ढलेको आस्था

कविता
मेरा बाले बिहानै उठेर
ढुङ्गेधारामा गई 
विहानको चिसो पानीमा नुहाई
दुहेको मालि गाईको दुध
सरस्वती पूजामा
मैले लाँदा
विद्यालयबाट जस्ताको तस्तै
फर्काइयो

खोलामा फ्याँके नी मैले नचल्ने दुध
हो
त्यही दिन हो मेरो मनले
फुटाएको÷च्यातेको
सरस्वतीको
मूर्ती र फोटो ।

गर्न छाडेको विश्वास ।
म विद्यालय जाँदा
म जस्तै मेरै साथीलाई
म भन्दा अघिल्लो बेञ्चमा राखेर
फरक ढगंले
घोकायौ नी
ए प्लस वि होल स्क्वाएरको सुत्र
त्यसै दिन देखी हो म बनेको विद्रोही

ओकलेको आगो ।
तिम्रा हर विभेदका विरुद्द
त्यसै दिन देखी थालेको हो मैले चिच्याउन ।
मेरा बाले
मेरी आमाका लागि तिजको ब्रतमा
निराहार बसेर
महादेवलाई चढाउन बनाइदिएको त्रिशुल
मेरी आमाले
जब
मन्दिर बाहिरै चढाउनु पर्यो नी
हो
त्यसै दिन देखि भत्काउन खोजेको
हो मैले ढुङ्गाको घर
अथवा
तिम्रो भाषामा मन्दिर ।
यही
पहाडी बस्तीबाट
जिजिविषा चलाउन
सुन्तलाको भारी बोकेर
तराई झर्दै गरेकी दिदी
बराह क्षेत्रको अक्करको भिरबाट लडेर
प्राण पखेरु उडेको दिन
चिच्याउदा पनि तिमीले सुनेको नसुनै गरेउनी
हो त्यसै दिन देखी हो
मैले तिमी
एक ढुङ्गा मात्र हौ भनेर खुट्याएको
तिमीलाई
हृदयबाट नै चिनेको ।
र घटेको तिमी प्रतिको आस्था ।
त्यो दिन सम्म त
आखिर
घटेको मात्र थियो ,
जव
तिम्रा हिंस्रक मनहरु बस्तीमा पसे
गर्नु नगर्नु गर्याे
त्यती बेला पनि
पुकारेको हो मैले भगवान
तर ………………
त्यती बेला पनि तिमी
म प्रति होइन उही प्रति आकर्षित भयौ

मै माथि गरी रह्यौ दमन
हो
त्यसै दिन देखि ढलेको हो आस्था
पटक पटक………………….
मेरो प्रीय धरहरा ढले जसरी ।।।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार