पौडेल समूहको प्रश्न–देउवा किन बोल्दैनन् ?

काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल समूहका नेताहरूको बैठक सोमबार महामन्त्री शशांक कोइराला निवास महाराजञ्जमा बस्यो ।

भेलामा अन्य थुपै्र विषयका बहससँगै सभापतिको भूमिकाका विषयमा समेत छलफल भएको थियो ।

“प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेपछि त्यहीदिन पार्टीको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले गरेको निर्णय मजबुद र प्रष्ट पनि छ,” पौडेल पक्षका एक केन्द्रीय सदस्यले भने, “तर, हाम्रै सभापतिले त्यसलाई बोक्न सक्नुभएन । उहाँले पहिलो विरोधसभामै चुनावमा जाने कुरा गरिदिनुभयो र ओलीलाई सहयोग पुग्नेगरी बोलिदिनुभयो ।”

उनले त्यसपछिका सभापतिका अभिव्यक्ति चुनाव केन्द्रित नै देखिएको भन्दै त्यस्तो अभिव्यक्तिले कांग्रेसमा संविधानको रक्षाभन्दा निर्वाचनप्रतिको आशक्ति बढी देखिएको बताए ।

“हामीलाई अहिले आफ्नै सभापतिसँग शंका लाग्न थालेको छ, उहाँ र प्रधानमन्त्री ओलीबीचको सहमति के हो ?,” ती केन्द्रीय सदस्यले थप प्रश्न गरे, “प्रतिनिधिसभा विघटन गरेका ओली निर्वाचनमा विजयी नेताकै शैलीमा बोल्दै हिँड्दा सभापति देउवा किन बोल्न सक्नुहुन्न ?”

 

उनले संसद विघटनविरुद्ध सर्वोच्चमा रिट परिसकेपछि मुद्दाको एउटा पक्षका नाताले तटस्थ बस्नुपर्ने ओली प्रभावित पार्न कस्सिएर लागे पनि सभापति देउवा भने मौन बस्नु रहस्यकै विषय भएको बताए ।

केन्द्रीय समितिलाई दुईवटा एजेन्डा

छलफलमा धेरै विषय उठे पनि पौडेल समूहले केन्द्रीय समिति बैठकमा भने दुईवटा विषय मात्र लैजाने तयारी गरेको छ ।

 

बैठकमा सहभागी पौडेल पक्षका केन्द्रीय सदस्य नवीन्द्रराज जोशीका अनुसार महाधिवेशन र प्रतिनिधिसभा विघटनका विषयमा थप विरोध कार्यक्रमका विषय मात्र केन्द्रीय समिति बैठकमा राखिनेछन् ।

 

“प्रतिनिधिसभा विघटनपछिको अन्योलपूर्ण अवस्थामा हामीले देशभर विरोध प्रदर्शन गरे पनि राष्ट्रिय स्तरमै एउटा सशक्त विरोध प्रदर्शन आवश्यक देखिएको छ, त्यसैले यथाशीघ्र राष्ट्रियस्तरको विरोधका लागि प्रस्ताव गरिने छ,” जोशीले भने, “अर्को विषय कांग्रेसको जीवनका लागि एकदमै महत्वपूर्ण महाधिवेशन हो, माघ मसान्तभित्र क्रियाशील टुंग्याउन र थप कार्यातालिकासहित अघि बढ्न पनि केन्द्रीय समितिमा छलफल हुने छ ।”

 

वरिष्ठ नेता रामचन्द्र पौडेलले भने अनौपचारिक छलफल भएको भन्दै सबै विषय केन्द्रीय समिति बैठकमै राख्ने बताए ।

“आज हामी अनौपचारिक छलफलका लागि बसेका हौँ, आज कुनै विषयको निर्णय हामीले गरेका छैनौँ, सबै विषय केन्द्रीय समिति बैठकबाट नै हुने छ,” पौडेलले भने ।

कांग्रेसको अन्योल यात्रा

प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको कदमविरुद्ध त्यही दिन सबैभन्दा कडा निर्णय गरेको प्रतिपक्षी कांग्रेस जनतामा जाँदा भने त्यस्तो सशक्त बन्न सकेन ।  देशभर निर्वाचन क्षेत्र र स्थानीय तहसहित वडासम्म विरोध प्रदर्शन गरेको कांग्रेसका नेता विशेषलेमात्र प्रधानमन्त्रीको कदमविरुद्ध आपत्ति जनाए ।

सुरुवाति चरणमै सभापति देउवाले ‘संसद विघटनलाई हामीले असंवैधानिक भनेका छौँ, तर हामी अदालतको निर्णय मान्छौँ, भनेका थिए ।

 

उनले १३ पुसमा भक्तपुरमा भएको सभामा भनेका थिए, “हामी अदालतको स्वतन्त्रतामा विश्वास गर्छौँ, अदालतलाई धम्क्याएर निर्णय गर्न बाध्य पार्दैनौँ ।”   त्यही दिनदेखि कांग्रेस अदालतको निर्णय कुर्ने भए विरोध प्रदर्शन किन ? भन्दै प्रश्न उठेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार