
कोभिड महामारीको बाबजुत पनि गैरआवसीय नेपाली संघ (एनआरएनए) बेलायतको आगामी नेतृत्वको लागि चुनावी अभियान तीव्र भइरहेको छ । नेतृत्व लिन उम्मेदवारहरु एजेण्डा सहित चुनावी मैदानमा होमिसकेका छन । दुई बर्षे कार्यकालका निम्ति सम्पन्न हुने निर्वाचनबाट आफुलाई नेतृत्वमा स्थापित गराउन उम्मेदवारहरु मतदाता सामु कुनै न कुनै माध्यमबाट पुगिरहेका छन । गैरआवसीय नेपाली संघ बेलायतको निर्वाचनमा बर्तमान उपाध्यक्ष प्रेम गाहा मगर अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन । एक्सन ओरिन्टेड, कर्मशील, इमान्दार, जवाफदेही र हक्की स्वाभावका प्रेम गाहा मगर बलियो दावेदारी सहित मैदानमा उत्रिएका छन । लामो समयदेखि गैरआवसीय नेपाली संघको अभियान लगायत अन्य सामाजिक कामहरुमा समेत क्रियाशिल उनी बेलायतको नेपाली समुदायमा परिचित छन । आर्थिक पारर्दशिता, संस्थालाई गतिशिल बनाउन उनले चालेको कदम धेरैले मन पराएका छन । गैरआवसीय नेपाली संघमा आवद्ध रहदाँ गरेको कार्य, उनको उम्मेदवारी, सामाजिक अभियान र भावी योजनाबारे गैरआवसीय नेपाली संघ(एनआरएनए) बेलायतका उपाध्यक्ष तथा अध्यक्षका प्रत्यासी प्रेम गाहा मगरसंग सिलिचुङ डटकमका लागि किरण राईले गरेको कुराकानीको सारसंक्षेप प्रस्तुत गरिएको छ ।
गैरआवसीय नेपाली संघ बेलायतको आगामी ३१ जुलाईमा निर्वाचन हुदैछ । उक्त निर्वाचनमा तपाईंले अध्यक्षका लागि उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । तपाईंको उम्मेदवारी केका लागि हो ?
खासमा हामीले भर्खरै सदस्यता वितरण कार्य पूरा गरेका छौं । नयाँ प्रणालीबाट सदस्यता लिनु सहज थिएन । प्रविधिको प्रयोगमा अभ्यस्त हुनुपर्ने अवस्था थियो । हामीले यसलाई पूर्णता दिएका छौं । ११ हजार ६ सय भन्दा बढी बेलायतवासी नेपालीहरुले सदस्यता लिनु भएको छ । अघिल्लो वर्षको तुलनामा केही कम भएपनि निराश हुनुपर्ने अवस्था छैन । प्रविधिको प्रयोगबाट सबैलाई जोड्ने प्रयास भएको छ ।
अब कुरा गरौं नयाँ चुनाव र मेरो उम्मेदवारीको । म दुई कार्यकाल उपाध्यक्षका रुपमा समितिमा रहेर काम गरेँ । अब मेरो लागि अध्यक्ष बाहेक अर्को ठाउँ छैन । अध्यक्षमा मेरो दाबी स्वभाविक हो भनेर बुझ्नु राम्रो हुन्छ । अध्यक्ष भएर के गर्ने भन्ने कुरा यो सँगै आउँछ । मैले धेरै ठूला कुरा गरेको छैन । मुख्य ६ वटा एजेण्डा यस अघि नै सार्वजनिक गरिसकेको छु । तपाईं लगायत बेलायतवासी नेपालीहरुले यसबारेमा जानकारी पाइसकेको हुनुपर्छ । मेरो मुख्य कुरा संस्थालाई पारदर्शी बनाउने नै हो । संस्थालाई पारदर्शी बनाउनकै लागि हामीले दुई वर्ष निरन्तर प्रयास गर्यौं । तर, नेतृत्वमा नभएकाले यसलाई उपलब्धिमा रुपान्तरण गर्न सकेनौं । एनआरएनलाई साँच्चै नै यसको उद्देश्यमा केन्द्रित गर्नुपर्ने भएको छ । विदेशमा रहेका नेपालीहरुको साझा संस्थाका रुपमा यसलाई स्थापित गर्नु पर्ने छ । नयाँ पुस्तालाई पनि संस्थामा सक्रिय रुपमा सहभागी गराउनुपर्ने छ । युवा पुस्तालाई नेपाली कला संस्कृति र भाषासँग जोड्दै मातृभूमिको सेवाभाव जगाउनुपर्ने छ । पूर्व गोर्खाहरुको समस्या पनि छन् । म आफैं पनि पूर्व गोर्खा भएकाले ती समस्याका बारेमा म राम्ररी जानकार छु । नेपाली नागरिकता निरन्तरताको मुद्दा छ । दोश्रो पुस्तापछिका नेपालीहरु नेपालसँग बिच्छेद हुने हो कि भन्ने चिन्ता छ । सम्पत्तिको अधिकारको सवाल पनि छ । महिला सहभागिताको कुरा छ । अब सहभागिताको कुरा मात्रै होइन, नेतृत्वको पनि कुरा छ । नेपाली समुदायलाई प्रतिनिधित्व गर्ने थुप्रै संस्थाहरु छन् । ती संस्थाहरुसँग सहकार्य गर्दै हातेमालो गरेर अगाडि बढ्नुपर्ने छ । यी काम म गर्न सक्छु भन्ने विश्वास छ ।

तपाई लामो समयदेखि गैरआवसीय नेपाली संघ बेलायतमा आवद्ध हुनुहन्छ । यो संस्थाभित्र रहेर गर्नु भएको महत्वपूर्ण कार्य के होला ?
झण्डै २६ वर्ष बेलायत बसाइका क्रममा म यहाँको नेपाली समुदायसँग राम्रोसँग घुलमिल भएको छु । एनआरएनको स्थापनादेखि हालसम्मका सबै गतिविधिहरुमा कुनै न कुनै रुपमा सहभागी छु । पछिल्लो दुई कार्यकाल म उपाध्यक्ष भएर काम गरेको छु । यसबीचमा के के गरियो भन्ने त स्पष्ट नै छ । सबै काम त भनेर सम्भव पनि छैन । केही कुरा बुँदागत रुपमा बताउन चाहन्छु ।
जब म २०१७–१९ कार्यकालमा पहिलो पटक उपाध्यक्ष भएँ, मलाई च्यारिटी डिपार्टमेन्ट प्रमुखको जिम्मेवारी प्राप्त भयो । जिम्मेवारी अनुसार काम त गर्नु पर्यो । मैले पहिला नै निश्चित समय दिने छु भनेर वाचा गरेको थिएँ । समयले मात्रै भएन, आइडिया पनि चाहियो । मैले त्यतिबेला नेपाली कला संस्कृतिको प्रबद्र्धन र नेपाली कलाकारलाई प्लाटफर्म उपलब्ध गराउने भनेर भ्वाइस अफ नेपाल कन्सर्टको आयोजना गरे । मैले भनेको थिएँ, घाटा भए मेरो, फाइदा भए संस्थाको । नेपाली कलाकारहरुको व्यापक सहभागितामा कार्यक्रम सम्पन्न भयो । अपाङ्ग भएका वृद्ध वृद्धा गोर्खाज र तिनका परिवारका सदस्यहरुको सहयोगका लागि डिजाबिलिटी एड कार्यक्रम ल्याएँ । यो कार्यक्रम पनि व्यापक सफल भयो । त्यस्तै च्यारिटी डिनर विथ बक्सिङ कार्यक्रम पनि गरियो । नेपाली र विदेशी बक्सरहरुको सहभागितामा कार्यक्रम सम्पन्न भयो ।
दोश्रो कार्यकालमा भने जिम्मेवारी फेरियो । मलाई गोर्खा डिपार्टमेन्ट प्रमुखको जिम्मेवारी दिइयो । म आफैं पनि पूर्व गोर्खा सैनिक भएकाले मलाई यो जिम्मेवारी झनै उपयुक्त थियो । तपाईंलाई पनि थाहा छ, यहाँ पूर्व गोर्खाजको समस्या कति छन् कति । मेरो गोर्खाजहरुका पनि आ आफ्नै संगठन छन् । ती संगठनहरुलाई एकजुट बनाउँदै संयुक्त आवाज र पहल गर्नुपर्ने थियो । एक हदसम्म हामी यसमा सफल भयौं । गत अप्रिलमा हामीले एनआरएनकै ब्यानरमा बेलायती प्रधानमन्त्री र नेपालका प्रधानमन्त्रीलाई १३ बुँदे प्रतिवेदन कार्यान्वयन गर्न आग्रह गर्दै पत्राचार गर्यौं । हालैै बेलायती रक्षा मन्त्रालयले आफ्नो धारणा सार्वजनिक गरेको छ । हामी अब नेपाल सरकारको धारणाको प्रतीक्षा गरिरहेका छौं ।
हाम्रो दोेश्रो कार्यकाल कोभिड १९ को महामारी चपेटामा पर्यो । बेलायतवासी नेपालीहरु पनि महामारीमा नपर्ने कुरै भएन । केही दु:खद घटना पनि भयो । हामी कोभिडबाट परेको असर न्यूनीकरणमा लागिरह्यौं । बेलायतमा एउटा कुरा थियो, मातृभूमिमा पनि महामारीको प्रकोप उस्तै थियो । दोश्रो लहरमा त नेपाल निकै प्रभावित भयो । हामीले सहयोग संकलन गरेर विभिन्न स्वास्थ्य सामग्री र उपकरण नेपाल पठाएका छौं । महामारीका कारण धेरै काम गर्न सकिएन होला, तर, हामी त्यसै बसेका छैन । कुनै न कुनै रुपमा हामी सक्रिय नै रहिरहेका छौं ।
गैर आवसीय संघ बेलायतको निर्वाचनमा अध्यक्षको प्रत्यासीको रुपमा होमिदा मतदाता सामु तपाईको चुनावी एजेण्डा के के छन ? तपाईलाई एनआरएनए बेलायतका आम सदस्यहरुले भोट किन हाल्ने ?
मैले शुरुमै भनिसकेँ, हामीसँग थुप्रै समस्या छन् । कतिपय आन्तरिक चुनौती छन्, जो हामी आफैंले समाधान गर्न सक्छौं । केही समस्या यस्ता छन्, त्यसमा संसारभरका प्रवासी नेपालीहरुको साथ चाहिन्छ । त्यस्तै, हामी जुन देशमा छौं, त्यो देशको साथ र सहयोग पनि चाहिन्छ । मातृभूमिबाट पनि विस्तारै टाढिनुपर्ने अवस्था छ । सबैभन्दा पहिले त एक पटकको नेपाली सधैंको नेपाली भन्ने नारालाई साकार पार्न नेपाल सरकार र नेपालका राजनीतिक दलहरुको साथ र सहयोग चाहिएको छ ।
एनआरएन सबैको साझा संस्था हो । नेपाल सरकारले मान्यता दिएको एक मात्र संस्था भएकाले पनि प्रवासी नेपालीहरुको यो आफ्नै संस्था हो । संस्थालार्ई आफ्नो उद्देश्य अनुसार सञ्चालन गर्नु छ । संस्थामा पसेर नाजायाज रुपमा फाइदा खोज्नेहरुसँग संस्थालाई बचाउनु छ । अग्रजहरुको सम्मान गर्दै नयाँ पुस्ता विशेषगरी युवा पुस्तालाई संस्थामा सक्रिय गराउनु छ । पूर्व गोर्खाजहरुको आन्दोलनलाई निष्कर्षमा पुर्याउनुपर्ने छ । संस्थालाई शुद्धीकरण गर्दै सुदृढ गराउनुपर्ने छ । यी र यस्तै काम गर्नका लागि मैले उम्मेदवारी घोषणा गरेको हुँ ।
हामी अहिलेसम्म सदस्यता अभियानमा नै थियौं । अब विस्तारै मतदाताहरुलाई मेरा एजेण्डा यी यी हुन् भनेर भन्ने तयारीमा छु । यहाँ रहेका नेपालीहरुका समस्या जे छन् नि, मेरो एजेण्डा तिनै हुन् । आफ्नै एजेण्डा भएकाले मतदाताले विश्वास गर्नुहुनेछ भन्ने अपेक्षा राखेको छु ।

गैरअवासीय नेपाली संघ बेलायतको हाल तपाई उपाध्यक्ष हुनुहुन्छ । तपाईहरुको सम्पुर्ण कार्यकाल विवादै विवादको घेरा वित्यो । यस्तो अवस्था कसरी सिर्जना भयो ?
समूहमा काम गर्दा सधैं सबैको धारणा एउटै हुन्छ भन्ने हुँदैन । व्यक्ति अनुसारका विचार अवश्य फरक हुन्छन् । खास कुरा कुन विषयमा के भयो भन्ने हो । आर्थिक पारदर्शिताको विषय यो कार्यकालमा राम्रैसँग उठ्यो । हामीले नै उठाएका हौं । संस्थाले आफैं खराब गर्दैन । कहिलेकाहीँ गलत मानसिकता भएका व्यक्ति हाबी भए भने संस्थाको छविमा पनि दाग लाग्न सक्छ । हामी यसमा सचेत भएका मात्रै हौं । जहाँसम्म आर्थिक पारदर्शिताको कुरा त, यो आम बेलायतवासी नेपालीहरुको मुद्दा हो । गलत गर्नेले सजाय पाउनुपर्छ भन्ने हो । यो विषय अदालत पुगिसकेको छ । अब अदालतले नै टुंगो लगाउने छ । अन्य विषयमा हामीबीच खासै विवाद छैन । कार्यशैली फरक पर्नु र विवाद हुनु भिन्न कुरा हुन् ।
निर्वाचित भईसकेपछि संस्थालाई गतिशिल बनाउनुको सट्टा गतिहीन बन्यो । संस्थालाई सधै विवादमा राखेर व्यक्तिगत झगडा र व्यक्तिगत स्वार्थमा केन्द्रीत हुने हो भने गैरआवसीय संघ बेलायतको छाताभित्र रहेको सबै नेपाली समुदायहरुले तपाईहरुप्रति कसरी विश्वास र भरोसा गर्ने ?
एनआरएन गतिहीन नै भयो भन्ने होइन । अपेक्षा अनुसार काम हुन सकेन भन्नेमा छलफल गर्न सकिन्छ । परिस्थिति पनि अनुकूल रहेन । कोभिड महामारीले हाम्रो गतिमा केही अवरोध ल्याएको पक्कै हो । शुरुमा कसरी अगाडि बढ्नेमा अन्यौल नैै थियो । आइसीसी र विज्ञहरुसँगको परामर्शपछि हामी महामारीको रोकथाम र पीडितहरुलाई सेवा दिने कार्यमा लाग्यौं । कसैले धमिलो पानीमा माछा मार्न खोजेको भए हामीलाई थाहा भएन । तर, हामी कुनै पनि विषयमा व्यक्तिगत झगडा र स्वार्थमा लागेनौं । आर्थिक पारदर्शिताको मुद्दा व्यक्तिगत झगडा होइन । संस्थागत सुधारका लागि चालिएको कदम हो ।
एकादुई विषयलाई देखाएर एनआरएनलाई बद्नाम गर्ने कुरा कसैले सहदैन । यो साझा संस्था हो । चरित्र पनि साझा नै हुनुपर्छ । सबैको सहभागिता र प्रतिनिधित्व हुनुपर्छ । हामी यही समाजका सदस्य हौं । हामी असल भए मात्रै हाम्रो समाज सभ्य र सु–संस्कृत हुन्छ । त्यसमा हामी सचेत छौं । समाजले पनि खबरदारी गर्नुपर्छ । विगतका गलत अभ्यासलार्ई हटाउन नै मैले अध्यक्षमा उम्मेदवारी घोषणा गरेको हुँ । मेरो आग्रह छ, यसपाली विश्वास गर्नुस्, तपाईंहरुलाई घात गर्ने छैन । मेरो धरातल नै यही समाज हो भने मैले कसरी आफ्नै धरालतलाई विश्वासघात गर्न सक्छु ?
संस्थामा आर्थिक अनियमितता भएको भन्दै बर्तमान अध्यक्ष पुनम गुरुङ विरुद्ध तपाई लगायत अन्य कार्यसमितिका सदस्यहरु सहितले बेलायतका न्यायलयमा मुद्दा नै दर्ता गर्नुभयो । संस्था र अध्यक्ष विरुद्ध मुद्दा नै दर्ता गर्नुपर्ने अवस्था किन आयो ?
यो विषयलाई गलत रुपमा व्याख्या गरिँदै छ । संस्था र नेतृत्वविरुद्ध नै मुद्दा मामिला भयो भनेर प्रचार गरिँदै छ । त्यो होइन । संस्थाले कहिल्यै गल्ती गर्दैन । व्यक्तिले गर्ने हो । व्यक्तिगत रुपमा पुनम गुरुङ दिदीसँग हाम्रो कुनै विमति होइन । उहाँ अहिले एनआरएन यूकेको अध्यक्ष हो । उहाँ नेतृत्व हो । संस्थामा समस्या देखियो भने नेतृत्वले समाधान गर्ने हो । हामीले बारम्बार उहाँको ध्यानाकर्षण गरायौं । आर्थिक अनियमितताको विषयमा हामीले पटक पटक हाम्रो धारणा राख्यौं । छानबिन समितिले पनि रिपोर्ट दिएको छ । सबैको साथ हुँदा पनि उहाँले किन चासो दिनु भएन भन्ने मात्रै हाम्रो प्रश्न हो ।
आँखै अगाडि भएको अनियमिततालाई टुलुटुलु हेरेर हामी बस्न सकेनौं । सबै सदस्यहरुको रगत पसिना मिसिएको विषय हो । योसँगै संस्थाको मर्यादा, विधि, विधान र नैतिकतासँग जोडिएको पनि विषय हो । यस विषयमा कोही न कोही बोल्नै पथ्र्यो, हामी बोल्यौं । केही न केही कदम चाल्नै पथ्र्यो, हामीले चाल्यौं । कार्य समितिमा प्रयास गर्यौं । संरक्षक परिषद र सल्लाहकार पनि गुहार्र्यौं । तर, कतैबाट पनि समाधान नपाएपछि अन्तिम विकल्पका रुपमा हामी अदालत गएका हौं । यसलाई संस्था र व्यक्तिको विरोधमा बुझ्नु हुँदैन । बरु संस्थाको सुधारका लागि गरिएको प्रयासका रुपमा बुझियो भने सबैलाई न्याय हुने छ ।
सिंगो कार्यकालभरी नै संस्था र अध्यक्ष विरुद्ध विरोध र मोर्चाविरुद्ध गर्नुभयो । यदी समस्या नै भएको भए संस्थाभित्र हल गर्नुको सट्टा बाहिर विरोध र न्यायालयमा जानु गलत नजिर स्थापित भएन र ?
अघि पनि भनिसकेँ । यसलाई संस्था र नेतृत्वको विरोधमा अदालतमा गएको भनेर बुझ्नु हुँदैन । संस्थाको सुधारका लागि गरिएको एउटा प्रयासका रुपमा बुझ्दा न्यायोचित हुने छ । यो मोर्चाबन्दी पनि होइन । अनियमितता विरुद्ध आवाज उठाउन कसैले आँट गर्नै पथ्र्यो, हामीले गर्र्यौ, त्यति मात्रै हो । हामीले यो विषयलाई शुरु देखि नै उठाएका हौं । कार्यसमितिमा कति छलफल भयो, हिसाब नै छैन । अग्रजहरुसँग पनि छलफल भएको छ । छानबिन समिति बन्यो, रिपोर्ट आयो । त्यसपछि पनि अध्यक्षले चासो देखाउनु भएन । हामी वाध्य भएर अदालत पुग्नु परेको हो । यो हाम्रो बाध्यता हो, त्यसैगरी बुझिदिनु होला । अदालत जानु गलत होइन, अनियमितता गर्नु गलत हो । संस्थाको रकम दुरुपयोग र हिनामिना गर्नु गलत हो । संस्थाको पैसा दुरुपयोग गर्नुलाई कसैले राम्रो भन्छ भने छलफल गरौं । होइन भने यो कसरी गलत भयो त ? बरु अब अदालतले गर्ने आदेशले सही नजिर स्थापित हुने छ भन्ने हाम्रो विश्वास छ ।
एकअर्का विरुद्ध मोर्चाबन्दी र न्यायालयमा मुद्दा दर्ता जस्ता प्रतिशोधपूर्ण कार्यले संस्थाको उन्नति र विकास कसरी हुन्छ ? भोलिका दिनमा पनि पुन: यस्तो कार्य दोहोरियो भने तपाईं के गर्नुहुन्छ ?
यो न मोर्चाबन्दी हो, न प्रतिशोध । यो त केबल पारदर्शीताको मुद्दा हो । कसैले पनि सार्वजनिक संस्थाको कोष दुरुपयोग गर्न हुँदैन र पाउँदैन भनेर गरिएको प्रयास हो । पक्कै पनि अनियमितताको विषयले कार्य समितिको कामलाई केही हदसम्म प्रभावित पारेको छ । पक्ष र विपक्षमा उभिने अवस्था आएको छ । यो पनि नेतृत्वको ध्यान नपुग्दा आएको समस्या हो । यो अवस्था अब लामो समय रहने छैन । कोर्टले सुनुवाईको मिति तोकिसकेको छ । पक्कै पनि कोर्टले यथार्थ आदेश दिने छ । त्यसलाई हामी जो सुकैले स्वीकार गर्नुपर्दछ । अदालतभन्दा माथि त हामी छैनौं नि । कानुनले त सबैलाई निष्पक्ष भएर हेर्ने छ । सही र गलत छुट्याइदिने छ । अदालतको आदेशपछि यो विषय किनारा लाग्ने छ र सबैलाई शिक्षा पनि मिल्ने छ ।
म स्पष्ट पार्न चाहन्छु, म नेतृत्वमा चुनिए भने यस्तो अवस्था आउन दिने छैन । संस्थालाई पारदर्शी रुपमा अगाडि बढाउने छु । लेखा प्रणालीलाई चुस्त बनाउने छु र संस्थालाई वास्तवमै सबैले चाहेजस्तो बनाउने प्रयास गर्ने छु ।

गैरआवसीय नेपाली संघ बेलायतमा यसरी विवाद र झगडा भइरहने हो भने संस्थाप्रति विश्वास र भरोसा कसरी गर्ने ?
हो, संस्थामा समस्या आउन सक्छन् । ती समस्यालाई समाधान गर्न सक्नुपर्छ । समूहमा काम गर्नुपर्दा पक्कै पनि विचार र धारणा फरक फरक आउन सक्छन् । वादे वादे जायते तत्ववोध भने झैं छलफलबाटै सही निर्णयमा पुग्ने हो । हाम्रो अभ्यासमा यसमा केही कमजोरी देखियो होला, त आगामी कार्यकालमा यस्तो समस्या आउने छैन ।
काम गर्दै जाँदा आउने समस्यालाई सामूहिक प्रयासबाटै समाधान गर्न सक्छौं । संस्थालाई सही रुपमा अगाडि बढाउन सक्छौं । अग्रजहरुले जुन धारणा राखेर संस्थाको स्थापना गर्नुभयो, त्यसमा हामी प्रतिबद्ध भयौं भने संस्थाप्रतिको विश्वास र भरोसा फेरि जागृत हुने छ । सही व्यक्तिलाई उचित पदमा पुयार्उन सक्यौं भने पक्कै पनि ’हाम्रो एनआरएनए राम्रो एनआरएनए ’अभियान साकार पार्न सकिने छ ।
यदी तपाई अध्यक्ष निर्वाचित हुनु भयो भने संस्थागत हितका के कस्ता कामहरु गर्नुहुन्छ । यसबिषयमा विस्तृत रुपमा बताईदिनुहोस न ?
हामीले यस विषयमा अगाडि पनि चर्चा गरिसकेका छौं । मैले मेरा एजेण्डालाई विशेषगरी ६ वटा बुँदामा स्पष्ट पार्ने प्रयास गरेको छु । ती बाहेक पनि हाम्रो समाजमा थुप्रै समस्या छन् । क्रमिक रुपमा सबैको साथ र सहयोगमा ती काम पूरा गरिने छ ।
म एक्सन ओरियन्टेड व्यक्ति हुँ । म जे गर्न सक्छु, त्यो मात्रै भन्छु । भनेको पूरा गर्नुपर्छ भन्ने मेरो मान्यता छ । म दुर्ई कार्यकाल उपाध्यक्ष र डिपार्टमेन्ट प्रमुख भएर जे गरेँ, त्यो छर्लंगैै छ । फेरि पनि भन्नुपर्दा मेरो अहिलेको मुख्य मुद्दा भनेको संस्थाको पारदर्शिता नै हो । संस्थाको रकम कसैले पनि हिनामिना गर्नु हुँदैन । एनआरएन सबैको साझा संस्था हो । यो भनेर मात्रै हुने होइन, व्यवहारले प्रमाणित गर्ने हो । मैले पुर्व गोर्खाजको समस्या राम्ररी बुझेको छु । उपाध्यक्ष भएर पनि समाधानका लागि पहल गरिरहेको छु । नेतृत्वमा पुगेपछि यो अभियान सञ्चालन गर्न थप सहज हुने छ । नागरिकताको मुद्दा छ । नेपालमा सम्पत्तिको अधिकारको विषय छ । नयाँ पुस्तालाई मातृभूमिको माया जगाउनु छ । युवा र महिलाहरुको सहभागिता र नेतृत्व विकास गर्नुपर्ने छ । यी विषय मेरा प्राथमिकताका विषय हुन् ।
अन्त्यमा तपाईको भनाई केही छ की ?
मेरो उम्मेदवारी र भावी योजनाका बारेमा मैले विस्तृत रुपमा भनिसकेको छु । म अबको दुई वर्ष पूर्ण रुपमा समाजको सेवामा समर्पित हुन्छु भनेर मैदानमा उत्रिएको हुँ । सातै दिन, चौबीसै घण्टा समय दिएर समाजको सेवामा खटिने छु ।
अनि मेरो उम्मेदवारी समाजलाई जोड्न हो, तोड्न होइन । विभिन्न कारणले उत्पन्न निराशा हटाउन हो, निराशा बढाउन होइन । एनआरएनप्रतिको विश्वास जगाउन हो, भड्काउन होइन ।
नेपालीको एकता विश्वमै उदाहरणीय छ । यसलाई अझ गाढा बनाउन मैले अध्यक्षमा उम्मेदवारी घोषणा गरेको हुँ । एक्लो प्रयासले मात्रै सफल हुने होइन । मलाई यसमा तपाईंको साथ, सहयोग, विश्वास चाहिन्छ । हामीले चाहदाँ असम्भव छैन । त्यसैले भन्छु, आउनुस्, हातेमालो गरौं, समाजलाई थप एकताबद्ध बनाऔं । एकता नै बल हो । सामूहिक प्रयासमा हामी सफलतामा पुग्न सक्छौं ।







