विकासको ऐतिहासिक विकासक्रम एवं वर्तमान अभ्यासको विश्लेषण गर्दा प्रष्ट हुन्छ की विकास मानिसको सामुहिक प्रयत्नको परिणाम हो । मानिसको जीवनमा गुणात्मक तथा मात्रात्मक परिवर्तन ल्याउने प्रक्रिया हो । विकास बहुआयामिक प्रकृया हो । विकासका लागि आर्थिक पक्ष मात्र काफी हुँदैन । तर आर्थिक मूल्य मान्यताको निर्माणका लागि आर्थिक विकास हुनु अपरिहार्य छ ।
आर्थिक मूल्य मान्यता, आचार निर्माण हुनु जरुर छ जो सांस्कृतिक क्षेत्र भित्र पर्दछन् । यदि मूल्य मान्यता सकारात्मक छन् भने विकासलाई सहयोग पुर्याछ यदि छैनन् भने विकासलाई सहयोग पुर्याउँदैनन् । वास्तवमा विकास मूल्यरहित नभई मूल्य सहित हुनुपर्दछ । दिगो र प्रभावकारी विकासका लागि सामाजिक सांस्कृतिक तत्वहरु मूल्य, मान्यताहरु उत्प्रेरक र सहयोगी हुनुपर्दछ ।
संस्कृति भनेको मानवनिर्मित एवं आर्जित ज्ञान, विज्ञान कला आदि भौतिक एवं अभौतिक तत्वहरुको समग्रता हो । जसमा निम्नलिखित पक्षहरु समावेश भएका हुन्छन् । धर्म,मूल्य, दृष्टिकोण,प्रवृत्ति,विश्वास, मान्यता, नियम विनियम आचार प्रत्येक संस्कृतिको व्याख्या परिस्थिति अनुसार हुन्छ । उक्त संस्कृतिको औचित्य एवं बुझाइ सम्वन्धित समुदायमा मात्र बैध हुन्छ । प्रत्येक समुदायमा मानिसले समयको परिवर्तन सँगै संस्कृतिको पनि परिवर्तन गर्दछन् । परिवर्तनको प्रकृया आमूल भन्दा उदार हुन्छ ।
कुनै स्थान विशेषको संस्कृतिलाई अर्को संस्कृति सँग तुलना गरेर राम्रो र नराम्रो भनी विश्लेषण गर्नु हुँदैन । यदि विकासका लागि उपयुक्त संस्कृतिको निर्माण गर्न सकेमा आवश्य पनि विकास दिगो हुन्छ ।
विकासमुखी संस्कृतिको निर्माण आफैले गर्नु पर्दछ । किनकी संस्कृतिको पूर्ण नक्कल गर्न सकिदैन । यदि हामीले हाम्रै धरातलमा विकासमुखी संस्कृति निर्माण गर्न सक्यो भने आवश्य पनि समाजको समष्टिगत संरचनामा परिवर्तन आउँछ ।
मानवनिर्मित संस्कृतिकै उपज विज्ञान र प्रविधि हो । यसले विकासको रेल, जहाज हाक्न विश्वलाई सहयोग पुर्याएको छ । सामाजिक एवं आर्थिक अर्थव्यवस्थामा गरिएको परिवर्तनले समग्र मानव जीवनमा प्रभाव परेकोछ । उद्विकास, प्रसार, परसंस्कृतिग्रहण ,प्राविधिक परिवर्तन र अनुकुलनले सांस्कृतिक परिवर्तनमा प्रभाव पार्दछ ।
मानवशास्त्रीहरु भन्छन् कि संस्कृति विकासमुखी छ , विकासलाई प्रोत्साहन गर्दछ भने त्यस्ता संस्कृतिलाई अझ प्रवद्र्धन गर्नु पर्दछ । यदि विकासको विरोधी एवं विपरीत छ भने परिवर्तन गर्नु पर्दछ । मानिस र उसको समुह एवं समुदायद्धारा निर्मित संस्कृति र विकासबीचमा पारस्पारिकता हुनु पर्दछ । समन्वय हुनु पर्दछ । वास्तवमा समतामुलक, समन्वयकारी, विकासमुखी मानव संस्कृतिको अभावले गर्दा गरिवी वेरोजगारी अन्याय, कुशासन जन्मेका हुन् । जीवन स्तर दयनीय भएको हो । सांस्कृतिक वातावरण प्रणालीले मानिसको नयाँ सोचाइ, प्रवृत्ति र मान्यताको सिर्जना गर्दछ । अल्छी, भोलिवादी, नातावादी संकुचित, विभेदकारी, असमान संस्कृतिको अन्त्य गर्न सकेमा आवश्य पनि विकास जनअपेक्षित रुपमा अगाडि बढ्न सक्दछ ।
विकासमा संस्कृति एवं परम्पराले उल्लेखनीय प्रभाव पार्दछ । यद्यपी कतिपय विकासवादीहरुले संस्कृति एवं परम्पराको महत्वलाई कम आकलन गरेपनि यो सम्पूर्ण इकाई हो । संस्कृति तथा परम्परा कुनै व्यक्ति विशेषको, अभ्यास एवं सिकाई होइन यो सामूहिक अन्तरक्रियाको परिणाम हो । यसले मानिसको जीवनमा मूल्य प्रदान गर्दछ । मूल्यहीन जीवन आशा विहीन हुन्छ । यसले समाजमा विभिन्न विचलन ल्याउँछ । तर यस्ता मूल्य मान्यता विकासमुखी हुनुपर्दछ ।
मानिसका भौतिक अर्थात आर्थिक आवश्यकतालाई संस्कृतिले पूरा गर्नुपर्दछ । संस्कृतिले मानिसको कार्यक्षमता र गतिमा प्रभाव पार्दछ । त्यसैले कुनै पनि संस्कृतिले श्रम संस्कारलाई जोड दिनु पर्दछ । विकासका लागि श्रम पूजित संस्कृति निर्माण हुनु पर्दछ । साथै मानिसको जिम्मेवारी र उत्तरादायित्व पनि सिर्जना गर्नु पर्दछ । उत्प्रेरणा जगाउनु पर्दछ । संस्कृतिले मानिसका विभिन्न पक्षहरुमा परिवर्तन ल्याउनु पर्दछ । संस्कृतिले मानिसलाई लगानीका लागि साहस प्रदान गर्नुपर्दछ ।
जोखिमयुक्त कार्य गर्न प्रोत्साहन गर्नु पर्दछ । भ्रष्ट , अनैतिक, नातावाद वा आफ्नो मान्छे, भोलिवादी परम्परा संस्कृति आवश्य पनि विकासको सूचक होइनन् । त्यसैगरी दमन, विभेदकारी र तानाशाही सरकारको विकासप्रतिको सम्बन्ध राम्रो हुँदैन । राजनीतिक आर्थिक एवं सांस्कृतिक क्षेत्रका परम्परा एवं संस्कृति आवश्य पनि मानिसका प्राथमिक तत्व हुन् । संस्कृतिले संगठन, सामाजिकता, सहकार्य, नेतृत्व चयनमा पनि प्रभाव पार्दछ ।
ग्रामीण विकासमा धेरै चुनौतीहरु छन् । ती चुनौतीहरुलाई सामना गर्न नेपालको संविधानले संवैधानिकरुपमा नै सरकारको अधिकारसुची सुचिकृत गरेको छ । यही संवैधानिक व्यावस्था अनुसार स्थानीय सरकारहरुले पूर्णता प्राप्त गरेको पनि लगभग १५ महिना भइसकेको छ । यस दौरानमा पूरै एक आर्थिक वर्षको नीति तथा योजना तर्जुमा सहित वजेट प्रस्तुत गरि ग्रामीण विकासको लागि अभ्यासहरु शुरु भएका छन् । नेपाली समाजमा विभिन्न चाडपर्वका नाममा लामा विदा दिने जस्ता प्रवृत्तिहरु विगतमा थिए । संघीय सरकारले यसलाई केही सुधार गर्ने कोशिस यस वर्ष गरेको देखिन्छ तर स्थानीय सरकारले भने त्यस्तो कार्य गरेको पाइन्दैन । आगामी दिनमा त्यस्ता लामा विदा संस्कार संस्कृतिका नाममा नदिइ सिर्जनात्मक ढङबाट आफ्नो संस्कार र संस्कृतिहरुलाई मनाउन शुरुवात गर्नुपर्छ ।
गरिवी, अभाव र भोकमारी जस्ता समस्याहरु अनावश्यक संस्कृतिहरुको परिग्रहणका कारण हुने गर्दछ । दशैँ, तिहार, छठ जस्ता लामा विदा सहित मनाइने चाडपर्वहरुको मुखमा हामी छौं । यी चाडपर्वहरुको अवसरमा महङगी,कालोबजारी,यातायात सेवामा व्यावधान, जुवा तास, मदिरासेवन जस्ता सामाजिक विकृति विसंगतिहरु बढ्नु ।
यस्तो अवस्थामा मितव्यी, सरल, सामाजिक सहिष्णुता र सामाजिक मेलमिलापका साथ चाडपर्वहरु मनाएर सामाजिक एकता, सद्भाव कायम गरी ग्रामीण विकास र संस्कृतिलाई उर्जाको रुपमा लिइ समाजमा व्यप्त अविकासको अवस्थाबाट मुक्तिको यात्रा सम्बृद्ध नेपाल, सुखी नेपाली लाई सार्थक बनाउन योगदान गराउ । भाषणको विकल्प छलफल र बहस हो । छलफल र बहस अन्तरक्रियात्म विधि हो । यसले एकभन्दा धेरै मान्छेको विचारलाई स्वागत गर्दछ ।
स्थानीय जनप्रतिनिधिहरुलाई विकृतरुपमा मनाइने चाडपर्वहरुको रुपान्तरण गर्दै असल सकारात्मक संस्कृति निर्माणमा भुमिका खेल्ने अवसर छ । आफ्नो कार्यशैली को पनि पृष्ठपोषण लिने मतदाता तहका नागरिकहरुसँग अनौपचारिक तर नीति निर्माणमा बहस, छलफलको लागि उत्तम विकल्पका रुपमा यी चाडपर्वहरुलाई उपयोग गर्न सकिने अवसर हो ।
पौवादुङ्मा–६ ठुलोदुम्मा, भोजपुर