आफन्त अनि आत्मीयता

 

 

बदला लिएर होईन बदलिएर हिसाब चुक्ता गर्दै छु
नाम मात्रका केहि थान छेपारे आफन्तहरुसँग !
जुन हिसाब भौतिक होईन मन भित्र अंकुरित भएर पुष्पन हुन खोज्दै गरेको भरोसा, प्रेम र भ्रमको तरलता हो !
आफन्तसँग मैले जित्ने खेल खेल्नु छैन, उनीहरु खेल्दै गर्छन्
मलाई मैसँग खेल्नु छ, मलाई नै जित्नु छ !

मैदानमा धेरै खोजे, बगरमा बोलाए, अन्धेरीमा छामि हेरे
न हारमा आए, न त जितमा रमाए, शिर्फ चुपचाप थिए,
न हाँसेको देखेर कहिल्यै खुशी भए,
न त दुःख–निराशामा कतै भेटिए !

म विवाहको मण्डपमा आउने पाहुना र आर्यघाटमा आउने मलामीको फरक बताउँदै थिए
उनीहरुले दुवैलाई मान्छेको जमघट मात्र सम्झिने क्षमता राखे !
चुरोटको धुवाँ र दियोको दिपमा भिन्नता सम्झाए
तर उनीहरुले दुवैलाई शिर्फ आगो मात्र सम्झिए,
आखिर हामीमा फरक यही थियो !

उनीहरु आत्मीय न हिजो थिए, न आज छन् , भोली समयले बताउँला !
यो ध्रुवसत्य मान्यता त होईन उनीहरुको सोचको अपरिवर्तित पराकाष्ठा हो !
म सधै वास्तविकता, आफ्नोपन र सत्यको लाईनमा हिड्ने कोशिसमा थिए र हिडिरहेको छु

जुन अलि तीतो, खस्रो तर भित्र–बाहिर पारदर्शी थियो !
तर उनीहरुको बाटो क्षणिकता, छलकपट, झुट, देखावटी र स्वार्थको घेरामा थियो ,
जुन पलभरको खातिर सुगन्धित र सुन्दर हुन सक्थियो जसको लागि विवेक र यथार्थलाई दागबत्ती दिएर सम्भव थियो !

वर्तमान पनि उस्तै छ फगत समय फेरिएको छ !
म र उनीहरु बीच यही भिन्नता छ !
म आफैंलाई खोज्दौ टाढा गए उनीहरु भागेको सम्झिएर रमाए
आफ्नोपन खोज्दै नजिक आए आत्मसमर्पण सम्झिएर हौसिए !

उनीहरु यथार्थमा आफन्त नै थिए तर अनुभूतिमा आफन्तपन महशुस हुन मौसम अनुकूलको सट्टा परिवर्तनको सिकार भयो !
त्यहि भएर उनीहरु र मेरो मनको दुरी रबर तन्किए झैं तन्कियो !
सम्बन्ध, आफ्नोपन, माया, सद्भाव शुरुवात नहुदै समाप्त भयो !

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार