किन फूलमायाहरुलाई मात्र प्रश्न ??

  अर्जुन राई (असिम दुङमाली)

 

प्रकाश सपूतको सकम्बरी (फूलमाया) बोलको गीत यतिबेला चर्चाको शिखरमा छ । युट्युब भाषाशैलीमा भन्ने हो भने उक्त गीत अग्रपंति ट्रेण्डिङमै छ । सामाजिक सञ्जालहरुमा उत्तिकै चर्चा छ । विशेषगरी भिडियो प्लेटफर्म टिकटकमा व्यापक भाइरल नै भइरहेको देख्न पाइन्छ । उक्त गीतले नेपाली समाज कतातिर प्रवृत्तिन्मुख भइरहेको छ ? भन्ने एक पाटोपक्षलाई मज्जाले नै उजागर गरेको सत्य हो । सतही रुपमा सरसर्ती सुन्दा, हेर्दा फूलमाया गीत हाम्रो समाजको दर्पण जस्तो लागे तापनि यसको सन्देशमा भने खोट छ । त्यसैले गहिराइमा बुझ्नेहरुले गीतको कटाक्ष आलोचना समेत गरिरहेका छन् ।

कुनै पनि कलाकार वा सिर्जनाप्रतिको बर्खिलाप नभएर केवल फूलमाया बोलको गीतले उठान गरेको सन्देशको चिरफार गर्ने प्रयास मात्र हो । गीतको मूलभाव गरिबी, अभाव, बेराजगारी आदिको कारण समाजमा उत्पन्न विकृतिहरुलाई दर्साउने कलात्मक प्रयास गरिएको छ । समाजमा शैक्षिक, आर्थिक पछौटेपनका कारण विभिन्न विकृत संस्कारहरु भित्रिएको कुरा उजागर गरी आम जनमानसलाई सुसुचित एवम् सजग गराउनु ज्यादै सकारात्मक पक्ष हो ।

 

यो लेखको आशय कुनै पनि कलाकार वा सिर्जनाप्रतिको बर्खिलाप नभएर केवल फूलमाया बोलको गीतले उठान गरेको सन्देशको चिरफार गर्ने प्रयास मात्र हो । गीतको मूलभाव गरिबी, अभाव, बेराजगारी आदिको कारण समाजमा उत्पन्न विकृतिहरुलाई दर्साउने कलात्मक प्रयास गरिएको छ । समाजमा शैक्षिक, आर्थिक पछौटेपनका कारण विभिन्न विकृत संस्कारहरु भित्रिएको कुरा उजागर गरी आम जनमानसलाई सुसुचित एवम् सजग गराउनु ज्यादै सकारात्मक पक्ष हो । यस दृष्टिकोणले फूलमाया गीतले वाह–वाही ताली पाउँनै पर्दछ । त्यसमा द्विमत हुनुपर्दैन । तथापि, गरिवी अभाव मात्र यो समस्याको कारण पक्कै होइन, आजभन्दा तन्नाम गरिबीको अवस्थामा गुज्रिँदा पनि नेपाली समाजमा आफ्नो अस्मिता बेच्ने तहमा पटक्कै थिएन । बरु यी सब नवउदारवादीकरणको उपज हो भन्ने तर्क राख्नेहरु पनि छन् । जसमा सत्यता पनि छ ।

 

फूलमाया बोलको गीतमा महिलाहरुलाई एकपक्षीय रुपमा दोषी करार गर्ने जुन दुस्प्रयास गरिएको छ, त्यो निन्दनीय छ । यतिबेला हाम्रै समाजमा पनि हरेक हिसाबले लैङ्गिक समानताको गुन्जायस भइसकेको छ । नीतिगत तथा व्यवहारिकतामा समेत लैङ्गिक समानताको अभ्यास भइसक्यो । तथापि यो गीतका शव्दावली र दृष्यहरुका आशायहरु पुरातन पुरुषवादी मानसिकताले ग्रसित देखिन्छ । एक वाक्यांशमा भन्नुपर्दा “गरीब महिलाले आफू चरित्रहिन भएर भनौ वा बेश्यावृत्ति गरी गरी आवश्यकताका सामग्रीहरु जुटाइरहेको भनिएको छ ।”

 

गीतमा प्रयुक्त शव्दवलीहरुलाई म्यूजिक भिडियोमा देखाइएका दृष्यहरुले थप पुष्टि गरिएका छन् । जहाँ महिलाहरुलाई मात्र एकपक्षीय दोषी ठहर गरिएको छ । अनि माहिलालाई मात्र शंका र प्रश्न गरिएको छ । तर पुरुषको बारेमा चुइँक्क एक शव्द पनि उल्लेख छैन । किन ? के यो पुरातन पुरुषवादी मानसिकताको धङधङ्गी होइन र ?? के महिला स्वयं चरित्रहिन हुन सक्छिन् ??? महिलालाई चरित्रहिन, बेश्या बनाउनलाई त पुरुष पात्र नि अपरिहार्य छ । अनि किन पुरुष पात्रको बारेमा मौन ? यति गम्भिर र संवेदनशील विषयमा महिलालाई मात्र किन दोषको हकदार ठानियो ?? गलत नै गरे तापनि पुरुषलाई चाहिँ “प्रोटागोनिष्ट क्यारेक्टर” किन ? अझै पनि महिलाहरुलाई नै हपाइ–पेलाइ दिनु पर्ने हो त ? गीतको यही पाटोमा त्रुटि वा खोट छ, भन्न खोजिएको हो ।

 

आजकल हामी भनौ या हाम्रो समाज यस्तो भइसक्यो आफू एक्स्पोज हुनु पाए भयो । अनि जसरी नि भाइरल हुन जुनसुकै हर्कत गरीहालौं । वास्तवमा गीतले फूलमाया पात्रको माध्यमबाट तमाम महिलाहरुको चरित्रमाथि खुला धावा बोलिरहेको छ । तर टिकटकमा गीत भाइरल छ । जसमा महिला दिदीवहिनीहरुको नै ज्यादा लगाव देखिन्छ । कानमा झुम्कना कसले किन्दियो ? …… फलाना थोक कसले किन्दियो ?? भन्ने गीतको टुक्राहरुमा टिकटक बनाउने महिला दिदीवहिनीहरुको होडबाजी नै छ, भन्नु अतिशयोक्ति नहोला ।

 

यो गीतको सन्दर्भले गौतम बुद्धको एक टिप्पणोपदेशको स्मरण गराउँदछ । गौतम बुद्ध कुनै नयाँ ठाउँमा पुगेर ध्यान गरीरहेका हुन्छन् । स्थानीय पुरुषहरु बुद्धको समिप आउँदै बुद्धलाई खासखुुस गर्न थाल्दछन् । रोचक कुरा के भने ती सबैजना पुरुषहरुको आशय एउटै नै थियो । यो हाम्रो ठाउँमा एकजना (फलानी) स्त्री छे…. तिनी बेश्या आइमाइ हो, बदमास छे, चरित्रहिन छे, तिनको संगत गर्नुहुन्न आदि इत्यादी ….. । प्राय सबै पुरुषहरुको कुरा सुनिसकेपछि गौतम बुद्धले भन्नुभएछ– “लौ ठिक छ, ति स्त्री खराव चरित्रकी बेश्या रहेछिन् । अनि यो गाउँका पुरुषहरु चाहिँ सबै सज्जन नै हुनुहुन्छ त ? के स्त्री एक्लै स्वयं बेश्या भएकी हुन ?? चरित्रहिन कसले बनायो उनलाई ???” बुद्धका यी प्रश्नको जवाफ भने कसैले दिन नसकेर पुरुषहरुले सुइँकुच्चा ठोकेछन् ।

 

प्रशंग पुनः गीततर्फ नै मोडौं, फूलमाया बोलको गीतमा महिलालाई उकुसमुकुस हुने गरी नै दोषी दलिल गर्न भगिरथ प्रयात्न गरिएको प्रष्टै छ । महिलाको घाँटीको नीलडाम, रातीको काम अनेकन सोधीखोजी गर्ने ? पाउजु बुलाकी आदि इत्यादि कसले किन्दियो ? भनि प्रश्न गर्नेले किनीदिने पुरुषलाई पनि …… बाट आएको आम्दानीले कसलाई …… किन्दियौ ? राती ….. थियौ ? भन्नु सक्नुपर्छ । प्रश्नको नाल त पुरुषतर्फ पनि निशाना हुनु पर्दछ कि पर्दैन ?? पाउनेको खोजीनीति गर्दा दिनेको पनि हिसाव किताव खोजिनु पर्छ । तब न गोश्वारा भौचरमा डेविट र क्रेडिटको हिसाव बराबर मिलान भए झैं कुरा मिल्छ ।

 

गीत संगित समाज रुपान्तरणको सशक्त माध्यम बन्न सक्नु पर्दछ र बनेका थुपै्र दृष्टान्तहरु पनि नभएका होइनन् । सपूताकृत थुप्रै गित संगितहरु सन्देशमुलक नभएका होइनन् । तथापि सन्देशमुलक भइकन पनि उनका गीत संगितहरु विवादरहित भने छैनन् । यसपाली पनि पुरानै विवादशैली पुनरावृत्ति भएको संयोग मात्र हो की ? कि चर्चाकै निम्ति जानी जानी यस्तो हर्कत गरेका हुन् ? होइन भने किन फूलमायाहरुलाई मात्र प्रश्न ??

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार