पौवादुङ्मा गाउँपालिका तालाबन्दी प्रकरणः ‘गर्लफ्रेन्ड’ लाई जागिर खुवाउन गाउँपालिकामा ताला

  सिलिचुङ समाचारदाता

भोजपुर । पौवादुङमा गाउँपालिका भोजपुरको कार्यालयमा तालाबन्दी प्रक्ररणमा नयाँ तथ्य फेला परेको छ । आन्दोलनको नेतृत्व गरिरहेको संघर्ष समितिका संयोजक मनोज कार्कीले कर्मचारी मागका लागि लिईएको परिक्षामा आफ्नो निकट मान्छेलाई परिक्षामा सामेल गराई नतिजा प्रकाशनमा नाम प्रकाशित गरिदिन प्रपञ्च रचेको खुलासा हुन आएको छ ।
कर्मचारी पदपूर्तिका लागि लोकसेवा आयोगबाट नै कर्मचारी पठाउने परिपत्र आएपछि गाउँपालिकाले नतिजा प्रकाशन नगरेको बताएको छ । एक वडाध्यक्ष (नाम नखुलाउने सर्तमा) ले परिक्षाको नतिजा प्रकाशनमा संयोजक कार्कीले आफ्नो निकट एकजनालाई जागिर खुवाउने आशयले तालाबन्दी गरेको बताए । ‘कार्कीले आफ्नो निजी स्वार्थका लागि गाउँपालिकामा जागिर खुवाउन तालाबन्दीको प्रपञ्च रचेका हुन् । उनको हिमचिम रहेको मान्छेको नाम निकाल्नलाई पटकपटक दबाब दिँदै आएका थिए । तर नतिजा रद्द हुने छाँटकाँट आएपछि उनले यो नौटंकी गरेका हुन् ।’ उनले थपे, ‘सो माग पुरा गरिदिन उनले विभिन्न तहतप्कालाई फोन सम्पर्कमार्फत दबाब दिएको खुल्न आएको छ ।’
आन्दोलनमा उत्रिनुमा उनको अर्को पनि व्यक्तिगत स्वार्थ देखिएको पनि खुलेको छ । कोटगढी कालिका मन्दिर निर्माण उपभोक्ता समितिका अध्यक्ष समेत रहेका संयोजक कार्कीले ५० लाख रकम विनियोजन गर्न दबाब दिएका थिए । तर गाउँपलिकाले १५ लाख मात्र रकम विनियोजन गरेपछि गाउँपालिका अध्यक्षसंग उनको सम्बन्ध चिसिएको बुझिएको छ । मन्दिरका लागि गाउँपालिकाले भने जति रकम विनियोजन नगरेकोले सिंगो गाउँपालिका विरुद्धमै लागेको एक वडाध्यक्षले बताए । उनले भने, ‘एउटै मान्छेको स्वार्थका लागि अनावश्यक रकम पटकपटक विनियोजन गर्न दवाव आएका कारण गाउँपालिकाले उपर्युक्त रकम विनियोजन गर्दा पनि कार्कीले असन्तुष्ट पोख्दै आएका थिए ।’
कर्मचारी माग गरिएको परिक्षाको नतिजा प्रकाशन र कोरियन भाषा शिक्षण कार्यक्रममा छुट्याईएको बजेटको विषयलाई लिएर नेपाली कांग्रेस पौवादुङमाले गरेको तालाबन्दीका विषयमा सरोकारवालाको चासोको विषय बन्दै गएको छ ।
गाउँपालिकामा तत्कालीन एमाले र माओवादीविचमा फाटो ल्याउदै कार्कीले गाउँपलिकामा चलखेल गर्ने प्रयास गर्दै आएको पाइएको छ । यता संयोजक कार्कीको नेतृत्वमा गाउँपालिकाको कर्मचारीले चलाउँदै आएको बाइक नियन्त्रणमा लिएर तिवारीभञ्जाङ्गको एउटा घरमा राखेको विषयलाई गाउँपालिकाको अध्यक्षको नाम जोडिएको गाउँपालिका स्रोतले बताएको छ । उनै कार्कीले भने पटक पटक गाउँपालिकाको बाइक मागेर चढ्ने गरेका छन । आफै गाउँपालिकाको बाइक चढ्ने अनि गाउँपालिकाको बाइक चाहि कब्जा गर्दै हिड्ने एक स्थानीय युवाले बताए । कार्की आफैले गाउँपालिकाको १५० सिसिको एक्स आर बाइकसमेत चढ्ने गरेको र सो बाईकमा आफन्त, नजिकका मान्छेलाई व्यक्तिगत स्वार्थका लागि ल्याउनेपु¥याउने गरेको तिवारीभञ्ज्याङका एक व्यवसायीले बताए । उनले भने, ‘कार्की आँफैले धेरैपटक गाउँपालिकाको बाईकमा आउजाउ गर्ने गरेको देखेका छौँ । यो हेर्दा उनी आँफैले सरकारी साधनको दुरुपयोग गरेका छन् ।’
कार्कीले कोरियन भाषा प्रशिक्षणको विरोध गरेपछि गाउँपालिकाका युवाहरु पनि कार्कीको विरुद्धमा लागेका छन् । कोरियन भाषा प्रशिक्षण कार्यक्रममा सहभागी हुनका लागि आवेदन दिएका पौवादुङमा गाउँपालिका ६, ठुलोदुङ्माका एक युवाले भने ‘लाखौ तिरेर शहरमा पढ्न जान नसक्ने हामि जस्ता युवाको चाहानामा आन्दोलनको नाममा तुसारापात गर्न खोजिएको छ । उनले आक्रोश पोख्दै भने, ‘मनोज कार्की आफै चाहि पत्नीलाई पोर्चुगल पठाएर आको रेमिटान्सले जिवन चलाउन पाउने, हामिलाई चाहि कोरिया जाने अवसरको ढोका बन्द गरिदिने ? गाउँपालिकामा आएको सुविधाको उपभोग गर्न नपाउनु कि अझै मंहगो खर्चेर शहर बस्नु जानु?’
आन्दोलन गरिरहेका मनोज कार्कीले विश्वस्त स्रोत प्रयोग गरी गाउँपालिकाले आफ्नो योजनामा पैसा बढाए र आफुले भनेको कर्मचारीको नाम निकाले आन्दोलन तत्काल फिर्ता लिने सन्देश पठाएको पाइएको छ । उनले आफ्नो माग पुरा भए १ मिनेटमा आन्दोलन फिर्ता लिने बताएका हुन । गाउँपालिकाले भने कसैको दवाव र प्रभावमा गाउँपालिकाको निति र कार्यक्रम संशोधन नहुने बताएको छ । गाउँपालिकाले तलबाट माग भइ आएको कार्यक्रमको आधारमा बजेट विनियोजन भएको कारण आन्दोलनको नाममा रद्ध नहुने बताएको छ ।
यता नेपाली कांग्रेस भोजपुरका एक नेताले भने कार्कीले आफ्नो व्यक्तिगत स्वार्थका लागि तालाबन्दी गरेको बताए । उनले भने, ‘व्यक्तिगत स्वार्थका लागि कार्कीले पार्टीको नाम मुछेका छन् । पार्टीको कुनै आधिकारीक निर्णय विना नै उनले गाउँपालिकामा तालाबन्दी गरेका हुन् ।’ संयोजक कार्की स्थानीय तहको निर्वाचनमा पौवादुङ्मा गाउँपालिकाको उपाध्यक्ष पदमा उम्मेदवार थिए ।
यता कार्कीले गाउँपालिकाले पत्रकार सम्मेलनमार्फत भ्रामक प्रचारमा लागेको र जनप्रतिनिधी नभएको मौकामा तालाबन्दी गरी गैरकानूनी, गैरराजनैतिक, गैरप्रशासनिक, गैरनैतिक कार्य भएको धारणाप्रति गम्भीर ध्यानाकार्षण भएको बताए । उनले पालिकाले नियामविपरीत दक्ष युवाहरुलाई अरुको भाषा सिकाई विदेश पठाउन प्रोत्साहन गरेको आरोप लगाए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार