मीरालाई अमेरिकामा ‘गेम चेन्जर’ अवार्ड

  सिलिचुङ समाचारदाता

काठमाडौ । भोजपुरमा जन्मेकी अल्ट्रा ट्रैल धाविका मीरा राई अमेरिकाको न्युयोर्कमा ‘गेम चेन्जर अवार्ड २०१८’ बाट सम्मानित भएकी छन्। न्यूयोर्क शहरको लोअर म्यानहटनस्थित प्रसिद्ध रेस्टुरेन्ट सिप्रीयानीमा आयोजित एक समारोहमा राईलाई एशिया सोसाईटीले मीरालाई सम्मान गरेको हो।

आयोजकले सम्मान हुनेहरुलाई राष्ट्रिय पोशाकमा उपस्थित हुन ड्रेस कोड लागू गरेपछि सधैं स्पोर्ट्स ड्रेसमा देखा पर्ने मीराले सारीमा सजिएर सम्मान ग्रहण गरेकी थिइन।

एशियामा असाधारण काम गर्ने नौ व्यक्तिहरू मध्ये मीरा परेकी हुन्। मीरालाई अनेकौं कठिन बाधाहरु छिचोल्दै अदम्य साहसका साथ अनेकौं किर्तिमानहरु कामय गरी विश्वका दशौं लाखलाई प्रेरित गरेको भन्दै सम्मान गरिएको हो।

मीरासँगै थाइल्यान्डको बाढी गुफाबाट युवाहरुको उद्दार गर्ने टिम, अमेरिकी टेक्नोलोजीमा भाग लिने अफ्गान केटी, जापानको सुनामीमा र फुकुशिमामा ध्वस्त आणविक उद्दार गर्ने टोली, पेप्सिकोकी अध्यक्ष इन्द्र नुयि, चीनका वातावरण अभियन्ता वाङ सी, चिकित्सक डा. मुन्जेद अल मुडेरिस, सिरियाका सेतो हेल्मेटमा रहिद सले, सङ्गीतका कुलुलामको सम्मानित भएका छन्।
मीराले भनिन्, ‘साँच्चि नै सपनाको शहरमा सपना जस्तै लागिरहेको छ। अत्यन्तै खुशी लागेको छ, मैले व्यक्तिगत रुपमा अवार्ड पाएपनि यो सम्पूर्ण नेपालीका लागि गौरवको विषय हो।’

मीराले यो खुशी आफ्नो टिम र सम्पूर्ण नेपालीसँग बाँड्न चाहेको बताइन।

‘आत्मविश्वास, समर्पित भावना, अथक मेहनतका साथ मौकालाई सही प्रयोग गर्न सके अवश्य सफल हुन सकिन्छ भनेर बुझे मेरो सफलता र सम्मानको थप महत्त्व हुनेछ’, मीराले भनिन्।

गत वर्ष अमेरिकाको प्रसिद्द ‘आउटसाईड’ म्यागेजिनले कभर पेजका लागि विश्व चर्चित ४० महिलाको फोटो सेसन गरेकोमा मीरा पनि परेकी थिइन।

‘त्यो म्यागेजिनका लागि मिसेल ओबामा, बिख्यात टेनिस खेलाडी सरिना विलियम्स, जुन्को ताबेई जस्ता महिलाहरुसँग फोटो सेसन गर्न क्यालिफोर्निया पुगेको थिएँ’, मीराले गत वर्षको आफ्नो अमेरिका भ्रमण स्मरण गर्दै भनिन्, ‘त्यहाँ धेरैले मसँग तिमी मेरो प्रेरणाको श्रोत हौ भन्दै सेल्फी खिचाए, पूरै दुई घन्टा अटोग्राफ हस्ताक्षर गर्न लाग्यो।’

मीराले सन् २०१५ मा फ्रान्सको मोन्ट ब्लन्कमा ८० किलोमिटर दौडतर्फ विश्व किर्तिमान राखेकी छन्। उनी नेसनल जोग्राफिक एडभेन्चर अफ द इयर अवार्डबाट समेत सम्मानित भइसकेकी छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार