आफ्नाबाटै बलात्कार, बलात्कारमा अधिकांश बालबालिका नै शिकार

  प्रदीपचन्द्र राई

घटना १
षडानन्द नगरपालिका ८, तुङ्गेछाका रञ्जित लिम्बुले नातामा बहिनी पर्ने १३ वर्षकी नाबालिकालाई करणी गरे । आफ्नै काकाकी छोरीलाई कोहि नभएको मौकामा फकाईफुलाई गरी करणी गरेको भेटिएपछि प्रहरीले उनलाई गत जेठ २१ मा गिरफ्तार ग¥यो । हाडनाता करणीको अभियोग लागेका उनलाई प्रहरीले पुर्पक्षमा राख्यो ।
घटना २
भोजपुर नगरपालिका ९, पानीट्याङ्कीमा नातामा काकापर्नेबाट बलात्कृत भईन् । स्थानीय सुमन सुन्दासले १५ बर्षिया ती नाबालिकालाई करणी गरेको खुलेपछि प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धानपश्चात अदालतमा बुझायो । पिडित नाबालिकाको थप संरक्षण तथा उपचारका लागि दिर्घकालिन संरक्षण गृह विराटनगर पठाईयो ।
घटना ३
रामप्रसाद राई गाउँपालिका ३, भुल्केमा एक नाबालिका आफ्नै काकाबाट बलात्कारको शिकार भईन् । घरमा कोहि नभएको मौकामा स्थानीय प्रेम दाहालले १७ वर्षिया भतिजीलाई करणी गरेको खुलेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिई पुर्पक्षका लागि राख्यो ।
घटना ४
पौवादुङमा गाउँपालिका ५, सानोदुम्माकी १५ वर्षिया एक नाबालिका पनि आफ्नै काकाबाट बलात्कृत भईन् । स्थानीय चितामान राईले सुस्त मनस्थितीकी नाबालिका भतिजीलाई फकाईफुलाई करणी गरेको अनुसन्धानपश्चात खुलेपछि उनलाई पिडित परिवारले प्रहरीमा बुझायो । पिडित नाबालिकालाई सुस्त मनस्थिती सरोकार मञ्च झापा पठाईएको छ ।
घटना ५
टेम्केमैयुङ गाउँपालिका ९, लेखर्कमा ससुराले आफ्नै बुहारीलाई जबरजस्ती करणी गरेर गर्भवती बनाएपछि गत असोज ३ गते प्रहरीले उनलाई नियन्त्रणमा लियो । डर, धम्की दिँदै घरमा कोहि नभएको मौकामा स्थानीय जय बहादुर राईले आफ्नै २० वर्षिया बुहारीलाई पटकपटक करणी गरेको प्रहरीको अनुसन्धानमा खुल्यो । अभियुक्तलाई मुद्दा दर्ता गरी जेल चलान पनि गरिएको छ । पिडित ती महिलालाई संरक्षण गृहमा राखिएको छ ।

 

पछिल्ला केहि वर्षमा भोजपुरमा पनि बालिका बलात्कार घटना मौलाएका छन् । गत जेष्ठ मशान्त यता मात्रै १५ वटा जबरजस्ती करणीको प्रहरीमा जाहेरी परेको छ । तथ्याङ्क अनुसार ०७६/७७ मा २० बालिका बलात्कारको शिकार भए । जसमध्ये अधिकांश घटनामा नाता पर्ने वा घरसमाजकै चिनजानका व्यक्तिबाट बलात्कारमा परेका छन् । कानुनी अज्ञानताका कारण ग्रामीणस्तरमा बालिका तथा महिलाहरु डर त्रास र धम्कीका बिच आफन्तबाटै बलात्कार हुने गरेको प्रहरी अनुसन्धानले देखाएको छ ।
घर र समाजभित्रै बालबालिका र महिलाको सुरक्षामा गम्भिर समस्या र चुनौतीको रुपमा खडा भएको प्रहरीको बुझाई छ । जिल्ला प्रहरी कार्यालय भोजपुरका डिएसपी कृष्ण कुमार चन्दले भने, ‘घर र समाज बाहिरबाट हुने असुरक्षाको त कुनै विकल्प होला, तर घर र समाज वरपर भने बालिका र महिलाहरुको असुरक्षा गम्भिर समस्या र चुनौतीको रुपमा देखिएको छ’

कानुनी अज्ञानताका कारण ग्रामीणस्तरमा बालिका तथा महिलाहरु डर त्रास र धम्कीका बिच आफन्तबाटै बलात्कार हुने गरेको प्रहरी अनुसन्धान

प्रहरी अनुसन्धानका क्रममा एकातिर अशिक्षा अर्कोतिर बढ्दो सामाजिक सञ्जाल र भर्चुअल लाईफको लगावका कारण परिवारकै सदस्यविच नै हेलमेल कम हुँदा पछिल्लो पुस्ताको ध्यान यस्ता घटनातिर मोडिन थालेको डिएसपी चन्दले बताए । बलात्कार बढ्नुको मुख्य कारण नै व्यक्तिको हुर्काई, उसको संगत र सामाजिक परिवेश रहेको उनले बताए । हरेक बालबालिकाको हातमा प्रविधि पुगेपछि विभिन्न साईट हेरेर अनावश्यक उत्सुकता बढ्नाले बलात्कारका घटना बढ्न थालेको प्रहरीको अनुसन्धानमा उल्लेख छ ।
बाबुबाट छोरी, दाजुबाट बहिनी, मामाबाट भान्जी, ससुराबाट बुहारी नै असुरक्षित भएपछि यसको समाधान दिनानुदिन जटिल बन्दै गएको छ । जबरजस्ती करणी, घरेलु हिंसाबाट पिडित बालबालिका र महिलालाई ३५ दिनको अल्पकालिन संरक्षणका लागि विकास र सचेतनाका लागि सामाजिक संस्था (सोडा) भोजपुरबाट सञ्चालित सेफ हाउसमा राखिने व्यवस्था गरिएको छ । पारिवारी असक्षमता, गरिबी, व्यक्तिगत प्रलोभन र सुचना प्रविधिको गलत प्रयोगबाट करणीका घटनामा बृछि भएको सेफ हाउसका प्रमुख नविन प्रधानले बताए । सजिलै फकाईफुलाई गर्न सकिने र आफ्नो ईच्छा पूरा भएपछि हत्या गर्दा समेत उनीहरुले प्रतिकार गर्न नसक्ने भएकोले बालबालिका, सुस्त मनस्थिती र अशिक्षित महिलाहरु आपराधिक निशाना बन्ने गरेको उनले बताए ।
महिला तथा बालबालिका अधिकारकर्मीहरु बालबालिका असुरक्षित हुनुमा स्वयम् अभिभावक नै सचेत हुनु अतिआवश्यक ठान्दछन् । चिनजानकै व्यक्ति आफ्ना बालबच्चासँग अनावश्यक नजिक हुने, घुमाउने बहानामा कतै लैजानै गर्दैछ भने पनि चनाखो हुनुपर्ने महिला अधिकारकर्मी लिलामाया तामाङले सुनाईन् । ‘जुनसुकै बेलापनि यस्त घटना हुनसक्छन्, अझ बालबालिका खेल्दै कता जान्छन् त्यस्तो बेला समेत स्वयम् अभिभावक नै चनाखो बन्नुपर्दछ’ उनले भनिन्, ‘हाम्रो समाजमा व्याप्त बन्दै गएको र गम्भीर समस्याको रुपमा फैलिएको महिला र बालबालिकामाथि हुने हिंसा निर्मूल पार्न प्रत्येक घर र अभिभावक सचेत हुन जरूरी छ’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार