जेरियाले भने साविक विजेताको बलियो आक्रमण र रक्षापङ्क्ति सामु गोल गर्ने केही सीमित अवसर पाए पनि त्यसलाई सदुपयोग गर्न सकेन र पहिलो खेलमै हार ब्यहोर्न बाध्य भयो।








