भोजपुर। चिकित्सक अभावमा पूर्वी पहाडी जिल्ला भोजपुरको अस्पतालमा प्रसूति सेवा बन्द भएको छ। अस्पतालमा प्रसूति गराउँने चिकित्सक सरुवा भएपछि ३ महीनादेखि सेवा बन्द भएको हो।
प्रसूति सेवा बन्द भएसँगै गर्भवती महिलाहरु नियमित स्वास्थ्य जाँच तथा सुत्केरी गराउन धरान, विराटनगर र काठमाडौं धाउनुपर्ने वाध्यता भएको छ।
कच्ची सडक र हवाई उडान नियमित नहुँदा गर्भवती महिलाले सास्ती खेप्नुपरिरहेको छ।
सेवा बन्द हुँदा रातारात गर्भवती महिलाहरुलाई कष्टकर यात्रा गरेरै शहर लैजानुपरेको र खर्चिलो भएको नागरिक समाजका संयोजक परशुराम तिवारी बताउँछन्।
प्रसूतितर्फ स्थायी र करार गरी ८ जना चिकित्सक कार्यरत थिए । कर्मचारी समायोजनपछि सरुवा भएर गएकाले चिकित्सक अभाव भएको अस्पतालले जनाएको छ।
प्रदेश तथा स्थानीय सरकारलाई प्रसूतिसेवा सुचारुको लागि अनुरोध गरेको अस्पतालकी निमित्त प्रमुख डा.पवित्रा श्रेष्ठले बताएकी छन्।
भोजपुर अस्पतालमा वार्षिक ३ हजारको हाराहारीमा महिलाहरु सुत्केरी गर्न आउने गरेको अस्पतालले जनाएको छ।
अस्पतालले हप्तामा तीनदेखि सात जनासम्म गर्भवती महिलाहरुलाई सुत्केरी गराउन बाहिर रेफर गरिरहेको छ।