“खुवालुङ”

तिमीले बाटैको ढुङ्गा उठाएर
रातो अबिर धसेर भगवान
उद्घोष गर्दियौ
मैले धुपपाती चढाएर चोखो मनले
लम्पसार परेर ढोगेकै थिए
तिमीले परिचय गराएका तेत्तिस
कोटी देउता स्वीकारी
तर
मेरो युग सभ्यताको एक ईतिहासको
साक्षी ‘खुवालुङ्’लाई किन
देख्छौ सिर्फ एउटा अकडो
निर्जीब पत्थर ??
बाहिर स–सम्मान र सह–अस्तित्व
नाराको बिगुल फुकेर सत्ता–मालिकको
सौदा गरेर
भित्रभित्रै सकुनी चालले
आफ्नो एकात्मक शक्ति बिस्तार गरी
मेरो ईतिहासलाई,मेरो अस्तित्वलाई
नामेट पारी
म हरुलाई आफ्नै भुमिमा बिरानो बनाउने
कपटी खेल किन खेलिरहन्छौ तिमी ??
तिम्रो आँखाको कसिङ्गार
बनेको
खुवालुङ
मेरो आँखाको नानी हो
मेरो युग सभ्यताको साक्षी हो
तिम्रो नजरमा एउटा निर्जीब पत्थर होला
तर त्यो मेरो पुर्खाहरुको सजिव पवित्र
आत्मा हो
सदियौदेखी नदिको बहावको ठक्कर सहेर
जसरी अटल अचलसिर ठाडो पारेर उभिरहेछ
मेरो खुवालुङ
र पुस्तौनि हामीलाई दिइरहेछ आशिर्बाद
त्यसरी अटल र अमर छ हाम्रो
आस्था र विश्वास पनि…
खुवालुङ मेरो पहिचान हो
मेरो अस्तित्व हो
सारा जिवनको सार हो
खुवालुङबाट सुरु भई
खुवालुङमै बिलिन हुन्छ मेरो आत्मा
हिज खुवालुङले जसरी चिनायो
मेरो अस्तित्व
त्यसरी नै भोली चिनाउनुछ
मेरा भावी पिँढीहरुलाई
खुवालुङ बिना
अपुरो हुनेछ
हाम्रो जीवन
खुवालुङ बिना
रित्तो हुनेछ
हाम्रो आत्मा
शरीरलाइ दिएको चोट सहन सक्छौ
तर आत्मालाई कदापी !
बिचारलाई ठेस पुर्‍याएको सहन सक्छौ
आस्था र बिश्वासलाई कदापी !!!
त्यैसले
खवरदार !!
मेरो आत्मालाई
मेरो आस्था र विश्वासलाई
मेरो अस्तित्वमाथि छेडखानी गर्ने
दुस्साहस नगर्नु
अब म हरु ले एकै स्वरमा
ललकार दिनेछन तिमीलाई
खुवालुङलाई छोएर त हेर !!!!!!

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार