मलाई माया गर्नेहरू त होलान् नि ?

काठमाडौं । मोडलिङमा भरखरै प्रवेश गरेकी अस्मिता तामाङ कक्षा ११ मा अध्ययनरत छिन् । काठमाडौंको कलंकी निवासी अस्मिताले फिल्म वा म्युजिक भिडियो खेलेकी छैनन् । तर, उनले र्‍याम्प र स्टेज कार्यक्रमहरूमा आफ्नो जादु देखाउन शुरु गरिसकेकी छिन् ।

स्टेज कार्यक्रम र र्‍याम्पहरूमा अस्मिताको कला देख्नेहरूले प्रशंसा गर्नै बध्य हुन्छन् । टिनेजर अस्मितालाई सानैदेखि कलाक्षेत्रमा लाग्ने रहर थियो । त्यो रहर पूरा गर्न उनले मोडलिङबाट शुरुवात गरिन् । उनलाई मोडलिङमा रमाउन मन पर्छ ।

नाच्न पनि अस्मितालाई मन पर्छ । भन्छिन्, ‘नाच्न राम्रो जानेकी छु ।’ र्‍याम्प र स्टेज कार्यक्रमहरूमा दमदार प्रस्तुति दिँदै आएकी अस्मिताले मोडलिङमा लय छोप्न थालिसकेकी छिन् । उनलाई फिल्म र म्युजिक भिडियोहरूमा अफर आउन थालिसकेका छन् । अस्मिताले ती प्रस्तावहरूलाई अहिले स्वीकार गरेकी छैनन् ।

‘परीक्षा चलिरहेकाले फिल्म र म्युजिक भिडियोमा आएका अफरहरू स्वीकार गरेको छैन’, अस्मिताले भनिन्, ‘परीक्षा सकिनेवित्तिकै फिल्म र म्युजिक भिडियो खेल्ने योजना बनाएकी छु ।’ हतारमा काम गर्दा बिग्रिने उनको भनाइ छ । कला र पढाइलाई सँगसँगै अगाडि बढाउँदा समस्या आउने उनले बताइन् । ‘पढाइलाई पहिलो स्थानमा राखेकी छु’, उनले भनिन्, ‘त्यसपछि अभिनयलाई अगाडि बढाउँछु ।’

टेलिफिल्म र सर्ट मूभिमा अस्मिताले अभिनय गरिसकेकी छिन् । प्रारम्भमा खेलिएका ती सर्ट मूभि र टेलिफिल्मबाट अस्मिता सन्तुष्ट छैनन् । उनलाई ठूला ब्यानरका फिल्म खेल्ने इच्छा छ । त्यो इच्छा छिटै पूरा हुने अपेक्षा अस्मिताले लिएकी छिन् ।

आफूलाई मन पराउनेहरूको कुनै कमी नरहेको अस्मिताले बताइन् । ‘मलाई धेरैले मन पराउनु भएको होला । कुन रुपमा उहाँहरूले मन पराउनु हुन्छ थाहा छैन’, अस्मिताले भनिन्, ‘मैले सबैको मायालाई शुभेच्छुकको रुपमा हेर्ने गरेकी छु ।’ तपाई आफूले माया गर्ने युवक को हो भनेर सोधिएको प्रश्नको जवाफमा अस्मिताले भनिन्, ‘त्यस्तो कोही पनि छैन । प्रस्ताव आउने गरेका छन् । स्वीकार गरेको छैन ।’

मायाप्रेमका कुरा अहिले गर्नेभन्दा पनि आफ्नो करियरलाई ध्यान दिनुपर्ने उनको भनाइ छ । मायामा भुलेर आफ्नो भविष्यलाई अहिले नै ब्रेक लगाउने पक्षमा आफू नरहेको अस्मिताले सुनाइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार