किचकन्नि सँगको भेट

गाउँको अति बिपन्न परिवारमा मेरो जन्म भए थियो । बाबु र आमाले जिन्दगी भरि छोराको खोजि गर्ने हुदाँ क्रमश: हामी पाँच जना छोरीहरु जन्मेका थियौ ।  परिवारमा म भन्दा ठुली दिदी हुनु हुन्थ्यो र उहाँ पछिको म माहिली छोरी थिए । दिदी र मेरो उमेर चार बर्षको फरक थियो । दिदी अठार बर्ष पुग्ने बितिक्कै हलेशिको एक जना शिक्षक सँग उनको बिहे भयो ।

 

दिदीको बिहेको दिन  गाउँ वरिपरिका मानिसहरु बोलाएर राङ्गो, खसि र बङ्गुर काटेर गित गाउदै नाच्दै भोज खाएका अहिले सम्म मेरो मस्तिष्कमा ताजै थियो । उनको बिहेको दिन एक मनले खुशि थिए तर सधैको लागि बिदाई गर्नु पर्दा अति दुखित पनि थिए ।

 

दिदीको बिहे भएको अर्को बर्ष म पनि उहाँको घर हलेशि पुगेकी थिए । उनको घरमा दुई दिन बस्दा हलेशि, महादेबस्थानको दर्शन गर्न पाएकोमा ज्यादै प्रशन्न मुद्रामा थिए । आफ्नो घर छाडेर बाहिर बास बसेको त्यो नै मेरो पहिलो चोटि थियो । दिदीको बिहे भएको दुई बर्ष पछि उनी गर्भवती भएकी खबर सुनेर हामी खुशि भएको थियौ ।  परिवारमा छोरो नजन्मेकोले सायद नाती जन्मने होला भनेर बाबु आमा हामी भन्दा झन धेरै खुशि हुनुहुन्थ्यो ।

 

अषाढ पन्ध्रको त्यस दिन सिम खेतमा धान रोपेर घर फर्केको थियौ । बङ्गालको खाँडी बाट उत्पन्न भएको मनसुनको कालो बादल छिप्तीको आकासमा रातभरि मडारि रहेको थियो । मनसुनले गर्दा राती पानी पर्नु र मेघ गर्जनु बराबरि भै रहेको थियो । हामी दिनभरि खेतमा काम गरेर लखतरण परेको थियौ । त्यसैले बहिनीहरु सँग घर भित्र सबेरै सुतेका थियौ । अनि बाबु आमा चाँही सदा झै घरको तला माथि सुति रहनु भएको थियो ।

 

रातको समय त्यस्तै दुई बजेको हुनु पर्छ । अचानक मुल ढोका बाट मेरो नाम ‘मुना’ भन्ने अस्पष्ट आवाज मडारिदै मेरो कान सम्म आयो । भाते निन्द्रामा मिल्काएको एउटा बुढो ढिक्की झै मस्त सँग सुति रहेको थिए । कसैले मेरो नाम पुकारेको जस्तो आवाज सुनेर अलिकति चनाखो बने । केहि छिनमा दोश्रो चोटि ‘मुना’ भन्ने आवाज दोहरियो । त्यसरि दोहरिएर आएको आवाज दिदीको जस्तो लाग्यो । तर यस्तो रात बिचमा उनी कसरि आईन होली भन्ने सोचे । तै पनि ‘हजुर ! दिदी,’ भन्दै बिस्तारै उठे ।

 

घर भित्र निस्बन्द अध्याँरो थियो । हातले भित्ता छामछुम गर्दै मुल ढोका तिर लागे । अचानक मेरो स्वर सुनेर तला माथि बाट बाबुले ‘छोरी ! को हो ?’ भन्दै सोध्नु भयो । मैले उत्तर फर्काउन नपाउदै टर्चको सहायताले काठे भर्याङ बाट ढक ढक आवाज निकाल्दै मुनि तलामा झर्नु भयो ।

 

‘खै ! दिदीको जस्तै आवाज सुनेकी थिए ।’

 

त्यसपछि बाबुले एक्कै शब्द बोल्नु भएन । मैले मुल ढोकाको अगालो लाई बिस्तारै सारेर खोले । अनि हामी दुवैजना सँगसँगै बाहिर दलानमा निस्कियौ । रात भरि परेको पानी र मेघ गर्जन त्यति बेला रोकिएको थियो । त्यस्तो चकमन्न अँध्यारो रातमा टर्चको सहायताले आँगनको दायाँ बायाँ सबै तिर हेर्यौ तर हामीले केहि पनि देख्न सकेनौ । एक्कासि छिमेकिको पल्लो घरमा सानो बच्चा ङ्यार ङ्यार रोएको जस्तो आवाज सुनियो । तर त्यस घरमा कुनै बच्चाहरु थिएनन् । धेरै बर्ष अगाडि देखि ढाकिमे बजु एक्लै बस्दै आउनु भएको थियो ।

 

‘बाबु ! तपाईले पनि नानी रोएको आवाज सुन्नु भयो ?’ थोरै डराएर मलिन अनुहार बनाउदै मैले सोधे ।

 

मेरो प्रश्न सुनेर बाबुले मलाई एक झलक हेर्नु भयो । अनि टाउको हल्लाएर स्विकार गर्नु भयो । भयङ्कर ठुलो रात बिचमा चरण बध्द तरिकाले हुने नहुने आवाज आएको सुनेर मैले केहि पनि बुझ्न सकेकी थिईन । घर मुनि बारिमा गाई भैसिको बर्षे गोठ थियो । सायद बस्तु फुस्कियो होला भनेर टर्चको सहायताले गोठ तिर हेर्यौ । अरु बेला मज्जाले सुत्ने बस्तुहरु त्यसबेला जर्याक जुरुक उठि रहेको देख्दा निश्चय नै केहि भएको हुनुपर्छ भन्ने मेरो मनमा आशंका उत्पन्न भयो ।

 

छिप्तीमा औसीको सुनसान मेचक अँध्यारो रात थियो । कालो बादलले पुरै ढाकेको आकास गँगामा एउटै ताराहरु देखिएका थिएनन् । चकमन्न अँध्यारो रातमा दम्कु जङ्गलमा घुर घुर रास बिरात बाघ घुरेको आवाज यदाकदा सुन्न सकिन्थ्यो । हाम्रो घर मुनि एउटा बुढो बढहरको रुख थियो । त्यस रुखमा हरेक रात हुचिलले बास बस्थ्यो । त्यसरात हु-हु हुचिलको नरमाईलो आवाज हामीले क्रमश: सुनि रह्यौ । तर त्यस्तो शून्य रातमा हामीले केहि पनि देख्न सकेको थिएनौ । समय समयमा बिभिन्न प्रकारको आवाजहरु सुनेर बाबुले अनुहार मलिन बनाउदै मलाई हेरि रहनु भयो र मैले पनि उहाँलाई शँकालु दृष्टिले हेरि रहे ।

 

‘छोरी ! रात बिचमा हुचिलको त्यस्तो नरमाईलो आवाज अशूभको लक्षण हो ।’

 

बाबुले नियास्रो मान्दै त्यति बोल्नु भयो । मेरो उत्तरको प्रतिक्षा नगरि फेरि सुत्नको लागि तला माथि पस्नु भयो । घर बाहिर रहेको सौचालय प्रयोग गरेर म पनि सुत्न पसे ।

 

भोली बिहान उठेर धारामा पानी भर्न पशले खेत जादै थिए । जिम्मावाल काका सँग बाटोमा अचानक भेट भयो । ‘मुना ! बिहानै रित्तो गाग्री देखाईस, खबर राम्रो छैन् ?’ लामो सास तानेर दुखित हुदै सानो स्वरमा काका बोल्नु भयो । हाम्रो गाउँमा जिम्मावाल काकाको घरमा मात्रै टेलिफोनको सुबिधा थियो । हलेशि बाट एका बिहानै भिनाज्यूले काकालाई फोन गर्नु भएको रहेछ । सोमबार देखी दिदीलाई बच्चा जन्माउने ब्यथाले छोएछ । मङ्गलबार झन सार्हो सार्हो हुनु भएछ । बुधबारको बिहान दुई बजेतिर प्रसूतिज्वरले आमा र बच्चा दुवैको मृत्यु भएको दुखद खबर उहाँले सुनाउनु भयो ।

 

काकाको कुरो सुनेर त्यति बेला मेरा आँखा बाट बलिन्द्र आँसुका धारा बहि रह्यो । गत राती जुन समयमा दिदीले मलाई बोलाउदै गर्नु भएको आवाज सुनेको थिए । ठिक त्यँही समयमा उहाँको प्राण गएको रहेछ । तर उहाँको हँश उडेर हाम्रो घरमा आएको हुनुपर्छ भन्ने मैले मनमनै त्यतिबेला अनुमान लगाए ।

 

सुन्दर भविश्यको कल्पना गर्दै गर्दै नाती जन्मने आशा अचानक निरासामा परिबर्तन भएकोले मेरो परिवार झन दुखित बन्यो । दिदीको मृत्यु भएपछि अर्को बर्ष भेनाज्यूले उँभो खोला तिरको अर्कै केटी सँग बिहे गर्नु भएको खबर पनि हामीले सुन्यौ । दिदीको मृत्युले हाम्रो परिवारमा जति ठुलो क्षति बनायो तर भिनाज्यू लाई केहि पनि बनाएन । किनभने मेरी प्यारी दिदी भन्दा कलिली युबती सँग उहाँले बिहे गर्ने फेरि अबसर पाउनु भयो । उहाँले देखाउनु भएको त्यस्तो स्वार्थी ब्याबहारले पुरुषहरु प्रति किन किन मलाई इर्ष्या जाग्न थाल्यो ।

 

मेरो माध्यमिक बिधालयको पढाई सकेपछि कलेज पढन जिल्लाको सदरमुकाम दिक्तेल तर्फ गए । बजारको नजिकै एउटा सानो कोठा किरायामा लिएर बस्न थाले । मेरी आमाले समय समयमा केहि खानेकुरोहरु लिएर मलाई भेटनको लागि दिक्तेल आउने गर्नु हुन्थ्यो । मेरो त्यहाँ पढने बाहेक अन्य केहि काम थिएन त्यसैले छिप्तीमा भन्दा दिक्त्तेलमा धेरै रमाईलो जिन्दगी बिताई रहेको थिए । तर पटक पटक आमा दिक्त्तेल आउनु भएको बेला छोरी अब चाडै बिहे गर्नु पर्छ भन्नु हुन्यो । त्यो सुनेर मेरो मन घरि घरि बेचैन हुने गर्दथ्यो । किनभने राम्रो पढेर उज्वल भबिश्य निर्माण गर्ने मेरो आकाङ्क्षा लाई आमाले नष्ट गर्न खोज्दै हुनु हुन्थ्यो ।

 

दिक्तेलको बसाई लगभग एक बर्ष बिति सकेको थियो । आमा बाबुले मेरो बिहेको बिषयमा जे सुकै भने पनि बिहेको कारणले दिदीको जीवनमा घटेको त्यस्तो अपृय घटना सम्झदा मलाई तत्कालै बिहे गर्न रुचि थिएन । एक दिन शनिबारे हटिया भर्दै आमा दिक्त्तेल आउनु भयो । त्यसदिन आमाले म सँगै मेरो डेरामा बास बस्ने निधो गर्नु भयो । डेरामा बेलुकि मैले खाना बनाए अनि खाएर सुत्नको लागि तरखर गर्दै थियौ ।

 

‘छोरी ! पुष्पराजले तिमीलाई असाध्यै मन पराएको छ, अब बिहे गरौ है ?’ लामो समय सम्म मलाई हेरि रहेर अचानक आमाले मुख खोल्नु भयो ।

 

जमदार पुष्पराज पुर्व बेलायति सैनिक थिए । सैनिक बाट निबृत भएपछि उहाँले हाट डाँडामा एउटा ठुलो दोकान खोल्नु भएको थियो । खै कहाँ बाट घोडामा चढेर कुनै कुनै बेला दिक्तेल आउनु भएको मैले पनि उहाँलाई समय समयमा देखेकी थिए । तर त्यति ठुलो मानिस सँग मैले बोल्ने अबसर चाँही पाई हालेकी थिईन । तै पनि समय समयमा मात्र उहाँ दोकानमा आउने र जाने गर्नु हुन्थ्यो । उहाँको दोकानमा काम गर्ने मानिसहरु त्यस्तै छ-सात जना थिए होला ?

 

बेलुकि आमाको त्यस्तो कुरो सुनेर मलाई केहि बेर हासो उठ्यो । जिल्लाको नामुद धनाढ्य मानिस भनेर गनिए तापनि त्यति बुढो मान्छे सँग काँक्राको चिचिला जस्ती छोरी दिन खोज्ने आमाको बिचार कस्तो होला भनेर केहि बेर चिन्तित बनि रहे ।

 

‘कोहि नपाएर त्यस्तो बुढो सँग के बिहे गर्थे ?’ धेरै बेर सोचेर आमालाई रुखो जबाफ फर्काई दिए ।

 

त्यसपछि हामी सुत्नको लागि बिस्तारामा पस्यौ । तै पनि आमाले क्रमश: बकबक गरि रहनु भयो । उहाँ सँग प्रशस्त सम्पति छन् जिल्लाको सबैभन्दा धनि मान्छे हुन । तिमी बाचिन्जेल जमादार्नी भएर बस्छौ अनि उहाँको मृत्यु पछि पनि बेलायति निबृतिभरण पाउछौ । हामी जस्तो बिपन्न परिवारको लागि त्यो भन्दा अर्को बिकल्प के हुन सक्छ भन्दै भन्दै आमा बल्ल बल्ल सुति जानु भयो ।

 

दिक्त्तेलमा धेरै दिन, रात, हप्ता र महिना बित्दै गयो । घरमा धेरै छोरीहरु भएकोले आमा बाबुले कुनै पनि मुल्यमा छोरीहरुको चाँडो चाँडो बिहे गरि दिने योजना बनाई रहनु हुन्थो । उहाँहरुको कुरो सुनेर कुनै कुनै बेला हामी छोरी मान्छेको जिन्दगी प्रति घृणा उत्पन्न हुन्थ्यो । मैले बिहे गरिन भने बहिनीहरुको लागि बिहे गर्न असहज परिस्थितिको सिर्जना हुन्छ भनेर जब्बरजस्ति गरि रहनु भएको थियो । आमा बाबुको हृदय नदुखाउनको लागि मेरो समकालिन युबक सँग बिहे गर्ने रहर त्यागेर आफु भन्दा बिस बर्ष जेठो जमदार सँग बिहे गर्न म राजी खुशि भए ।

 

हिलो मैलो र झरि लाई बिदाई गर्दै बर्षा गयो र हिउँदको मौसम आयो । प्रकृति पनि कति पापिष्ट हुन्छ, सबै सुखेर दिक्त्तेलको वरिपरि हरियो भन्ने चिज देखिन छाड्यो । त्यस्तो उजाड समयको एक दिन टेम्के बाट आएको सिरेटोले बिहानै देखि बजारलाई आक्रमण गरि रहेको थियो । पाँच-छ जना मान्छेहरुको साथमा दुई वटा घोडाहरु लिएर जमदार साहेब म डेरा गरेर बसेको ठाउँ माटिकोरेमा मलाई लिन आई पुग्नु भयो । आखिर म जमदारको घर जाने नै भए भनेर हिजो बेलुकि नै सर समान तयार पारेकी थिए । जमदार आउने बितिक्कै उहाँको सहयोगि हरुले मलाई घोडामा चढन सहयोग गरे । जिन्दगीमा पहिलो चोटि घोडा चढदै थिए त्यसैले धेरै डर लागि रहेको थियो ।  घोडा चढेपछि अगि पछि एक एक जना सहयोगि हरुको साथमा मैले सदाको लागि माटिकोरे छाडे ।

 

जिन्दगी भरि पालेका असँख्या रहरहरु सँग सँगै कोहि बेला घोडा चढदै र कोहि बेला झर्दै म उहाँको घर लिलिमा पुगे । हामी उहाँको घरमा पुग्दा केहि मानिसहरुले हाम्रो प्रतिक्षा गरेर बसि रहेका थिए । त्यस दिन उहाँको घरमा सानो भोजको पनि ब्यबस्था रहेछ । हाम्रो स्वागतका लागि भेला भएका गाउलेहरुले सानो भोजको खाना खाए पछि सबै आ-आफ्ना घर तर्फ लागे ।

 

‘जमदार महल’ लिलिमाको प्रख्यात तीन धुरे महलमा बेहुली भएर पुगेको दिन तिनै घरमा काम गर्न सघाउने एक परिवार कान्छा र कान्छी सँग मेरो परिचय भयो । त्यस घरमा कान्छा राईले गाई, भैसि र घोडाको हेर चाह गर्ने गर्दथे भने कान्छी राईनीले घर भित्रको सम्पुर्ण कामहरु हेर्ने गर्दथिन । कान्छा कान्छीको त्यस दिनको कर्तब्य पुरा भएपछि बेलुकि बैठक कोठामा हामी चारै जना भेला भएको थियौ ।

 

कोठाको दुई छेउमा बलेको लालटिनको मधुरो प्रकाशले कोठालाई थोरै उज्यालो बनाएता पनि कोठा भित्रको बाताबरण एकदम सुनसान थियो । सुनसान समयलाई बिथोल्दै जमदार साहेब बोल्न थाल्नु भयो ।

 

‘कान्छी ! तीन गिलास रक्सि लिएर आउ ?’

 

जमदार साहेबले बर्साएको हुकुम जमिनमा खस्न नपाउदै कान्छी भान्सा कोठामा एक लब्यले छाडेको तिर झै हानिएर गईन । मिलिक्कै तीन वटा गिलासमा भरि भरि रक्सी पल्टने किस्तिमा राखेर हाजिर जनाईन । रक्सि ल्याएर हामी तिनै जना बसि रहेको ठाउँ अगाडिको टेबलमा थपक थपक राखी दिईन । तीन वटा गिलासमा मात्रै रक्सि ल्याएकी मैले देखेपछि उनले चाँही रक्सि पिउदैनन् रहेछ भन्ने चाल पाई सकेकी थिए । मैले पनि त्यस उमेर सम्म मुखमा रक्सि पारेकी थिईन ।

 

‘मुना ! अब देखि तिम्रो हेर बिचार कान्छीले गर्ने छिन ।’

 

थोरै रक्सी मुखमा हालेर जमदार साहेबले कोठा थर्किने गरेर ठुलो स्वरमा बोल्नु भयो । उहाँको मुख बाट रक्सि ल्याउनु भने पछिको दोश्रो चोटि निस्केको त्यो बाक्याशँहरु मैले सुनेको थिए । तर उहाँको भनाई सुनेर हस वा हुन्न केहि पनि भन्न सकी रहेकी थिईन । त्यसैले केहि नबोलि गजधम्म त्यतिक्कै बसि रहेको थिए । जमदारको अगाडि कसैले मुख नखोले पछि दोश्रो चोटि कोठाको बाताबरण शान्त र शुसिल बन्यो । त्यस्तो सुनसान बाताबरणमा कान्छा र कान्छीको हृदय बिदारक गोठालो मुहारहरु लाई मैले पालै पालो नजर लगाई रहे । त्यसपछि, ‘अहिले सम्म रक्सि पिएकी छैन ?’ सुस्तरि हिडदै कान्छीको कानै नजिक पुगे अनि बिना साईनो मेरा भनाई राखे ।

 

‘जमदार्नी साहेब ! बिहेको पहिलो रात हो, त्यति चाँही पिउनु होला ?’ उनले आदरता साथ मलाई अनुरोध गरिन ।

 

उनको अनुरोध सुनेर चुपचाप बसि रहे । केहि बेर पछि कान्छीले नै फेरि मुख खोलिन, ‘जमदार्नि साहेब अब तला माथि तिर जाउँ है ?’ भन्दै उनी मेरो अगाडि अगाडि बाटो लागिन । मैले रक्सिको गिलास लाई नछोई त्यतिक्कै छाडि राखे । अनि बिरालो चालमा उनको पछि पछि लागे । तला माथि पुगेर भर्याङको दाहिने तिरको कोठा देखाउदै यो जमादार साहेबको सुत्ने कोठा हो, उनले सानो स्वरमा बताईन ।

 

घन्द्रङ्गै ढोका खोलेर कोठा भित्र पसिन र मलाई पनि भित्र बोलाईन । एउटा बिशाल कोठाको बिचौ बिच भागमा ठुलो पलङ थियो । पलङको दायाँ बायाँ दुई वटा ठुल्ठुला दराजहरु देखिन्थे । दराज सँग सँगै कोठाको एका पट्टि भित्तामा ‘प्वोईन्ट टु टु’ र अर्को भित्तामा ‘टुवेल्भ बोर’ राईफलहरु सजिएका थिए । तर ढोकाको शिरमा जमदार साहेबको जङ्गि पोशाकमा घोडा माथी राईफल समाति रहेको एउटा ठुलो तस्बिर थियो । कोठाका दायाँ बायाँ भित्तामा सजिएको राईफल र तस्बिरमा पनि राईफल देखिएकोले जमदार साहेब शिकार खेल्न रुचाउनु हुने रहेछ जस्तो मनमनै लाग्यो ।

 

‘जमदार्नी साहेब ! यो दाहिने पट्टिको दराज चाँही तपाईको हो ।’ दराज खोलेर त्यहाँ भित्रका लुगा फाटाहरु देखाउदै मैनाको जस्ति सुरिलो स्वरमा उनी बोलिन । म प्रथम चोटि त्यस घरमा पाईताला टेक्दै थिए तै पनि मेरो लागि त्यति धेरै लुगाफाटाहरु किनि दिएर राखेको देखेर केहि बेर ट्वाल्ल परेर हेरि रहे । त्यसपछि कोठा सँगै जोडिएको सौचालय देखाउदै बोलिन । ‘हरेक बिहान तपाईहरु उठे पछि म आएर यो पलङ मिलाउछु । त्यसपछि सौचालय आफै सफा गर्छु त्यसैले हजुरले केहि पनि गर्नु पर्दैन है ?’ सम्म भनिन ।

 

म उनको कुरोहरु सुनेर किमकर्तब्यबिमुढ भै रहे । समय बेलुकिको दश बज्नै लागेको थियो । अब हजुर पनि सुत्नको लागि तयार हुनु होला ? केहि बेरमा जमदार साहेब सुत्न आउनु हुनेछ भन्दै म सँग बिदा भएर बाहिर निस्किन । उनले कोठा छाडे पछि नजिकै रहेको कुर्सिमा त्यति बुढो मानिस सँग मैले कसरि जिन्दगी कटाउने होला भनेर सोच्तै बसि रहे । केहि बेरमा घन्द्रङ्गै ढोका खुल्यो र जमदार साहेबको शरिर म तर्फ बढदै आयो । उहाँको उपस्थितले मलाई थोरै डर भयो तै पनि केहि नबोलि सरासर कपडा खोलेर सुत्न लाग्नु भयो ।

 

बिस बर्षकी भर भरकी उमेरमा जिन्दगीको पहिलो चोटी एउटा बुढो मर्द सँग एउटै बिस्तारामा सँगै सुत्न भित्र भित्र आँट कस्दै थिए । त्यसैले मलाई हृदय भित्र बाट नै केहि हलचल पैदा भै रहेको थियो । उहाँ सुत्नु भएपछि, ‘मुना ! तिमी पनि सुत्ने होईन ?’ भन्दै छोटो प्रश्न गर्नु भयो ।

 

उहाँको भनाई सुनेर केहि हर्ष, उमङ्ग र त्राश सगँ सँगै बिस्तारै सिरक उचालेर सुत्न पसे । सिरक भित्र पसेको केहि बेरमा उहाँका उरन्ठेउला हातहरु बिस बर्षे शरिर भरि चल्न थाल्यो । ‘जे खोजेको थिईस, त्यहि पाईस,’ भन्दै महान अज्ञानताका धनी बने र उहाँको सम्पुर्ण रहरहरु पुरा गर्न मेरो शरिरलाई खुला छाडि दिई रहे । बर्षौ अगाडि देखिको भोका हातहरुले सुस्तरि सुस्तरि मेरो बस्त्रहरु बिदाई गरि पठाए । त्यसबेला एउटा बुढो मानबको नग्न शरिर पनि त्यति रापिलो हुने रहेछ भन्ने मैले जिन्दगीमा पहिलो चोटि अनुभव गर्दै थिए ।

 

बेहुली भएर जमदार महल पुगेको पहिलो रात नै हामी दुई जनाको कामोतेजक शरिरहरु एक आपसका घमसान युध्द बाट एक भएका थिए । मैले जिन्दगी भरि पालेको कुमारीत्व तिनै बुढो मानिस लाई बिना दिलचश्पी समर्पण गरि दिए । भिषण योध्दाको जस्तो थकित, क्लान्त र शिथिल उहाँको शरिरले केहि छिनमा नै खुत्रुक्कै पल्टेर निन्द्रा देवीको शरण लियो । तर मलाई चाँही त्यतिबेला मेरी दिदीको यादले केहि चिन्ता र पिडाको नजिकै पुर्याई रह्यो ।

 

कमल फुल जतिकै आरामदायी पलङ माथि आरामले सुति रहेको भएता पनि मलाई तिखा फलामे काढा माथि सुते झै मेरो मनमा घोचि रह्यो । किनभने हाम्रो त्यो हर्कतले अचानक गर्भ बस्यो भने मेरो पनि दिदीको जस्तै हालत हुन्छ होला भन्ने एका तिर डर भै रह्यो । यदि गर्भाधारण गरे भने आजैको दिन देखि मेरो पनि मृत्युको दिन गन्ति सुरु होला कि भनेर पुरै शरिर केहि बेर काँपि रह्यो ।

 

जमदार महल लिलिमामा कुमारित्व नष्ट भएको पहिलो रात म निश्लोट निन्द्रामा थिए । अधिकतम बर्षाको कारण सम्पुर्ण महाबरे डाँडा नै बग्दै झरेको पहिरोले हाम्रो छिप्तीको घर बगाएको सपना देखेर खन्द्रङ्गै झस्के । त्यस दर्दनाक रातको बेला घर भित्र आमा, बाबु र मेरी प्यारी बहिनीहरु सुति रहेकै अबस्था थियो । दिदीलाई त पहिले नै बिदाई गरि सकेको थिए अब सबै परिवारको अन्त्य एक्कै चोटि भयो भन्ने डरमर्दो सपना देखेर म अतालिदै बिस्तारा बाट उठे । त्यसपछि ‘हे भगवान ! कस्तो सपना देखे ?’ भन्दै सिरक मिल्काएर पलङ बाट बाहिर निस्के ।

 

अचानक म झस्कदै उठेको जमदार साहेबले चाल पाउनु भयो । र सिरानि नजिकै राखेको टर्च बालेर मलाई हेर्नु भयो । टर्चको उज्यालो प्रकाशले एकजना निरभिमान मर्दको अगाडि नग्न अबस्थामा रहेको मेरो सुन्दर छाती टलल टल्कदै उहाँको नयनमा पर्यो । जीवनमा पहिलो चोटि नाङ्गो भुङ्गो भएर एकजना मर्त्य सँग सुति रहेकी थिए । तै पनि त्यतिबेला म नाङ्गै थिए भन्ने कुरो चाँही मैले बिर्सीएकी थिए । करुणामय मेरो अबस्था देखेर मलाई धेरै लाज र थोरै डरले एक्कै चोटि छोप्यो । त्यसैले हतार हतार बिस्तारा भित्र पसि हाले ।

 

भोलि बेलुकि हाम्रो कोठामा अलिक चाँडै पुगेको थिए । कोठामा पस्ने बितिक्कै एक्कासि कालो बर्कि ओढेर सौचालय तिर फर्कि रहेकी एउटी बुढि आईमाई मान्छेको जस्तो मैले आकृति देखे । उनी सौचालय तिर फर्कि रहेकी भए पनि बङलङ्गै छाडेकी लामो लामो केसरासि लाई मैले पिछाडि बाट राम्ररि नियालेर हेरे । तर उनी एक्कै छिनमा बिस्तारै हिडदै हिडदै सौचालय भित्र पसिन र त्यतै बिलय भईन । उनलाई त्यस्तो अबस्थामा देखेपछि म मुनि तलामा झरेर कान्छी लाई बताए । जमदार्नी साहेब घरमा त्यस्तो देखियो भने केहि असुभ हुन सक्छ सम्म उनले भनिन ।

 

बिहे गरेर त्यस महलमा पुगे पछि केहि पनि काम नगर्नु है भन्ने मैले आदेश पाएको थिए । त्यसैले तिनै आदेशलाई पालन गर्दै केहि नगरि चुपचाप बसि रहेको हुन्थे । दिउसोको खाना खाएर बार्दलिमा बसेर बगैचाको वरिपरि पहेलपुर पाकेका लटरम्म सुन्तलाहरुको रमाईलो दृश्य हेरि रहे । सुन्तला बगैचाको छेउ छाउ तिर सयकडौ बर्ष पुराना ठुल्ठुला सल्ला र सखुवाका रुखहरुले छाडेका अक्सिजन मज्जाले लिए । तिनै प्रकृतिको आकर्षक छाति माथि मन्त्रमुग्ध भएर डुबि रहेको बेला मेरो नजिकै जमदार महलका दुई वटा कुकुरहरु खेल्न आई पुग्यो । मलाई त्यतिबेला हाम्रो घरको खैरे कुकुरको यादले खुबै सताई रह्यो ।

 

काला पथ्थर बाट हिउ पग्लेर अबिरल बहि रहने स्वच्छ पानीको सुनकोशी नदीको सिधा माथि डाँडामा जमदार महल अबस्थित थियो । त्यँही बाट तल सुनकोशी र साप्सु नदीको सँगमलाई मैले धेरै लामो समय सम्म हेरि रहेको हुन्थे । तिनै नदीहरुको सँगम स्थलको दाहिने तिर उकालो बढदै बढदै क्षितिज सँग ठोकिएको उजाड भुमी मुलडाँडा देखिन्थ्यो । तिनै पङ्खर मुलडाँडामा धागोको धर्सो जस्तो नाख ठोकिने एउटा ठाडो गोरेटो थियो । तिनै गोरेटोमा लामो समय सम्म हिडि रह्यो भने मेरी माईती गाउँ छिप्ती सम्म पुर्याउदथ्यो ।

 

त्यस बेलुकि पनि वा हिजोको जस्तै आकृति देखा पर्ने होकी भनेर डराउदै डराउदै म कोठा भित्र पसे । कोठा भित्र पस्ने बितिक्कै मैले हिजो देखेको ठाउँमा आज फेरि उनलाई दोश्रो दिन पनि देखे । आज पनि हिजोको जस्तै उनको अनुहार सौचालय तिर फर्कि रहेको थियो । तर थोरै फरक चाँही उनको दाहिने हातमा एउटा लामो छुरि देखिन्थ्यो । मैले दोश्रो चोटि देखेकीले हिजो भन्दा अलिक सम्यम हुदै –

 

‘तिमी को हौ ? र मेरो कोठामा किन आयौ ? उनलाई डराउदै डराउदै मैले सोधे ।

 

‘यो मेरो कोठालाई तिम्रो कसरि भयो ? खबरदार ! यो कोठामा तिम्रो हैकम चल्ने वाला छैन ? तिमी जति जति मेरो नजिक आउछौ, मृत्युको नजिक पुग्छौ ।’

 

म भन्दा अझ उनी चर्को स्वरमा बोलिन । मृत्युको चेतावनि मुलक त्यस्तो भनाई सुनेर मेरो टाउको फुलिएर आयो । मेरा खुट्टाहरु थरर कापे र कोठामा ‘कान्छी’ भनेर बेस्सरि चिच्याए । म अतालिदै चिच्याएको सुनेर जमदार साहेब दगुर्दै तला माथि आउनु भयो । उहाँ कोठा भित्र पस्नु र म कोठा बाट बाहिर निस्कनु एउटै समय भयो ।

 

म दगुर्दै मुनि तलामा झरे । भान्सा कोठामा पुगेर कान्छी लाई यथार्थ कुरो बताए । कान्छीले मेरो कुरो सुनि सकेपछि उनी बोल्न थालिन ।

 

आज भन्दा तीन साल पहिले शाकेला पर्ब मनाउन कान्छा र म एक हप्ता हाम्रो गाउँको घर चुईचुम्मा गएको थियौ । घरमा जमदार साहेब र ठुली जमदार्नी साहेब मात्रै हुनु हुन्थ्यो । हामी फर्केर आउदा ठुली जमदार्नी साहेबको अचानक मृत्यु भएको हामीले थाहा पायौ । उहाँको मृत्यु भएपछि घरमा पटक पटक तर्साएर हामीलाई दुख दिई रहनु भयो । जमदार साहेबले चुईचुम्माको प्रख्यात किराती बिजुवा धामी बसाएर उहाँको चित्त बुझाउने प्रयत्न गर्नु भएको थियो । उहाँको मृत्यु सँग त्यति बेला सम्म पनि ठुली जमदार्नी साहेब पटक्कै खुशि छैन भनेर बिजुवाले भनेका थिए ।

 

‘अनि के भएर उहाँको मृत्यु भएको थियो ?’ असाध्यै धेरै डराई रहेकी थिए र थोरै सशँकित हुदै मैले प्रश्न गरे ।

 

‘खै ! त्यो त आजसम्म कसैलाई पनि केहि थाहा छैन । तर उनको मृत्यु भएको बेला ड्याम ड्याम आवाज गरेर दुई चोटि राईफल पडकेको टुक्रे खोला पारीको गाउँ टेम्मा सम्म पनि सुनिएको थियो रे । म यतिका बर्ष सम्म यँही घरमा बसेको छु तर मैले आजसम्म उनलाई देखेकी पनि छैन । आ….जे सुकै होस आखिर उनी मरेर पनि गई हालिन र सायद किचकन्नि भै सकिन होली ? त्यसैले सानी जमदार्नी साहेब ! अब केहि हुने वाला छैन ।’

 

 

 

अक्सफोर्ड, बेलायत

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार