लन्डन । कोभिड १९ को महामारीको असहज परिस्थितीपछि पुन समाज युकेले आफ्नो १४ औं बार्षिक भेटघाट तथा शुभकामना कार्यक्रम भब्य रुपमा सम्पन्न गरेको छ । गत शनिवार लन्डनस्थित फेल्थाम स्पोर्ट एण्ड लेजर सेन्टरमा बार्षिक भेटघाट तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रम हलको प्रवेशद्धारमा करबाकेली कुलदेवताको थान राखेर पुजा गरेर प्रसाद ग्रहणपछि कार्यक्रम औपचारिक रुपमा शुरुवात गरिएको थियो । पुन समाज युकेका अध्यक्ष धनबहादुर पुनको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि गैर–आवसीय नेपाली संघ (एनआरएनए) बेलायतका अध्यक्ष प्रेम गाहा मगर र मगर संघ युकेका अध्यक्ष सीता पुर्जा पुन विशेष अतिथि रहेकी थिइन ।
बेलायतमा बस्ने पुन समुदायका बाक्लो उपस्थिती रहेको कार्यक्रम भब्य रुपमा सम्पन्न भएको थियो । कार्यक्रममा विभिन्न साँस्कृतिक तथा झाँकीहरु समेत प्रस्तुत गरिएको थियो । कार्यक्रममा नेपालबाट आएका कलाकारहरुले समेत आफ्ना प्रस्तुति दिएका थिए । कार्यक्रममा पुन समुदायमा उच्च शिक्षा हासिल गर्ने, व्यवसायी, सैनिक क्षेत्रको माथिल्लो तहमा पदोनन्ती हुने, समाजमा रहेर विशेष उच्च योगदान दिने र नेपालबाट आएका कलाकारहरुलाई समेत सम्मान गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि गैर–आवासीय नेपाली संघ (एनआरएनए) बेलायतका अध्यक्ष प्रेम गाहामगरले नेपाली राजदुतावास र विभिन्न सामाजिक संघसंस्थाहरुसंग समन्वय गरेर गोर्खाहरुको समान अधिकार, बेलायतमा बस्ने नेपालीहरुको समस्या र अधिकार लगायतको बिषयमा सहयोग र पहल गर्ने बताए । पुन समाज युकेले बेलायत र नेपालमा बस्ने पुन समुदायको हित र उत्थानमा महत्वपुर्ण योगदान दिएको भन्दै संस्थालाई धन्यवाद दिदै अध्यक्ष गाहा मगरले पुन समाजसंग सधै सहकार्य गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका थिए । कार्यक्रमका विशेष अतिथी मगर संघ युकेका अध्यक्ष सीता पुर्जा पुनले पुन समुदायको उत्थान र प्रगतीका लागि आफ्नो सधै सहयोग र शुभेच्छा रहने बताइन । मगर संघ र पुन समाज युकेको स्थापनाकालदेखि विशेष सम्बन्ध रहेको स्मरण गराउदै पुर्जा पुनले भविष्यमा पनि उच्च सम्बन्ध रहने विश्वास व्यक्त गरिन ।
कार्यक्रममा पुन समुदायको ऐतिहासिक पहिचान रहेको पुख्यौली नृत्यसमेत प्रस्तुत गरिएको थियो । समाजको निमन्त्रणमा नेपालदेखि आएका चर्चित गायक गगन पुनले लोक, पप, सोरठी, लोकदोहोरी र पञ्चेवाजा गीतहरु गाएका थिए । गायक पुनले कार्यक्रमको शुरुदेखि अन्त्यसम्म उपस्थित भएका सम्पुर्णलाई गीत गएर भरपुर मनोरञ्जन दिएका थिए ।
कार्यक्रममा स्थानीय चर्चित लोकदोहोरी गायिका कल्पना गुरुङ पुन र सिरीप्रसाद पुनले दोहोरी गीतमा प्रस्तुती दिएका थिए भने स्थानीय कलाकारहरु आयुष्मा फगामी, सारा पुन, गौरिका गर्बुजा, गीता पुन, खिम पुन, ईशा पुन, शोभा पुन, पुजा पुन, सविना पुन र रितु पुनले नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रमको प्रत्यक्ष प्रसारण पुन समाज युकेका फेसबुक पेजबाट गरिएको थियो ।
कार्यक्रममा मन्तब्य राख्दै पुन समाज युकेका अध्यक्ष धनबहादुर पुनले संस्थाको १५ बर्षे लामो यात्रामा बेलायतका पुनहरु र बेलायतमा स्थापित अन्य नेपाली संघसंस्थाहरुको अनुरोधमा कोभिड १९ महामारी नियन्त्रणका लागि बेलायतका नेशनल हेल्थ सर्भिसमा सहयोग, नेपालमा भुकम्प तथा बाढि पहिरो पीडितहरुलाई सहयोग, नेपालमा पुन समुदायको लागि राष्ट्रिय स्तरको करबाकेली थान संग्राहलय स्थापना लगायत अनेकौ बिषयहरुमा पुन समाज युकेले सहयोग गरेको बताए । उनले अग्रजहरुले जुन नीति र उद्देश्य अनुसार संस्थाको स्थापना गरे पुन समाज युके त्यही नीति र उद्देश्य अनुरुप चल्दै आएको बताउदै भविष्यमा पनि त्यसरी नै संस्था अगाडी बढने बताए । अध्यक्ष पुनले कार्यक्रममा उपस्थित हुने अतिथि, बिशेष अतिथि, अतिथि, कलाकार, उपस्थित हुने सम्पुर्ण लगायत कार्यक्रममा सफल बनाउन योगदान दिने व्यक्ति र व्यक्तिहरुलाई समेत विशेष धन्यवाद व्यक्त गरेका थिए ।
कार्यक्रमको सञ्चालन पुन समाज युकेका महासचिव रुद्रबहादुर पुनले गरेका थिए ।