दार्जिलिङमा गोर्खाल्याण्ड मुद्दा ओझेलमा

भारतको दार्जिलिङमा दशकौंदेखि चुनावी एजेण्डा बन्ने गरेको छुट्टै गोर्खाल्याण्ड राज्यको मुद्दा यसपटक भने छायामा परेको छ । गोर्खाल्याण्डको सट्टामा यसपटक उम्मेदवारहरुले विकासका एजेण्डालाई प्राथमिकतामा राखेका छन् ।

आगामी बिहिबार हुने दोश्रो चरणको मतदानका लागि भारतीय जनता पार्टी बीजेपीले राजु बिष्ट र ममता बनर्जीको तृणमुल कंग्रेसले अमरसिंह राईलाई उम्मेदवार बनाएको छ । यसअघि गोर्खाल्याण्डको मुद्दालाई उठाऊँदै आएको निकै शक्तिशाली मानिने गोरखा जनमुत्ति मोर्चा जीजेएम दुई गुटमा बाँडिएपछि त्यहाँको राजनीतिक समिकरण बद्लिएको छ । जसले गर्दा पनि गोर्खाल्याण्डको एजेण्डा ओझेलमा परेको आंकलन गरिएको छ । जीजेएमका बिमल गुरुङको गुटले बीजेपीलाई समर्थन गरेको छ भने विनय तामाङ खेमाको गुटले ममता बनर्जीको तृणमूल कांग्रेसलाई समर्थन गरेको छ ।

यस्तै गोरखा नेशनल लिबरेशन फ्रण्टले बीजेपीलाई समर्थन गरेको छ । अस्सीको दशकदेखि दार्जिलिङमा स्वतन्त्र गोरखाल्याण्डको मुद्दा हावी हुँदै आएको थियो । त्यसताका सुभाष घिसिङ नेतृत्वको गोरखा नेशनल लिबरेशन फ्रण्टले उठाउँदै आएको गोरखा ल्याण्डको मुद्दा पछिल्लो समय गुरुङ नेतृत्वको जनमुक्ति मोर्चाले उठाउँदै आएको छ । तर मोर्चा दुई धारमा विभक्त भएपछि भने गोरखाल्याण्डको मुद्दा ओझेलमा परेको विश्लेषण गरिएको छ । गुरुङ सन् २०१७ मा स्वतन्त्र गोरखाल्याण्डको मागसहित गरिएको हिंसात्मक आन्दोलन पछि नै भूमिगत रहँदै आएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार