
लण्डन । भूतपूर्व गोर्खाहरुको एक संगठन गोर्खा सत्याग्रह संघर्ष समितिले घोषणा गरेको आमरण अनशन केही समयका लागि स्थगन गरेको छ ।
समानताको माग राख्दै १ जुलाईदेखि बेलायतको लण्डनस्थित प्रधानमन्त्री कार्यालय अगाडी गोर्खा सत्याग्रह संघर्ष समितिले घोषणा गरेको आमरण अनशन स्थगन गरेको हो । नेपाल सरकारबाट आवश्यक पहल गर्ने आश्वासन पाएपछि संघर्ष समितिले अनसन आउंदो जुलाइ २१ सम्म स्थगन गरेको छ ।
केही समय पर्ख र हेरमा भन्ने रणनीतिका साथ घोषित कार्यक्रम सारिएको तर पुरै स्थगन भने नभएको गोर्खा सत्याग्रह संघर्ष समितिका केन्द्रीय सदस्य ज्ञानबहादुर राई बताए । कोभिड महारमारी र नेपाल सरकारको आश्वासनपछि हामीले केही समयका लागि अनशन कार्यक्रम सारिएको पनि केन्द्रीय सदस्य राईले बताए ।
संघर्ष समितिले जुलाइ २१ सम्म बेलायत सरकारबाट कुनै पहल नभए प्रधानमन्त्री कार्यालय अगाडि अनशन कार्यक्रम हुने जनाएको छ ।
सत्याग्रहले यसअघि १५ दिने भोक हडताल गर्ने तय गरेको थियो । गोर्खा अभियन्ताहरु ज्ञानराज राई, धन गुरुंग र पुष्पा राणा घले आमरण अनशनमा बस्ने भएका थिए ।







