‘विभेदपूर्ण कुसंस्कार र कुरीतिहरु नै मेरो लेखनको स्रोत’

शान्ति लिम्बु युवा पुस्ताहरु माँझ शसक्त लेखन र साहित्य सिर्जना गर्नेमा पर्छिन । सानै उमेर, स्कुल पढदादेखि नै साहित्य सिर्जना र लेखन शुरुवात गरेकी लिम्बु सबैका लागि परिचित नाम हुन । आशावादी जीवनको पर्याय उनको लेखन विशेषता हो । लिम्बुले मिलीजुली उपन्यास र दर्जनौं कविता, कथा र गीतहरु लेखिसकेका छन । बेलायतमा बसेर नेपाली भाषा, लेखन र साहित्य सिर्जना गर्दै आएकी उनले देश बाहिर वसेर पनि नेपाली भाषा र साहित्य सिर्जनाको उत्थान र विकासमा योगदान दिदै आएकी छिन । नेपाली भाषासंगै अंग्रेजी भाषामा पनि उनी उत्तिकै दख्खल राख्छिन । नेपाली भाषासंगै अंग्रेजी भाषा लेखनको माध्यमबाट नेपाली साहित्य सिर्जनालाई विश्वमा चिनाउने योजना बनाएका शान्तिले बेलायतमा नेपाली भाषा, साहित्यलाई जीवन्त बनाउन प्रयास गरिरहेकी छिन । कथा, उपन्यास, कविता र गीत लेखेर कलम चलाउदै आएकी शान्ति लिम्बुसंग सिलिचुङ डटकमका लागि किरण राईसंग गरिएको कुराकानीको प्रस्तुत अंश ।

 

१.लेखन र साहित्य सिर्जनां गर्ने हिसावमा हाल के गर्दे हुनुहुन्छ ?

 

धेरै व्यस्त दिनचर्या भए पनि प्रत्येक दिन जसो लेखन र साहित्यमा समय छुट्टाएको छु । हाल म मेरो दोस्रो आख्यानको तयारीमा छु । साहित्य सिर्जनामा म बाँचिन्जेल लागि रहने हो । साहित्य सिर्जनालाई निरन्तरता दिने हेतुले विश्व नेपाली साहित्य महासंघ पश्चिमा शाखा बेलायतमा पनि आबद्ध भएकी छु, जहाँ प्रत्येक तीन महिनामा त्रैमासिक गोष्ठी हुन्छ र विभिन्न नेपाली साहित्य सिर्जनाहरु वाचन कार्यक्रमहरु पनि राख्दै आएका छौ ।

 

२. तपाईको लेखन र साहित्य आम पाठक समक्ष संख्यामा कति आइसके ?

 

म स्कूल अवस्था हुदाँ लघु कथा, कविताहरु पत्रपत्रिकाहरुमा छपाउनु खुबै मन लाग्थ्यो । मासिक पत्रिका जस्तै मुना पत्रिका, गोर्खा अवाज आदिमा पाठक सामु पुग्दा धेरै कुरा गरे जस्तो लाग्थ्यो । विस्तारै पत्रपत्रिकामा छपाउने हुटहुट्टी घट्दै गयो.। मेरो डाइरी मै प्रकाशन नभएका कविता–गीतहरु छन् । आफुले लेखेको सिर्जनाहरु आफैलाई अलिक निखारिएको जस्तो लाग्दैन । अहिले म संख्यामा भन्दा गुणस्तरमा विश्वास गर्छु । आख्यानमा एउटा उपन्यास पाठक सामु आइसकेको छ । ढिलै गरौ तर अर्थपूर्ण हुने काम गरौ भन्ने मेरो सोच छ ।

 

३. लेखन साहित्यमा कसरी लाग्नुभयो ? के कारणले लेखन साहित्यमा लाग्ने उत्प्रेरणा जाग्यो ?

 

कला साहित्य मलाई असाध्यै मनपर्छ । मलाई थाहा भएको उमेरदेखि नै अरुले लेखेको सृजनाहरु, लेखहरु पढ्न रुचाउथे र आफुले पनि लेख्न प्रोत्साहित हुन्थे । त्यो बेलामा लेखन–साहित्यलाई पनि जीवनको एक अभिन्न पाटो बनाउछु होला जस्तो लागेन । जब बुझ्दै गए, धेरै शक्तिशाली साहित्यकारहरुको सिर्जनाहरु पढ्दै गए, अनि मैले महशुस गर्दै गए, साहित्य त आफ्नो भोगाई, व्यक्तिगत अन्तरआत्माका भावनाहरुलाई सृजनात्मक रुपले पस्कन मात्र हैन रहेछ, साहित्य त जीवन र जगतको ऐना रहेछ । जसको माध्यमबाट हरेक पाटो जस्तै सामाजिक, राजनीतिक, शैक्षिक, सांस्कृतिक, संसारका प्रकृतिदेखि हरेक अभिव्यक्तिहरुलाई कलात्मकपुर्ण छर्लङ्गै देखाउन सकिने रहेछ ।
संसारभर रहेको बिशेष गरि नेपालमा देखिएको विभेदपूर्ण नियम–कानुन, कुसंस्कार र कुरीतिहरु नै मेरो लेखनका प्ररेणाका स्रोत हुन् । लेखन–साहित्यमार्फत सम्बोधन गर्न नसकिएका ओझेलमा पारिएका मुद्दाहरुलाई होस् या कु–संस्कारहरुको होस या विभेदहरुको बिरुद्घमा सौन्दर्यपूर्ण भाषाका माध्यमले कलात्मक रुपमा जनमानसमा पुर्‍याउन सकिने एउटा सशक्त माध्यम भएकाले साहित्यमा लागेको हुँ ।

 

साहित्य त आफ्नो भोगाई, व्यक्तिगत अन्तरआत्माका भावनाहरुलाई सृजनात्मक रुपले पस्कन मात्र हैन रहेछ, साहित्य त जीवन र जगतको ऐना रहेछ । जसको माध्यमबाट हरेक पाटो जस्तै सामाजिक, राजनीतिक, शैक्षिक, सांस्कृतिक, संसारका प्रकृतिदेखि हरेक अभिव्यक्तिहरुलाई कलात्मकपुर्ण छर्लङ्गै देखाउन सकिने रहेछ ।

४. तपाईको लेखन र साहित्य सिर्जनामध्ये कुन चही रुचिकर र प्राथमिकताको बिषय हो ?

 

हरेक विधा उतिकै राम्रा र महत्वपुर्ण छन् तर मेरो आख्यान बढी रुचिकर विधा हो । उपन्यासमा कुनै पनि बिषयलाई राम्रोसंग विस्तृत रुपमा उठान गर्न सकिन्छ । सामाजिक बिषयबस्तु नै प्राथमिकतामा रहने छ भने बिशेष महिलाहरुको अवस्था र महिलाहरुले भोग्नुपरेका सामाजिक, नीतिगत एबम अप्ठ्याराहरु नै मेरो प्राथमिकताको बिषय हो । आफु स्वयं् महिला भएकाले पनि होला नारीहरुको बिषयमा मेरो गहिरो अध्ययन र अभिरुचि रहेको छ । वास्तबमै महिलाहरु नेपालमा मात्र होइन संसारभर नै विभेदपूर्ण जीवन व्यतित गरिरहनु परेको अवस्था छ । चन्द्रमा लगायत विभिन्न उपग्रहमा पुग्ने हैसियत बनाएको भनेर जति ठुला कुराहरु गरे पनि महिलाहरुमाथि हुने विभेदलाई हटन सकेका छैन ।

 

५. तपाईको लेखन र साहित्य सिर्जनामा कुन कुराले प्राथमिकता पाउँछ ?

 

मेरो लेखनमा जीवन र जगतकै बिषयमा निराशावादी कुराले भन्दा बढी आशावादी कुराहरुले नै प्राथाकमिता पाउँछन जसले जनमानसलाई उर्जा मिलोस साथ साथै सन्देशमुलक पनि रहोस ।

 

६. बेलायतको बसाई त्यसमध्ये व्यस्त जीवनको बाबजुत पनि लेखन र साहित्य सिर्जना गर्न कसरी समय व्यवस्थापन गरिरहनु भएको छ ?

 

बेलायत जहाँ दिनमा मात्र होइन रातमा पनि उतिकै व्यस्त हुने ठाउँ हो । बालबालिका र बृद्धबृद्धाहरु बाहेक प्राय यहाँ सबै मानिसहरुले काम गर्छन । कामपछि बाँकी रहेको समयलाई सदुपयोग गर्ने हो । म पनि त्यै हो । समयलाई भरसक उपयोग गर्छु । आफैमा अनुशासित हुने गर्छु ।

 

७. पछिल्लो समय बेलायतमा नेपालीहरुको सघन बसोबास बृद्धि भएसंगै नेपाली लेखन र साहित्य सिर्जना गर्नेहरुको भीड बढदै गएको अवस्थामा नेपाली भाषा, लेखन र साहित्य सिर्जनाको अवस्था कस्तो छ ?

 

करिव एक लाख ५० हजार नेपाली यहाँ बसोबास गर्छन । नेपालीहरुको जनघनत्व बढे संगै अनगिन्ती संघसंस्थाहरु स्थापना भएका छन । हुने क्रम जारी छ । त्यसमा साहित्यीक संघसंस्थाहरु पनि धेरै छन् । प्राय साहित्यीक संस्थाहरुले साहित्यीक कार्यक्रम आयोजना गर्छन । यसलाई म एकदमै सकारात्मक रुपले हेरेकी छु । बेलायतको कथाकारहरुको कथा र बेलायतमा नेपाली कवि र कविता प्रकाशित भैइसकेको छ । यसले नेपाली भाषा, लेखन र साहित्यलाई ठुलो योगदान पुर्‍याई रहेको छ । जसरी दार्जिलिङका नेपाली स्रष्टाहरुको महत्वपुर्ण भुमिका रहेको छ, नेपाली भाषा, कला र साहित्य सिर्जनामा ।

 

करिव एक लाख ५० हजार नेपाली यहाँ बसोबास गर्छन । नेपालीहरुको जनघनत्व बढे संगै अनगिन्ती संघसंस्थाहरु स्थापना भएका छन । हुने क्रम जारी छ । त्यसमा साहित्यीक संघसंस्थाहरु पनि धेरै छन् । प्राय साहित्यीक संस्थाहरुले साहित्यीक कार्यक्रम आयोजना गर्छन । यसलाई म एकदमै सकारात्मक रुपले हेरेकी छु ।

 

८. नेपाली भाषा, कला र साहित्य सिर्जनामा दार्जिलिङका नेपाली स्रष्टाहरुको महत्वपुर्ण भुमिका रहे जसरी बेलायतका नेपाली स्रष्टाहरुले कालान्तरमा त्यसरी नै योगदान दिन सक्ने हैसियत राख्ने कतिको देख्नुहुन्छ ?

 

म त अहिलेको अवस्थालाई हेर्दा बेलायतबाट पनि दार्जिलिङ्गका नेपाली स्रस्टा पारिजात जस्ता स्रस्टा अनि गोपाल योञ्जन जस्ता रचनाकारहरु धेरै जन्माउन सक्ने सम्भावना देख्दछु ।

 

९. लेखन र साहित्य सिर्जना गर्दाको तपाईलाई अनुभुति कस्तो हुन्छ ?

 

सिर्जना जुन बेला पनि फुर्न सक्छ, कहिले टि.भी हेरिरहेको बेला, कहिले काम गरिरहेको बेला, कहिले कुनै दृश्य, घटनाहरु देख्दा वा कसैलाई देखिन्छ जब त्यसलाई लेखेर उतार्छु अनि छुट्टै आनन्द आउँछ जसको म बयान गर्न सक्दिन ।

 

१०. मिलिजुलीपछि अरु आख्यान लेख्नुभएको छ की छैन ?

 

दोश्रो आख्यान लेख्दै गरेको तिन वर्ष भैसक्यो । अब हेरौ कहिले सकिन्छ. म त्यस्तो हतारमा पनि छैन । लेखनलाई निरन्तरता दिदै जाने छु ।

 

११. लेखन र साहित्यको हिसावमा भावी योजनाहरु के के छन ?

 

मिलिजुलीको अडियो तयारी हुदै छ । दोश्रो आख्यान वाहेक कविता–गीतहरु लेख्दै साहित्यलाई निरन्तरता दिदै आएकी छु ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार