नरेश काङमाङ समकालीन नेपाली साहित्यका फरक विधाको अध्येताको रुपमा चिनिन्छ । भोजपुरको टेम्के मैयुङ–४ नागी स्थायी घर भएका काङमाङ अहिले बेलायतको लण्डनमा बसोवास गर्दै आएका छन । बाल्यकालदेखि नै कविता लेखनमा सक्रिय काङमाङ पुर्व वेलायती सैनिक समेत हुन । बेलायती सैनिक जीवनमा रहँदा उनले युद्ध कविता लेखन शुरुवात गरेका थिए । जसबाट उनले युद्धकविता सिर्जना गरे र युद्ध कविता विधालाई स्थापित गरे । युद्ध कवितासंगै काङमाङले वहुविधामा समेत कलम चलाउदै आएका छन । उनले युद्ध कवितासंगै धेरै कथा, उपन्यास र लेख रचनाहरु लेखेका छन । यतिबेला काङमाङ कथा लेखनमा व्यस्त छन । समसामयीक बिषयमा कलम चलाउने उनी आख्यान विधालाई विशेष महत्व दिदै आएका छन । पहिचान पुरस्कारको जन्मदाता समेत हुन काङमाङ । काङमाङ बेलायतस्थित विभिन्न सामाजिक कार्यहरुमा समेत उतिकै क्रियाशिल छन । बुहविधागत क्षेत्रमा समेत कलम चलाउदै आएका युद्धकवि नरेश काङमाङ युद्धकवितालाई विश्व सामु परिचित र स्थापित गर्न लागेका छन । यही पेरीफेरीमा युद्धकवि काङमाङसंग किरण राईले गरेको कुराकानी प्रस्तुत अंश:
हिजो आज केमा व्यस्त हुनुहुन्छ ?
युद्ध कथा संग्रहको लागि तयारी गर्दैछु र समानताको गोर्खा आन्दोलनलाई बौद्धिक रुपमा टेवा पुगोस् भन्ने आशाका साथ केहि खोजमुलक आर्टिकहरु समय समयमा लेखिरहेको छु ।
युद्ध साहित्यको एक अभियान्त, तपाई कविता र आख्यानमा कलम चलाईरहनु भएको छ ? आफुलाई कवि भन्न मन पर्छ या लेखक ?
मेरो साहित्य लेखनको शुरुवात कविताबाट भएको हो । पछिल्ला केहि बर्षदेखि विशेष गरेर युद्ध सम्बन्धि उपन्यास र कथाहरु लेख्ने प्रयासरत छु । मैले यहि हुँ भन्दापनि पाठक र तपाईहरुले भनि दिने विषय हो जस्तो लाग्छ ।
युद्ध साहित्यमा कलम चलाउने सोच कसरी आयो ? र युद्ध साहित्य भनेको के हो ? बास्तविक युद्ध साहित्यलाई कसरी परिभाषित गर्नुहुन्छ ?
नेपाली युद्ध साहित्य सम्बन्धी धेरै लेखक, कविहरुले अघोषित रुपमा कलम चलाउँदै आएका थिए । विशेष गरी बृटिश सेनामा आवद्ध भएका लाहुरेहरुले युद्ध साहित्य लेखनमा सकृयता देखाईरहेको अवस्था पनि थियो । जब र अप्जसे कान्छाको लाहुर घरमा उपस्थित भयो । उहाँले युद्ध साहित्यलाई एउटा आन्दोलनको रुपमा लैजानु पर्ने धारणा राख्नु भयो । पटक–पटक हामी विचमा छलफलहरु भए । मिजास तेम्बे जीको घरमा हामीले अन्तिम निचोड निकाल्यौ । रक्ष राई र उहाँ “नव चेतना आग्रह” तिर लाग्नु भयो । अप्जसे र म घोषित रुपमै युद्ध साहित्य सम्बन्धि अवधारणा पत्र र कविताहरु संकलनगरी “युद्धमा हराएको प्रेम” नामक पुस्तक सार्वजानिक ग्यौ । त्यसपछि गणेश राईसंग मिलेर हामी तीन जनाले फेरी अर्को कृति प्रकाशन ग्यौ । यसरी सार्वजानिक रुपमा युद्ध साहित्यलाई आन्दोलनको रुपमा शुरु ग¥यौं ।
युद्ध साहित्य एउटा पहिचानको आन्दोलन पनि हो । यो मानेमा कि २०३ बर्ष अघिदेखि वेलायती सेनामा कार्यरत लाहुरेहरुको पहिचान के हो ? राष्ट्रियता के हो ? जस्ता प्रश्नहरु नेपाल र वेलायत दुवै ठाउँमा उठिरहेको अवस्था पनि हो ।
युद्ध साहित्यको परिभाषा पुरै यहाँ अटाउन नसकिएला । युद्ध विध्वङस मात्र हैन निर्माण पनि हो । युद्ध सार्वभौम सम्पन्न राष्ट्रको रक्षार्थ वा राष्ट्रको अस्थित्वलाई भौगोलिक रुपले वढवा गर्न र कुनै अर्को राष्ट्रसंग लड्नु युद्ध हो । कुनै पनि विचार र सिद्धान्तको वरीपरिरहेर युद्ध लडिदैन ।
छोटकारीमा युद्ध तिन प्रकारका हुन्छन्, युद्ध अघि (प्रि वार), युद्धमा (रियल वार), युद्ध पछि (पोस्ट वार) । युद्धले पारेका नराम्रा, राम्रा प्रभावहरुको विषयमा लेखिएका साहित्य नै युद्ध साहित्य हो ।
युद्ध आफैमा राम्रो मानिन्दैन । तर तपाईले युद्धका कुराहरु लेखी रहनुभएको छ । तपाईले लेख्नु भएको युद्धका कुराहरुमा सर्वसाधारणले कस्तो सन्देश लिने ?
मानव सभ्याताको विकाश क्रममा, दास युगको शुरुवातसंगै युद्धको शुरुवात भएको देखिन्छ । युद्धले नकरात्मक शिक्षा मात्र दिदैनन् । युद्धले चेतनाको विकाश गराउँछ । दोस्रो विश्व युद्धमा जापानको हिरोसिमा र नागासाकी ध्वास्त मात्र भएन निर्माण पनि भयो । युद्ध साहित्य लेखन युद्धको पक्षपाती मात्र होईन । युद्धमा भएका राम्रा र नराम्रा पक्षहरुलाई युद्ध साहित्यमा समेटेर लेखिने गरिन्छ । त्यसैले युद्ध साहित्य आम मान्छेकोलागि चेतनाको जग पनि हो ।
तपाई पुर्व बेलायती सैनिक समेत हुनुहुन्छ ? सैनिक जीवनमा रहेकाले नै यस्ता सृजना आएको हो भन्न कतिको सकिन्छ ?
पुर्व सैनिक भएको कारणले युद्ध साहित्य लेखनमा सकृय रहँदै आएको धेरै अर्थमा सहि हो ।
सैनिक जीवन र साहित्य क्षेत्र फरक विधा हो । तर पनि तपाईले सैनिक जीवनबाट युद्धसाहित्यमार्फत आफुलाई परिचित गराउनुभयो ? कसरी सम्भव भयो ?
वेलायती सेनामा भर्ती हुन अगाडी साहित्यको विधार्थी नै थिए । सेनामा आवद्ध भएर पनि साहित्य लेखनलाई निरन्तरता दिईरहे । युद्धसाहित्य नेपाली साहित्यमा नयाँ विषय हो । युद्ध साहित्य मार्फत आफुलाई परिचित गराएको केहि मात्रमा सहि होला तर उत्पिडनको पक्षमा पनि कलम चलाउँदै आएको हुँ भन्ने लाग्छ । लेखनबाट सांस्कृतिक आन्दोलनलाई टेवा पु¥याउँदै आएको पनि हो । निरन्तरता र सकृयताले सम्भावनाको अपेक्षा गर्ने हो ।
तपाई पहिचान पुरस्कारको संस्थापक समेत हुनुहुन्छ । पहिचान पुरस्कार कस्तो पुरस्कार हो ?
उ. पहिलो विषय नेपाली राजनीतिमा पहिचानलाई जातीवादको विल्ला लगाईयो । तर पहिचान जातीवाद होईन । बंश निरन्तरताको राजनीति र रहेक क्षेत्रमा हस्तक्षेप चाहि जातीवाद होला । नेपाली राजनीतिमा मात्र हैन प्रज्ञा प्रतिष्ठानमा पनि जातिवादको निरन्तर हुँदै आएको छ । जसरी पहिचान शब्दलाई गाली गरियो आम रुपमा । साहित्यको माध्यमबाट केन्द्रीकृत साहित्य लेखनलाई सच्याँउने अभियान पनि हो । हजार बर्ष अघिदेखि भारतमा लेखिएको साहित्यलाई कपि पेष्ट गरे जस्तो हो नेपाली साहित्य । त्यो प्रकारको नेपाली साहित्य लेखनको अभ्यासलाई मात्र गजबको खाँटी नेपाली साहित्य भन्ने बुझाई छ । तर नेपाली साहित्यको मौलीकता के त ? भन्ने प्रश्न आउँछ । बिभिन्न जात जातीहरुको संस्कृति र उनीहरुले भोग्दै आएको जीवन नै नेपाली साहित्यको मौलिकता होला । नेपाली साहित्यको मौलिकतालाई बचाएर लाने अभियान हो पहिचान पुरस्कार । यो अभियानले मात्र नेपाली साहित्य विश्व साहित्यमा पु¥याउन सकिन्छ भन्ने आश पनि हो ।
पहिचानलाई धेरैले जातीवादको रुपमा पनि व्याख्या गर्छन् । त्यसैले पनि तपाईले स्थापना गर्नुभएको पहिचान पुरस्कारलाई जातीसंग जोडेर धेरैले व्याख्या गर्ने गर्छन् । यसमा तपाई के भन्नुहुन्छ ।
माथी पनि भनियो पहिचान शब्दको विषयमा । पहिचान भनेको जातीवाद होईन । एउटा बिषयको उठान गरौ, गायत्री मन्त्रले के को ब्याख्या गर्छ ? त्यो आम नेपालीलाई बुझाउन र प्रष्ट्याउन सके त्यो सबैको मन्त्र हुन सक्छ तर त्यसको ब्याख्या अरुलाई नगरिदिए त्यो सीमित धर्मलम्बी र जातीले मात्र बुझ्छन् । त्यसको केन्द्र जात हुन्छ । म राई भएकोले मुन्दुमको ब्याख्या अन्य समुदायलाई पनि गर्नु पर्दछ । यदि गरिएन भने त्यो कम्युनल हुन्छ । त्यो जातीवाद हुन्छ होला । जो कम्युनल रुपमा राष्ट्र चलाउँछ, कम्युनिटि मान्दैन उसले लगाएको गलत आक्षेप हो । एउटा उदाहरण हामीले राजन मुकारुङको फेरिँदो सौँदर्यलाई पहिचान पुरस्कार प्रदान गर्दा कृतिका लेखक मुकारुङलाई किरात संस्कार अनुसार फेटा लगाई दियौ । किन कि उहाँ किरात राई हुन् । पोहोर साल यज्ञशको भुईयालाई पुरस्कार दिदाँ पण्डितहरुबाट गायत्री मन्त्र पाठ गराई ताम्रपत्रमा पशुपति नाथको नक्शा बनाई यज्ञशलाई दियौ । किन कि यज्ञशजी ब्राह्मण हुन् । अब जातीबाद भनेको के हो ? काष्ट प्लस ईजम् ईजिकलटु कास्टिजम् हुन्छ ? कुतर्क गर्नेहरुले जे पनि भन्छन् । कुतर्कको जन्म बिना तर्कको अस्तित्व रहँदैन । ति कुतर्कहरुलाई सलाम र सम्मान छ ।
तपाइले प्रकाशन गर्नुभएको सिर्जनाहरु विशेष गरेर युद्धलाई जोड दिनुभएको छ । विशेष गरेर युद्धसाहित्यलाई विश्वमा परिचित गराउने योजना लिनुभएको छ । विश्व मानचित्रमा युद्धसाहित्यको अवस्था के छ ? अव कस्तो बनाउने लक्ष्य लिनुभएको छ ?
सन् १८५३ देखि १८५६ क्रिमियन युद्ध भयो । त्यहि समयबाट विश्वमा युद्ध साहित्य लेखनको शुरुवात भएको पाउन सकिन्छ । सन् १८५४ मा वेलायतका कवि लोर्ड टेनिसनले “द चार्ज अफ द लाईट ब्रिगेड” शिर्षकको कविता लेखे । त्यो वेला देखि युद्ध साहित्य लेखनको शुरुवात भयो । विश्वमा युद्ध साहित्य लेखन निरन्तर रुपमा भईरहेको छ । सन् २०११ मा नरेश काङमाङ राईको “वार ईज लाईक टियर्स” कविता “हिरोज” कविता संग्रहमा समावेश भयो । २०१५ मा “फियरलेस वरिवर” प्रकाशित भयो । केहि मात्रमा सेलीङ पनि भयो । वेलायतको कमरसियल प्रकाशन हाउस ओलमपियाले प्रकाशन गरेको कृति हो । उक्त कृति “जेम्स टाईट ब्लाक बुक प्राईज्” कोलागि नोमिनेसन पनि भएको थियो । वेलायतमा ब्यक्तिगत नोमिनेसनमा पठाउँन पाईन्दैन । प्रकाशन हाउसले मात्र पठाउँन पाउँछन् । यो त भयो मेरो कुरो ।
सन् २०१२ मा मार्क ओएनले “नो ईजी डे” लेखे । ओसामा विन लादेनलाई ड्रोन एटेक्ट गरी मारेको विषयमा लेखेका छन् । सन् २०१२–२०१३ मा वेस्ट सेलीङ भयो । जुन पुस्तक प्रकाशन भएको पहिलो हप्तामा २,५३,००० प्रति सेल भयो । लेखकले रोयल्टी ६.८ मिलीयन अमेरिकन डलर पाएको थियो । तर उक्त रोयल्टीमा अमेरिकाले हस्तक्षेप ग¥यो । अब योजना चाहि एउटा कथा संग्रह अंग्रेजीमा निकाल्ने रहेकोछ ।
तपाईले हाल कथा लेखन गर्दै हुनुहुन्छ । अहिले लेख्दै गर्नुभएको कथा युद्धसम्बन्धी नै हो ?
तपाईले भन्नु भएको विलकुल सहि हो ।
बाँकी जीवन लेखनमा कसरी विताउने योजना बनाउनुभएको छ ?
पहिले रहरमा लेख्न थालियो । त्यसपछि एडिक्सन जस्तो भयो । अहिले आएर दायित्व पनि भएको छ । त्यसैले वाँकी अवकाश प्राप्त घाईते जीवन लेखनमा नै विताउँने छु ।