
भोजपुर जिल्लाको पश्चिमी भेगमा अवस्थित टेम्केमैयुङ गाउँपालिका विकासको दृष्टिकोणले जिल्लाको अब्बल स्थानीय तहमध्ये एक हो । प्राकृतिक, साँस्कृतिक, आर्थिक, पर्यटकीय हिसाबले पनि यो गाउँपालिका अन्य ९ स्थानीय तहमा अगाडी छ । शिक्षा, स्वास्थ्य, खानेपानी जस्ता क्षेत्रमा पनि राम्रै लगानी गरेको यस गाउँपालिकामा टेम्के भ्यू टावर, मुन्दुम ट्रेल जस्ता महत्वकांक्षी विकासे आयोजना पनि सञ्चालनमा छन् । गतबर्षमात्रै गाउँपालिकाले ‘उज्यालो गाउँपालिका’ घोषणा गरेर अँध्यारोमुक्त बस्ती बनायो । जुन एक उदाहरणीय कामको थालनी गरेको छ । समुन्द्री सतहदेखि ३३ सय मिटर उचाईको मैयुङ, टेम्केडाँडा क्षेत्र जिल्लाकै पर्यटकीय हब बन्दै गईरहेको छ । जैविक विविधताले सम्पन्न यहाँ अधिकांश राई जातीको बाहुल्यता छ । किँराती मुन्दुमी संस्कृति संस्कारले गर्दा अनेकौँ भाषिक, धार्मिक र जातीय विविधता पाईन्छ । तर पछिल्लो एकवर्ष कोरोना भाइरसको महामारी लकडाउनका कारण निकै विकासे योजनाहरु सोचेअनुरुप अघि बढ्न सकेनन् । गाउँपालिकाको विविध समसामायिक विषयबस्तुमा आधारित रहेर गाउँपालिका अध्यक्ष ध्रुवराज राई संग सिलिचुङ अनलाइन डटकमका प्रधान सम्पादक प्रदिप चन्द्र राईले गरेको कुराकानीः
१. दोश्रो चरणको लकडाउन सुरु भएसंगै गाउँपालिकाको काम कसरी अघि बढिरहेका छन् ?
अघिल्लो लकडाउनमा पनि विकासे काममा बाधा आउँदा आउँदै पनि हामीले कामहरु सम्पन्न ग¥यौँ । यसचोटि पनि यस्तै आपत आउँछ भनेरै हामीले अगाडीदेखि नै विकास निर्माणका कामलाई तीव्रता दिएर काम सम्पन्न गर्ने र भुक्तानी दिने तयारी छौँ । जुन रफ्तारले यो आर्थिकवर्षका कामहरु पनि जेठ मसान्तभित्र सक्ने प्रयासमा छौँ ।
२. पहिलो चरणको लकडाउनमा कोभिड रोकथामका लागि गाउँपालिकाका के ग¥यो ? अहिलेको कोरोना भाइरस रोकथामका लागि कस्तो तयारी गरिरहेको छ ?
पहिलो कुरा त नागरिकले आँफै सचेत हुन जरुरी छ । भिडभाडमा नजाने, मास्क लगाउन, स्वास्थ्य सुरक्षा नागरिक स्वयम्ले अपनाउनुपर्दछ । गतवर्षको कोरोनामा नेपाल सरकारले तोकेबमोजिम जनप्रतिनिधी, कर्मचारीको भत्ता कटाएर कोभिडको आपतकालिन कोषमा जम्मा ग¥यौँ । गाउँपालिकाले आईशोलेसन, क्वारेन्टाइन व्यवस्थापनका लागि पनि बजेट विनियोजन ग¥यो । र यो दोश्रो लहरको कोरोना भाइरस जोखिम न्यूनीकरणका लागि ५ शैयाको आइशोलेसन, गाउँपालिकाको खाली भवनहरुमा क्वारेन्टाइन व्यवस्थापन गरेका छौँ ।
३. लकडाउनमा कृषि क्षेत्र लगानी कस्तो रह्यो ? मलको आपूर्ति कस्तो भयो ?
बजेट अपुगका कारण कृषि क्षेत्रमा हामीले थोरै मात्रामा बजेटिङ ग¥यौँ । योवर्ष भने हामीले कृषकका लागि मौरीपालन, अदुवाखेती तालिम गरेका छौँ । यस्तै गाउँपालिकाभर सुन्तला, किवी, कागतीका बेर्ना वितरण गरेका छौँ । गतसाल हावाहुरी मकैबालीमा ठुलो क्षति पुगेका वडा नं १ तिम्माको सुम्लिखा, सावा, पाङखाङ, खम्बुखा क्षेत्रका करिब ४ सय घरधुरीलाई राहतको व्यवस्था ग¥यौँ । गतवर्ष देशभर कृषि मलको हाहाकार मच्चिएका बेला हामी समय अगावै किसानलाई मल वितरण गरेकाले समस्या भएन । यो वर्ष पनि समयमै मलको आपूर्ति गरिएको छ ।
४. कृषि, शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधारका काममा गाउँपालिकाको बजेटिङ कस्तो छ ?
कोभिड संक्रमण नहुँदा र केन्द्रिय सरकार स्थिर रुपमा चलेको भए विकासका कामहरु सोचेभन्दा धेरै हुन सक्थे । तर मानवीय संहारको रुप लिएको कोभिडले धेरै आयोजनाहरु अगाडी बढ्न सकेन । स्थानीय सरकारको पहिलो र दोश्रो वर्ष हामीले अधिंकाश लगानी विद्युत्तमा लगायौँ । जसअनुसार हामीले गाउँपालिकालाई अँध्यारोमुक्त बनाउने हाम्रो लक्ष्य हासिल ग¥यौँ । त्यसको तेश्रो वर्षमा शिक्षा क्षेत्रमा गाउँपालिकाको स्टान्डर्डकै प्रत्येक विद्यालयमा बालमैत्री घेराबारा गर्न २ करोडबराबरको बजेट विनियोजन ग¥यौँ । तीन भंगालेदेखि कपासेभञ्ज्याङसम्मको सडकखण्डमा ग्राभेलिङ ग¥यौँ । अन्य कृषि सडकहरु बन्ने र स्तरोन्नतीका क्रममा छन् ।
५. कोभिड र राजनीतिक अस्थिरताका बावजुत पनि गतवर्षमात्रै सुरु भएको बहुप्रतिष्ठित मुन्दुम ट्रेल प्रबद्र्धनमा गाउँपालिकाको कस्तो भूमिका रह्यो ?
गाउँपालिकाको तर्फबाट मुन्दुम पदमार्गको ८० प्रतिशत काम भईसकेको छ । मुन्दुम पदमार्ग अन्र्तगत ९० लाख बराबरको लागतमा मैयुङक्षेत्रको हाँसपोखरीमा पाहुनाघर बनायौँ । पदमार्गको बाटो बनाईसक्ने भनेर हामी प्रदेश १ सरकार र स्विस सरकारबाट ४० लाख बजेट हिँउदे अधिवेशनबाट थपेर कामहरु अघि बढाईएको छ । यसरी मेरो कार्यकालमा मुन्दुम पदमार्गलाई अन्र्तराष्ट्रियस्तरकै राम्रो पदमार्ग बनाउने मेरो लक्ष्य हो ।
६. स्थानीय सरकारको चौँथो वर्ष चलिरहँदा जनताहरु कुन विकासले बढि प्रभावित भएको महसुस गर्नु भएको छ ?
उपभोक्ता समितिमा बस्नु कमिसन खानु भन्ने प्रवृतिले विकास निर्माणमा काम गर्न हामीलाई धेरै गाह्रो छ । हामी पहिलो प्राथमिकतामै राखेर विजुली विस्तारमा दिनरात लाग्यौँ । जनताहरुले नै विजुली विस्तारमा सघाउनु भयो र यो सम्भव पनि भयो । उहाँहरुको ठुलो योगदान ठान्दछु । जसमा कुलमान घिसिङ दाई र मुख्यमन्त्री शेरधन राई दाईको पनि साथसहयोग छ । ठेकेदारलाई दिएको भएन न विजुली आउँथ्यो, न त काम सकिन्थ्यो । कमिसन र भ्रष्टचारको खेलले गर्दा विजुलीको काम अलपत्र हुन्थ्यो । हाम्रो उपलब्धि हाम्रो विकास भन्नु नै गाउँपालिकाभरी नै अँध्यारोमुक्त बनाउनु थियो । पुरा पनि भयो । तर सम्पूर्ण स्थानीय तहका जनप्रतिनिधीलाई च्यालेन्जका साथ भन्छु कसैले उज्यालो स्थानीय तह घोषणा गर्न सक्दैन । मेरो गर्व र हाम्रो गाउँपालिकाको उपलब्धि भन्नु नै त्यहि हो ।
७. अब गाउँपालिकाको भावी रणनीति चैँ के छ ?
स्थानीय सरकारको ४ वर्ष पुरा हुन लाग्यो । अबको एकवर्षभित्र गाउँपालिकालाई फुसको छानोमुक्त बनाउने मेरो लक्ष्य छ । कमसेकम गरिब दुखि जनतालाई चुहिने घरबाट मुक्त बनाउने मेरो ईच्छा छ । यो वर्ष पनि बजेटिङ गरेर ६, ७, ८, ३ र ४ वडा नम्बरलाई जस्तापाता बाँडिएको छ । सम्भव भए अर्को वर्ष बाँकी वडालाई पनि फुसको छानोमुक्त बनाउने लक्ष्य छ ।
https://youtu.be/sbLHA5tuBl8







