काठमाडौं । स्पाइनल कर्ड इन्ज्युरी भएका दैलेखका २८ बर्षिय खगेन्द्र शाहीको पिसाब फ्याल्न प्रयोग हुने सिआइसी पाइप एकहप्ता अघि सकियो । उक्त पाइप प्रयोग थालेको एक हप्तापछि नयाँ फेर्नुपर्ने भएपनि निषेधाज्ञाले गर्दा काठमाडौंबाट लैजान नसक्दा पुरानैले काम चलाउन परेको छ । पुरानै पाइप पुनः प्रयोग गरेर पिसाबमा इन्फेक्सन भएको छ । निको पार्ने औषधि खान पाएका छैनन् ।
‘औषधि पनि १५ दिन अघि नै सकियो,’ उनले भने ‘दुर्गम भएकाले अरुबेला त पाउन गाह्रो हुन्छ, कि त सदरमुकाम कि त काठमाडौंबाटै मगाउनुपर्छ, यस्तोबेला समस्या कति हो कति !’ शाहीको घर दैलेखको महाबु गाउँपालिकादेखि सदुरमुकाम एकदिन टाढा पर्छ ।

आठ बर्षअघि भारतमा मजदुरी गर्न गएको बेला पहिरोमा च्यापिएर मेरुदण्डमा गुमाएका उनले दिसापिसाब गएको पत्तै पाउदैनन् । दिसापिसाव र सफाइ गर्न डिटोल, सिआइसि पाइप, जाइलोकन जेली, युरिन ब्याग, कण्डम क्याथेटर, फोलिस क्याथेटर, युरिन व्यागजस्ता स्वास्थ्य सामाग्री र औषधि प्रयोग गर्नुपर्छ ।
डिटोल बाहेकका स्वास्थ्य सामाग्री दैलेख सदरमुकाममा पनि नपाइने हुदा काठमाडौंकै भर पर्नुपर्छ । उनी भन्छन्, ‘लामो समय पुग्नेगरी एकैचोटी किनेर राख्न सकेको भएपनि यति आपत् पर्दैनथियो, परिवारलाई विहानबेलुकी छाक टार्नै गाह्रो छ, निषेधाज्ञाले झनै समस्या थपियो ।’
उनले काठमाडौंमा स्पाइनल कर्ड इन्ज्युरी नेटवर्क नेपालका अध्यक्ष ऋृषि ढकालसंग टेलिफोन गरेर स्वास्थ्य सामाग्री सहयोग मागे । निषेधाज्ञाले गर्दा पठाउन सकेनन् । ‘उहाँ जस्तै दुरदराजका साथीहरुलाई निषेधाज्ञाले गर्दा समस्या भएको छ, ‘ढकाल भन्छन्, ‘स्वास्थ्य सामाग्री, औषधि, सहायक सामाग्री किन्न सक्नुभएको छैन, हामीसंग पनि पर्याप्त छैन, भएको समेत पठाउनलाई यातायातकै समस्या छ ।’ यस्तो समस्या शहर बजारमा भन्दा दुर्गम क्षेत्रमा बढि रहेको उनले भने ।
बजार, पसलहरु बन्द हुदा बैशाखी, ह्लिचियर जस्ता सहायक सामाग्री टुटफुटलाई मर्मत गर्न नपाउदा दैनिकी कष्टकर बन्दै गइरहेको दाङका सुरेश विकले सुनाए । स्पाइनल कर्ड इन्ज्युरी भएका उनले प्रयोग गरिरहेको फोलिस क्याथेटर एक हप्ताअघि फेर्ने बेला भएको थियो ।
नयाँ किन्न नपाएपछि पुरानै प्रयोग गरिरहेका छन् । पिसाबलाई युरिन ब्यागसम्म पु¥याउन प्रयोग हुने यो क्याथेटर १५ दिनमा फेर्नुपर्ने हुन्छ ।
गतबर्ष लकडाउनमा पनि अपांगता भएका व्यक्तिहरुले स्वास्थ्य सामाग्री र सहायक सामाग्रीको अभाव झेलेका थिए ।
०६८ को जनगणनाअनुसार देशभर पूर्ण अशक्त, वौद्धिक अपाङ्गता, अतिअशक्त शारीरिक अपाङ्गता, अटिजम, डाउनस् सिन्ड्रोम, हेमोफोलिया, श्रवणदृष्टिविहीन लगायत अपांगता भएका मानिसको संख्या ५ लाख १३ हजार ३ सय २१ छ ।

नेपाल हेमोफिलिया सोसाइटीका अध्यक्ष नविन ढुंगेलका अनुसार गतबर्ष लकडाउनमा अनुवंशीय असरका कारण हुने रक्तश्राव रोक्ने फ्याक्टर नपाएर अनुवंशीय रक्तश्राव (हेमोफिलिया) सम्बन्धी अपाङ्गता भएका तीन जनाले ज्यान गुमाएका थिए । सोसाइटीमा आबद्ध भएका हेमोफिलिया विरामी ७५० छन् ।
महंगो मुल्य पर्ने फ्याक्टरका लागि वैदेशिक सहायतामा निर्भर हेमोफिलिया भएका व्यक्तिहरुले लकडाउन सुरु भएलगत्तै अभाव खेपेका थिए । हवाई उडान हुन नसकेकाले वैदेशिक सहायताको फ्याक्टर स्वदेश ल्याउन सकिएको थिएन भने नेपालमा समेत मौज्दात थिएन । यसबर्षपनि सोही समस्या दोहोरिने सम्भावना छ ।
‘गतबर्ष देशभरी समस्या थियो, अहिले एक, बागमती र सुदुरपश्चिममा प्रदेश सरकारले खरिद गरिदिएकाले दुई/तीन महिना पुग्नेगरी छ, अन्य प्रदेशको हकमा एह हप्तापछि अभाव हुने देखिन्छ,’ उनले भने । अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन, २०७४ ले अनुवंशीय रक्तश्राव (हेमोफिलिया) सम्बन्धी अपाङ्गतालाई अनुवंशीय असरका कारण रगतमा हुने फ्याक्टरमा विचलन आई रगत जम्ने कार्यमा समस्या उत्पन्न हुने शारीरिक अवस्थाको व्यक्ति भनि परिभाषित गरेको छ । यस्तो रोग बंशानुगत र पोषणको कमीले हुने गर्छ ।
विपद् र महामारीका बेला अपांगता भएका व्यक्तिहरुले सधै स्वास्थ्य र सहायक सामाग्रीको अभाव झेल्नुपर्ने भएकाले स्थायी समाधानका लागि सरकारले सहयोग गर्नुपर्ने स्पाइनल कर्ड इन्ज्युरी नेटवर्क नेपालका अध्यक्ष ऋृषि ढकाल बताउँछन् । ‘धेरैले आफैले किनेर प्रयोग गर्न सकिदैन, हामीले सधै विदेशी डोनरसंग हात जोडेर ल्याउनुपर्छ, त्यही पनि चाहेको बेला पु¥याउन सक्दैनौ,’ उनले भने, ‘संघियतापछि सरकार गाउँ–गाउँ पुगेको छ, आखिर जनताको सरकार हो भने स्थानीय तहबाटै स्वास्थ्य र सहायक सामाग्रीको व्यवस्थापन गरिदिए धेरै सहज हुन्थ्यो ।’







