भोजपुरको जरायोटार गन्धर्व बस्ती हो । यहाँका गन्धर्वहरु पहिला गाउँ डुलेर सारंगी गाउँदै गाएको कमाइले परिवारको खर्च धान्ने गर्थे । अहिले यो परम्परा लोपोन्मुख बनेको छ । यहीँकै तेजेन्द्र गन्धर्व भने रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ मा सहभागी भएपछि खुबै चर्चामा आएका छन् । उनको सारंगी यात्रा र गन्धर्व परम्पराबारे विद्या राई लेख्छिन् :

सानामा बुबाआमाले दोबाटोमा बसेर सारंगी रेटेको देख्दा दु:ख लाग्थ्यो उनलाई । उनी कामना गर्थे, यस्तो रहर कहिल्यै नआओस् । तर उनलाई बाध्यताले साढे ६ वर्षकै उमेरदेखि सारंगी रेट्ने बनायो । घरमा बिहान–बेलुकीको छाक टार्न मुस्किल पथ्र्यो । खेतबारीको कमाइले तीन महिना खान पुग्दैनथ्यो । खानेपानी लिन एक–दुई घण्टा धाउनुपर्छ अझै पनि । तीन सन्तानमध्येको जेठो भएकैले आमाबुबाका लागि भरोसा थिए उनी ।
उनी बुबाले बनाइदिएको सारंगी रेट्न आफ्नै गाउँको बजारमा गए । ‘कहाँ बजाउ मादलु…’ गाएका थिए । मान्छेको हूल बटुलियो । उनमा भने अप्ठ्यारो महसुस भइसकेको थियो । ‘रेट्दै गरेको सारंगी कहाँ लुकाउँ भएको थियो,’ उनले पहिलो अनुभवलाई सम्झिए । त्यसको दुई दशकपछि सारंगीबाटै धेरै सपना देख्न थालेका छन् उनले । भन्छन्, ‘अहिले कहाँ देखाऊँ लाग्छ ।’ पहिलोचोटि गाउँदै गर्दा थुप्रैले हौसला दिएका थिए । मनोबल बढ्दै गयो । अहिले जम्दै आए । सांरगीको धुनले उनलाई शक्ति दिन्छ ।
यी २६ वर्षीय तेजेन्द्र गन्धर्वलाई समय र अनुभवले सारंगीको महत्त्व बुझ्ने बनायो । सारंगीको साधक मात्र होइन, संरक्षक बनायो । भोजपुरको अरुण गाउँपालिका– ६, जरायोटारको माङदिन गाउँ, जसलाई जिल्लाकै कर्णाली भनिन्छ । बाह्रैमास सुक्खा खडेरी लाग्ने यो गाउँमा अहिलेकै अवस्थामा पनि खान–लाउन धौधौ पर्छ । माङदिन गन्धर्वहरूको पूर्वकै ऐतिहासिक थलो हो । यहाँ ३० वर्षअघि ४० घर थिए । जसले सारंगी रेटेर जीविका धान्थे । पछिल्लो समय जीविका धान्न मुस्किल भएपछि थुप्रै गन्धर्व परिवारसहित अन्यत्रै लागे । अधिकांश परिवार झापाको केचनकवल गाउँपालिकामा बस्दै आएका छन् । पुख्र्यौली थलोमा १० घरमात्र बाँकी छन् । तिनले मात्रै सारंगी रेट्छन् ।
युवा पुस्ता चौतारा, चौबाटो, चोक तथा हाटबजारमा बसेर गीत गाउन लाज मान्छन् । यसरी गाउनेलाई समाजले पनि राम्रो नजरलेहेर्दैनन् । त्यसैले धेरैले सारंगीमा हात बसाल्न छाडेका छन् । तेजेन्द्रले भने अभावलाई झेल्दै सारंगीलाई जीवन्त बनाइरहेका छन् । सारंगीबाटै उनी चिनिएका छन् र यसैमा रमाएका छन् अहिले । उनले संगीतको औपचारिक शिक्षा लिएका छैनन् । तर यसको साधनामा तल्लीन छन् । अनुभवले उनको प्रतिभा निखार्दै ल्याएको छ ।
उनी समसायिक र सन्देशमूलक गीत गाउँछन् । २/३ घण्टाको भाषणलाई ५/१० मिनेटमा गाउँछन् । सबै पुस्ताका लागि सूचना, जानकारी र मनोरञ्जनको वाहक बनेका छन् उनी । गन्धर्वले गाउने गीत कहिले झूटो हुँदैन र गन्धर्वले गाउने गीतमा सत्य लुक्नु हुँदैन भन्ने मान्यता छ । त्यसैले खुब मिहिनेत गर्छन् उनी ।
सारंगीलाई समाज परिवर्तनको आवाज भन्छन् तेजेन्द्र । यसबाट नबुझेका कुरा समाजलाई बुझाउन सकिन्छ । १९ वर्षको छँदा एसएलसी पास गरेपछि उच्च शिक्षा लिने चाहनालाई बिट मारेरै उनी सारंगी साधनामै लागे । सुरक्षित आप्रवासनसम्बन्धी परियोजनामा काम पाए । विदेश जानुपूर्व नेपालीहरूले अपनाउनुपर्ने सावधानी, विदेशका दु:खबारे नौ वटा गाउँदै खोटाङ, रामेछाप, उदयपुर, धादिङ, सिन्धुली जिल्ला पुगे । उनी सारंगी रेट्दै गीत गाउँदै झन्डै आधा भाग नेपाल घुमेका छन् । घुमघामले गर्दा नै उनमा सारंगीप्रतिको नजर परिवर्तन भएको हो ।
उनी आफ्नो कलालाई सडकमै सीमित गर्न चाहँदैनथे । रियालिटी शो चाहन्थे । रेकर्ड गरेर थुप्रै श्रोतामाझ सारंगीको धुन पुर्याउन चाहन्थे । मिहिनेत गरे पनि मौका नपाउँदा बेलाबखत निराश हुन्थे । आफैं लगानी गरेर प्रचार गर्न सम्भव थिएन । तर मौका मिल्यो । द भ्वाइस अफ नेपालले उनलाई प्लाटफर्म दियो । उनलाई खोज्दै गाउँसम्म पुगेको थियो भ्वाइस टिम । ब्लाइन्ड अडिसन, ब्याटल राउन्ड पार गर्दै भोटिङ राउन्डको दोस्रो चरणबाट बाहिरिए । टिम प्रमोद खरेलको शीर्ष ६ सम्म पुगे । भोटिङमा साथ नपाए पनि उनले थुप्रै श्रोता कमाए । भ्वाइस टिमले पनि साथ दिन छाडेन ।
उनलाई कतारमा भएको फिनालेमा प्रस्तुतिका लागि लगियो । उनको पहिलो विदेश यात्रा यही हो । त्यहाँ भ्वाइसमा प्रवेश गर्दाको ‘बल्छी काडैले…’ गीत गाएका थिए । पहिलोपटक स्टुडियोमा गीत रेकर्ड गराए । ‘साइलीरिमाई…’ गीत बजारमा ल्याए । उनी आफंैले ६ वटा गीत लेखेका छन् । रेकर्ड गर्ने अवसर पाएका छैनन् । सबै गीतको लय बेग्लै छ । भ्वाइसमा आउँदा गजलकार इन्द्रसुर बेल्टारेसँग संयुक्त लेखन रहेको बल्छी काडैले गाएका थिए । उनको हरेक गीतमा मौलिकता झल्कन्छ ।
सांरगीसँग बाल्यकालदेखिको सहयात्रालाई अघि बढाउने हिम्मत पलाएको छ । ‘काठमाडौं सपनाको सहर रहेछ, मसँग जुन कला–प्रतिभा छ, गाउँमा बसेर पूरा नहुने रैछ,’ संघर्षको यात्रा सुरुवात गर्ने पक्षमा पुगेका छन् उनी । लोकगीतलाई प्रवद्र्धन गर्ने योजना बनाएका छन् । आर्थिक अभाव झेल्दै आए पनि उनले काठमाडौंमा अवसरको खोजी र त्यसलाई सदुपयोग गर्न पछि नहट्ने प्रण गरेका छन् । सहयोगी मनहरूको साथमा सफलता हात पार्नेमा उनी विश्वस्त छन् ।
उनले दुई दशकको सारंगी यात्रामा दुई सारंगी फेरे । उनी अरू कामले कतै गए पनि सारंगी छाड्दैनन् । महिनामा एक/दुईवटा गाउने अवसर पाउँछन् । अरू समय खेतीपाती गर्छन् । संसारलाई नै मोहित पार्न सक्ने धुन र कला भए पनि गन्धर्वहरूले अवसर पाइरहेका छैनन् । त्यसैले दुई छाक टार्नै गाह्रो छ । सारंगी पनि लोप हुँदै छ । कलाअनुसार पारिश्रमिक छैन न त सरकारको ध्यान नै गएको छ । युट्युब र एल्बमको पहुँचमा छैनन् गन्धर्व । त्यसैले सारंगी रेट्ने व्यवसाय बढे पनि यसमा गन्धर्व घट्दो छ ।
तेजेन्द्रको घरमा सारंगीको माहोल थियो । अहिले पनि छ । उनका बुबा, आमा, भाइ र बहिनी पनि सारंगी रेट्छन् । घरैमा रमाइलोका लागि धुन निकाल्छन् । तेजेन्द्रका बुबा कर्ण गन्धर्व सारंगी बनाउने गाउँका एकमात्र व्यक्ति हुन् । गाएरै गाउँ डुल्ने चलन हट्यो । माओवादी द्वन्द्वकाल चर्किएका बेला दिउँसो गाउँदै डुले पनि राति बास नपाउने स्थिति थियो । सुरक्षाकर्मीले भेटे माओवादीको सुराकी भन्दै सजाय दिन्थे । माओवादीले भेटे आर्मीको सुराकी भनेर दु:ख दिन्थे । तेजेन्द्र आफंै थुप्रैपल्ट परेका छन् । यसले पनि गन्धर्वहरूलाई पलायन गरायो । बाटोमा बसेर गाउने र सारगी रेट्ने गन्धर्व परम्परा हो । पछिल्लो समय सन्देशमूलक गीतमा सारंगीको धुन चलिरहेको छ ।
लेखक कान्तिपुर दैनिकका लागि काठमाडाैंमा कार्यरत पत्रकार हुन् ।