
सप्तकोशीस्थित किरात इतिहास, सम्भ्यता र साँस्कृतिसंग जोडिएको खुवालुङ (ढुंङ्गा) फुटाउने सरकारले गरेको योजना नागरिक प्रतिरोधको बलमा तत्काललाई रोकिएको छ । रेल र पानीजहाजकाबारे लगातार पैरवी गर्दै आएको सरकारले सप्तकोशीको वीच भागमा रहेको खुवालुङले बाधा पर्ने भन्दै हटाउने अड्डी लिएपछि किरात समुदायहरु आन्दोलित र आक्रोशित बन्दै आएका छन । सरकारको खुवालुङ हटाउने कार्यान्वयन भए किराती इतिहासको अलिखित अभिलेख र आस्थाको केन्द्र मानिने यो ढुंगो पुरानै स्वरुपमा नरहने खतरा बढेको छ । खुवालुङ हटाउनका लागि प्रदेश सरकारले बजेट नै विनियोजन गरिसकेपछि त्यसको देशव्यापी रूपमा प्रतिरोध र विरोध भइरहेको छ । तत्काललाई खुवालुङ फुटाउन अघि बढ्ने सरकारी कदम रोकिए पनि सरकार पछि भने हटेको छैन । खुवालुङ हटाउनका लागि सरकारी तवरबाट क्रेन लगाएर खुवालुङ सार्ने, खुवालुङको केही भाग सारेर पर्यटन प्रवर्द्धन गर्दै कार्यक्रम अगाडी बढाउने र नदीको बहावलाई परिवर्तन गर्ने जस्ता विकल्पहरु अनौपचारिक रुपमा उठेपनि औपचारिक छलफलहरु भने भएको छैन । खुवालुङ हटाउन सरकारको तयारीको विरोध लगायत खुवालुङ सम्बन्धित बिषयमा करिव २० बर्ष त्रिभुवन विश्व विद्यालयको मनोविज्ञान केन्द्रीय विभाग कीर्तिपुरमा प्राध्यापन गर्नु भएका किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिका पुर्व अध्यक्ष तथा सामाजिक अभियन्ता डाक्टर सुमाया राईसंग सिलिचुङ अनलाइनका लागि किरण राईले गरेको कुराकानीको सारसंक्षेप प्रस्तुत गरिएको छ ।
१. सरकारले सप्तकोशीको खुवालुङ (ढुङ्गा) फुटाउने योजनालाई किरात समुदायहरुको प्रतिरोध र विरोध चर्को उठेको छ, विरोध चर्को उठनको कारण के देख्नुहुन्छ ?
सरकारले भोजपुर, धनकुटा र उदयपुरको त्रिवेणी माँझ अवस्थित किराती धर्मावलम्बीहरूको धार्मिक, सांस्कृतिक महत्व बोकेको र मुन्धुममा प्रयोग भै रहने पवित्र ‘खुवालुङ’ ढुङ्गालाई चतराघाटदेखी भोजपुरसम्म पानीजहाज आवत–जावतको लागि बाधकको रूपमा चित्रण गरिदिदाँ किरात मौलिक धर्म र संस्कारप्रति आस्था राख्ने जो कोहीलाई आघात पुगेको छ । त्यसमाथि उक्त ‘खुवालुङ’ क्रेन लगाएर फुटाउने र त्यसका लागि सरकारी बजेट विनियोजन भै सकेको कुराले सरकारले समस्त किराती समुदायप्रति राख्ने विभेदपुर्ण रवैयाको पर्दाफास भएको छ । यस प्रसंगले समस्त किराती समुदायलाई दु:खी र आक्रोशित बनाएको परिणाम स्वरूप यसको चौतर्फी विरोधको चर्को स्वर उठनु स्वाभाविक हो ।
२. कतिपय यसलाई सामान्य ढुङ्गाको रुपमा लिएर विकास योजनालाई अवरोध गर्नेको रुपमा अथ्र्याएको छ । यसप्रति तपाईको धारणा के छ ?
म किराती कुलमा जन्मेको र मेरो धर्म र संस्कारले खुवालुङ (ढुङ्गा)लाई ज्यादै उच्च स्थानमा राख्दछ । किराती बाहेकका व्यक्तिहरुलाई यो एक सामान्य ढुङ्गा लाग्न सक्छ तर मेरो किराती संस्कारले उक्त ढुङ्गालाई आफ्नो अस्तित्वको आरम्भ र मृत्यु संस्कारमा आवश्यक रूपले पुकारिनु, स्मरण गर्नु पर्ने भएकोले मेरा लागि र मेरो समुदायको लागि त्यो संधै सिरोपर रहन्छ ।
३. खुवालुङ फुटाउनका लागि प्रदेश सरकारले बजेट विनियोजन नै गरिसकेको छ । देशव्यापी रुपमा सरकारी तयारीको प्रतिरोध भएपछि तत्काललाई खुवालुङ फुटाउने सरकारी कदम रोकिएको मात्रै छ । सरकार पछि हटेको छैन । यदी सरकारले नफुटाई नछोडन भएमा किरात समुदायहरु कसरी अगाडी बढछ ?
यस खुवालुङलाई जोगाउनु विभिन्न सरोकारवाला समुह संगठित हुदै जानु अतिआवश्यक छ । किरातजन्य संघसंस्थाहरूको ठुलो भुमिका हुन आँउछ । दवाबमुलक कार्यक्रमहरुको साथसाथै खुवालुङ के हो ? किराती समुदायबीच यसको महत्व के छ ? यावत कुराहरू विभिन्न माध्यमबाट बुझाउँदै लानु पर्दछ । कतिपय महत्वपूर्ण सम्पदाहरू अज्ञानतावश पनि विनाश हुन सक्ने सम्भावना रहन्छ । त्यस हुनाले सरोकारवाला संगसंगै गैरकिरातीहरूको पनि साथ सहयोग उतिकै आवश्यक हुन्छ । कोशीमा पानीजहाज चलाउन केही व्यापारी मनोविज्ञानका महानुभावहरूले खुवालुङ फुटाउने सुझावका साथ सरकारसंग आफ्नो पहुँच बनाएका होलान । अब सरकार समक्ष हाम्रो पक्ष दृढ़ताका साथ बुझ्ने गरिराख्न सक्नु पर्दछ । नागरिक समाज, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, विद्वानदेखी जनसाधारणलाई यस प्रति स्पष्ट जानकारी, सचेतना र आवश्यक सर–सहयोगको अपिल गर्नु अतिआवश्यक ठान्दछु ।
४. खुवालुङको बिषयमा सरकारले केही विकल्पलाई अगाडी ल्याएको छ । एक ढुङ्गालाई क्रेनले अन्यत्र सार्ने अर्को र अर्को पानीको वहावलाई नै परिवर्तन गर्ने कुरालाई ल्याएका छन । यसबिषयमा सबै किरात समुदायहरुको सर्वस्वीकार्यता हुन्छ हुदैन ?
सरकारले तीनवटा विकल्पहरू छलफलमा ल्याउने कुरा सुनिन्छ : क्रेन लगाएर खुवालुङ सार्ने, खुवालुङ्गको केही भाग मात्र सारेर पर्यटन प्रवर्द्धनतर्फ कार्यक्रम अगाडी बढाउने र तेस्रो विकल्पको रूपमा उक्त नदीको बहावलाई परिवर्तन गर्ने । मेरो व्यक्तिगत विचारमा यो तिनै विकल्पहरू उचित हुदैनन । तिनैवटा विकल्पहरूले किराती समुदायको सांस्कृतिक, पौराणिक र धार्मिक आस्थामाथि खेलवाड़ गर्ने सम्भावना रही नै रहन्छ । खुवालुङमाथि कुनै छेड़छाड़ नगरी जुन अवस्थामा अहिले छ त्यस्तै अवस्थामा राखेर धार्मिक, सांस्कृतिक र पर्यटकीय विकासको पुर्वाधार तयार गर्न सकिन्छ । खुवालुङ भनेको कुनै मानव निर्मित संरचना नभई प्राकृतिक प्रदत्त आस्थाका धरोहर भएकाले छेड़छाड़ गर्नु भनेकै यसको मौलिकतामाथि प्रहार गर्नु हो । मुलत: खुवालुङको संरचनालाई यथास्थितिमा नै राखेर संरक्षण र यसको संवर्द्धनमा लाग्नु श्रेयस्कर हुन्छ । यसो गर्दा यसले एक वृहत परियोजनाको रूप लिन सक्छ । यस परियोजनालाई मुर्तरूप दिनका लागि एक अल्पकालिन र दीर्घकालिन रूपमा प्राविधिक एवंम् सांस्कृतिक कार्ययोजना तयार गर्नु अतिआवश्यक छ । सरकार, सम्बन्धित सरोकारवाला संघसंस्थाहरू, समुदाय र स्थानीयहरू समेतको राय, सल्लाह र सुझावलाई समेट्न अतिउत्तम हुन्छ ।
५. यदी खुवालुङ फुटाउन नदिने हो भने पानीजाहाज चलाउने सरकारको योजना अधुरै रहन्छ । योजना अधुरो हुनु भनेको विकास निमार्ण नुहुन हो ? यसले विकासलाई नराम्रो असर पार्ने देखियो नी ?
पानीजहाज चलाउनको निम्ति खुवालुङ नफुटाई विकासको काममा बाधा पुग्छ भन्ने कुरामा सहमत हुन सकिन्न । यो एक कुतर्क मात्र हो जस्तो मलाई लाग्छ । बरू खुवालुङ संरक्षण पनि हुने र पानी जहाजको निरन्तरता दिनका लागि दुवै कुरालाई इमान्दारीका साथ सही व्यवस्थापन गर्न सकियो भने यसबाट आपसी भाईचारालाई नखलबलाई सम्बन्धित समुदाय लाभान्वित हुने नै छ साथै स्थानीय स्तरलाई र अन्तमा राज्यलाई सामाजिक, धार्मिक, आर्थिकरूपमा समृद्धिलाई टेवा पुग्ने देखिन्छ ।
६. यदी खुवालुङ पुरानै अवस्थामा नरहने हो भने किराती इतिहासको अलिखित अभिलेख र आस्थाको केन्द्र नै समाप्त हुन भनिएको छ । यसको संरक्षणको लागि के सोचिरहनु भएको छ ।
किराती संस्कार र संस्कृति भित्र एकप्रकारको मौलिकता छ । जो समुदायको पहिचान र गर्वको विषय पनि हो भने अर्को तर्फ यो राज्यको लागि पनि गर्वको विषय हो । परापुर्वकालदेखि धामी, नाक्छोङ, माङपा, मुन्धुमविदहरूले मौखिक रूपमा प्रयोग गर्दै ल्याई रहेको मुन्धुम र रिसियाहरू माँझ जीवन्त रहेको खुवालुङको महिमा प्रति हामी सबै ज्यादै संवेदनशील हुनु आवश्यक छ । अन्यथा खुवालुङको अस्तित्व संकटमा पर्ने शत् प्रतिशत देखिन्छ । प्रत्यक्ष वा अप्रत्यक्ष सरोकारवाला सबैलाई सजग र संवेदनशील बनाउन एकदम जरूरी छ संगसंगै राज्यपनि उतिकै संवेदनशील र सहयोगी भुमिकामा हुनुपर्छ ।
७. खुवालुङको संरक्षणका लागि किरात समुदाय के अन्तर्गत रहेको विभिन्न जातीय संघसंगठनहरुले खासै महत्व नदिएको भन्ने आम गुनासो छ नी , यसप्रति के भन्नु हुन्छ ?
यस्ता गुनासोहरू सुनिएका छन तर त्यो खासै सत्य हो जस्तो लाग्दैन । खुवालुङ संरक्षण गर्नका लागि किरात समुदाय बेखवर छैनन । किरात राई यायोक्खा केन्द्रीय कार्य समिति नेपालले ‘खुवालुङ संरक्षण समिति’ गठन गरेको छ र उक्त समितिले विभिन्न निकायमा आफ्नो कुरा पुर्याई रहेको अवस्था छ । यस अलावा विभिन्न सरोकारवाला समुह, नागरिक अगुवाहरू जस्तै – लेखक साहित्यकार राजन मुकारूङको संयोजकत्वमा एक दिने यस प्रसंगमा गोष्ठी सम्पन्न गरेको छ । किरात राई पत्रकार संघ, किरात राई विद्यार्थी संघले संयुक्त रूपमा अभियान चलाई रहेका छन, विभिन्न सञ्चार माध्यमहरूले साथ दिरहेका छन, विभिन्न राजनीतिक पार्टीका प्रतिनिधिहरू, किरात इतिहासकार, अनुसन्धानकर्ता, विद्वानहरूले आ–आफ्नो तवरले अध्ययन, अवलोकन र पैरवी गरिराख्नु भएकै छ । तर यतिमा मात्र प्रयासहरू सीमित भएमा अपेक्षाकृत सफलता प्राप्त नहुन सक्छ । अत: सबै शक्तिहरू मिलेर एकसाथ अगाड़ी बढ़नु पर्छ र खुवालुङ संरक्षणका लागि निरन्तर आवाज बुलन्द गर्नुपर्छ । समय, श्रम र विवेक सबैलाई उचित उपयोग गर्दै अगाडी बढ़नुपर्ने हुन्छ ।
८. खुवालुङजस्ता किरात सभ्यता, संस्कार, इतिहास र आस्थासंग जोडिएका धेरै प्राकृतिक सम्पदाहरु संरक्षणका लागि सरकारी तवरबाट त ध्यान पक्कै दिएको पाइदैन । तर स्यमं समुदायहरुले पनि संरक्षणका लागि चासो दिएको पाइदैन नी ?
किरातकाललाई इतिहासमा स्वर्णकालको रूपमा लिइन्छ । तर ज्यादै दुखको कुरा के छ भने अहिले खोज्ने हो भने किरातकालिन ऐतिहासिक धरोहर वा अवशेष हामी पर्याप्त मात्रामा र प्रष्ट रूपले पाउन सक्दैनौ । यस्तो हुनुको मुलकारण किरातकालिन इतिहासको खोज अनुसन्धानप्रति विज्ञहरूको उदासिनता रहेको र राज्यले पनि त्यता खासै चासो नदिएको अवस्था छ । अर्को महत्वपूर्ण कारणको रूपमा विभिन्न कालखण्डमा किरातकालिन अवशेषहरूको पर्याप्त संरक्षणको अभाव, भएका अवशेषहरू पनि तहस– नहस पारिनु, कतै राज्यले त कतै व्यक्तिगत तवरले अतिक्रमणमा पारिनु । ज्वलन्त उदाहरण– ललितपुर जिल्लामा अवस्थित ‘च्यासल ‘ र ‘ पटुको दरबार ‘अतिक्रमण यसैगरी भोजपुर जिल्लाको ‘हतुवागढ़ी’ र खोटाङ जिल्लाको ‘मझुवागढ़ी’ अतिक्रमणमा पारिनु । यस्ता अनेकौं उदाहरण छन जहाँ विगतका किरातजन्य मुर्त र अमुर्त सम्पदाहरूको वर्तमानमा विनाश हुँदै गएको छ । यसप्रति समयमै सम्बन्धित सबैको ध्यान जानु अतिआवश्यक छ । साथै सरकार र सम्वन्धित निकायको ध्यानाकर्षण गराउन अतिआवश्यक छ । संघीय गणतन्त्र नेपालको संविधानमा राज्य धर्मनिरपेक्ष, समतामुलक र समावेशी चरित्र निर्दिष्ट गरेको हुनाले राज्य सबै धर्मावलम्बी, क्षेत्र, समाज र व्यक्तिप्रति बराबरको व्यवहार गर्न सक्नु पर्दछ । र यही मर्म माथि टेकेर राज्यले सम्पुर्ण किराती समुदायको साझा आस्थाको केन्द्र खुवालुङलाई उपयुक्त संरक्षण र संवर्द्धनको लगि भुमिका खेल्न सक्नु पर्दछ । कोशीमा पानी जहाजपनि चल्न दिनमा कुनै व्यवधान खड़ा गर्नु हुन्न तर, त्यसका लागि खुवालुङलाई एक इन्चपनि क्षति पुर्याउन नहुने पहिलो शर्त हुनु पर्दछ । सामाजिक र राजनीतिक आम सहमति बनाएर निर्णायक तवरले अगाडी बढ़नुको अब बिकल्प छैन । एकतामा बल हुन्छ भन्ने तथ्यलाई आत्मसात गर्दै देश–विदेशका किराती समुदाय लगायत गैरकिराती समुदायको पनि उतिकै साथ हुनु जरूरी छ । राजनीतिक प्रतिबद्धताको महत्वलाई नकार्न सकिदैन । हामी सबै मिलेर यस महान कार्यमा सहभागी बन्नु पर्छ ।







