
भोजपुर । सडकसञ्जाल जोडिएको दशक वितेपनि उत्तरी ग्रामीण भेगका अधिकांश स्थानमा अझै पनि पुल छैन । फड्के पुलको सहायताले सर्वसाधरण जोखिमपूर्ण यात्रा गर्छन् । काठ, मुडा, बाँसबाट बनाईएका फड्के यहाँको खोलानाला तर्ने माध्यम हो । हिउँदयाममा भन्दा वर्षातको भेलबाढीले पुराना कमजोर फड्के पुल नै बगाउँछ । मानिसहरु ज्यानै जोखिम मोलेर खोला वारपार गर्छन् । गाईबस्तु, पैदलयात्रु र साना सवारीसाधन तार्न समस्या हुने गरेको छ । ती खोलाखोल्सीमा अझैपनि पक्कि पुल बन्न सकेका छैनन् ।
उत्तरी दोभाने, फेदी, खाटम्मा, कुदाककाउले, तिम्मा लगायत जिल्ला दुर्गम ग्रामीण भेगका खोलाखोल्सीमा फड्केकै प्रयोग भेटिन्छ
मक्किएर पुरानो भईसकेको कतिपय फड्के पुल भाँचिएर मानिसहरु वर्षेनी अकालमै ज्यान गुमाउने गरेका छन् । जिल्लाको उत्तरी दोभाने, फेदी, खाटम्मा, कुदाककाउले, तिम्मा लगायत जिल्ला दुर्गम ग्रामीण भेगका खोलाखोल्सीमा फड्केकै प्रयोग भेटिन्छ । गाउँको भरपर्दो माध्यम भएपनि फड्के पुलबाट यात्रा गर्दा जोखिम धेरै हुने गरेको साल्पासिलिछो गाउँपालिका दोभाने फेदिका दिक्पाल राईले बताए । ‘भरासिलो पक्रिने कतै हुन्न, हिँड्दाहिँड्दै खुट्टा चिप्लिन्छ, बानी नहुनेलाई त शरिर असन्तुलन भएर खोलामा खस्ने गर्छन्, ज्यान पनि जान्छ’ उनले भने ।
स्थायी किसीमको फलामे झोलुङगे र पिलर मोटरेबल पुल बनाउनका लागि गाउँपालिकामा कुरा राखेपनि योजनामा नसमेटको स्थानीयबासी गुनासो गर्छन् । पुल बनाउन पहल गर्दा पनि वेवास्ता गरिएको अर्का स्थानीय प्रेम राईले बताए । फड्केमा हिँड्न जोखिम हुने थाहा हुँदाहँुदै पनि अन्य विकल्प नभएपछि फड्केकै सहायता लिनुपरेको उनले बाध्यता सुनाए ।
फड्के पुलमा खोला पार गर्न विशेषगरि केटाकेटी, बृद्धबृद्धा, असक्त, अपाङ्गलाई बढि जोखिम हुने गर्छ । सामान्य अवस्थामा पनि सन्तुलनमा हिँड्न नसक्ने उनीहरुको जोखिम यात्रा कष्टकर हुने गर्छ । विद्यालय आउनेजाने स्कुले केटाकेटी फड्केबाट खसेर ज्यानै गुमाउने डर हुने दोभाने फेदीका शन्तबहादुर राई गुनासो सुनाउँछन् । उनका अनुसार सबैभन्दा बढि वर्षातमा आफ्ना बालबालिकालाई आफैले फड्के पुल तार्ने र विद्यालय पठाउने गरेका छन् ।
बाह्रैमास फड्केको भर पर्दा छिटै पुरानो र कमजोर हुने भएकाले जोखिम बढ्ने गर्छ । उत्तरी साल्पासिलिछो गाउँपालिकाका दर्जनौ खोलामा पक्की तथा झोलुङ्गे पुल नहुँदा सर्वसाधरणलाई वर्षौदेखि जोखिम झेल्दै कष्टकर यात्रा गर्नुपर्ने बाध्यता छ । सडकसञ्जालहरु जोडिए पनि पुल निर्माणमा सरोकारवालाको ध्यान नपुग्दा सास्ती हुने गरेको स्थानीयबासिन्दा गुनासो गर्छन् । भोजपुर सदरमुकाम, खाँदबारीबाट एडमण्ड हिलारी पदमार्ग हुँदै दिनहुँ सयौँको संख्यामा हिँड्ने पैदलयात्रुहरु बढि फड्केको कष्टकर यात्रा गरेर सोलुखुम्बु जाने गर्छन् ।
यता गाउँपालिकाले बजेट अभावमा पुलको योजना बनाउन नसकेको बताएको छ । संघ र प्रदेश सरकारले पनि पुल निर्माणमा पर्याप्त बजेट विनियोजन नगर्दा समस्या भएको गाउँपालिका अध्यक्ष महेश राईले बताए । ‘भौगोलिक विकट भएकाले पनि विकास निर्माणमा पिछडिएको छ, थोरै बजेटका कारण पुल बनाउन सकिएको छैन, अरु योजना मिलाउँदै बजेट सिद्दिन्छ, प्रदेश र संघले पनि हेरेको भए हामी काम अघि बढाउँथ्यौ’ अध्यक्ष राईले भने ।
केहि महिनाअघि मात्र षडानन्द नगरपालिका, साल्पासिलिछो गाउँपालिकाका ७० हजार बढि सर्वसाधारणको सहजताका लागि खाँदबारी पुग्न अरुण नदिमा ‘फेरी’ सञ्चालनमा ल्याएको छ । षडानन्द नगरपालिकाको एक करोड ३५ लाख, प्रदेश र केन्द्र सरकारको ६८ लाख गरि दुई करोड ३ लाख बजेटमा फेरी सञ्चालन गरिएको थियो । पुल अभावमा सास्ती खेप्दै, डोको र खच्चरमा भारी कसेर खाँदबारी तर्नुपर्ने समस्याबाट फेरीले राहत मिलेको स्थानीय माधव कटुवालले सुनाए ।







