
भोजपुर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सरकारको अवधिभर जनताले चाहे जस्तै विकास गरेरै छाड्ने बताएका छन् । शनिबार नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) नगर कमिटी भोजपुरको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा बोल्दै राईले ३ वर्षको अवधिभित्रै सबै किसीमका विकास गरिने प्रतिबद्धता जनाएका हुन् ।
१ प्रदेश सबै चिजले भरिपूर्ण रहेको बताउदै राईले प्राकृतिक स्रोत र साधनलाई अधिकतम प्रयोगमा ल्याएर विकासको चरणमा अगाडी बढाउने बताए । मुख्यमन्त्री राईले भने, ‘यो प्रदेशलाई समृद्ध बनाउने गरि मैले काम अगाडी बढाएको छु, प्रदेशसंगै भोजपुर पनि समृद्धिको बाटोमा अगाडी बढ्छ ।’
विकासका लागि सबै जिम्मेवारी आमनागरिकले समयको महत्वलाई बुझेर काम गर्नु पर्ने मुख्यमन्त्री राईको भनाई थियो । ‘तपाई हामी यो देशका सचेत नागरिक हौ, हामीले प्रत्येक सेकेन्ड समयको महत्वलाई बुझेर जिम्मेवारी बहन गर्न आवश्यक छ ।’ उनले थपे । प्रदेश सरकारले विकासलाई प्राथमिकतामा राखेर प्रशस्त बजेट विनियोजन गरेपनि योजनाहरुमा सोचे अनुरुप खर्च नभएको उनले चिन्ता व्यक्त गरे । साथै उनले आफ्नो क्षेत्रमा भइरहेका कामको जनता आँफैले अग्रसर भएर निगरानी गर्नुपर्ने समेत बताएका थिए ।
‘विकास गर्न प्रदेश सरकारले करोडौँ बजेट छुट्यायो र काम पनि भईरहेको छ । तर जनताबाट पनि भईरहेको विकास निर्माणका काममा निगरानी र खबरदारी हुनुप¥र्याे ।’ मुख्यमन्त्री राईले भने । प्रदेशबाट सञ्चालन हुने विकास निर्माणका कामलाई प्रभावकारी, गुणस्तरीय र जनमुखी तवरले सम्पन्न गराउन अनुगमन समिति गठन गर्ने तयारी भईरहेको उनले बताए ।
मुख्यमन्त्री राईले १ सय पर्यटकीय गन्तव्यमा सुचीकृत भएको मुन्दुम ट्रेलका लागि दुई करोड विनियोजन गरेको समेत जानकारी दिए । यसबाहेक जिल्लाका ठुला सडक योजना र पक्की पुल निर्माणका योजनाको काम आफ्नो कार्यकालभित्र सम्पन्न गर्ने बताए ।