बेलायतमा कोरोना संक्रमण हुने नेपाली १५ सय बढी

लण्डन । बेलायतमा १५ सय भन्दा बढी नेपाली कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

एनआरएनए यूकेले शुक्रबार जारी गरेको एक तथ्यांकले हालसम्म बेलायतमा १५ सय १७ नेपालीमा संक्रमण भएको देखाएको छ ।

एनआरएनए यूकेको तथ्यांकअनुसार अहिलेसम्म बेलायतमा कोरोना भाइरसको संक्रमण पुष्टि भएका ६६ जना नेपालीको मृत्यु भएको छ ।

कोरोना संक्रमण भएका कुल १५ सय १७ नेपालीमध्ये अधिकांश घरमै ‘आइसोलेसन’ बाट निको भएका छन् । घरमै ‘आइसोलेसन’ बस्ने कुल १३ सय ६७ मध्ये १३ सय ९ जना निको भइसकेका र बाँकी ५८ जना अहिले पनि ‘आइसोलेसन’ मै रहेको जनाइएको छ ।

कोरोना संक्रमणपछि बेलायतभर हालसम्म १ सय ५० जना नेपाली अस्पताल भर्ना भएको तथ्यांकले देखाएको छ । जसमध्ये ६६ जनाको मृत्यु भएको छ भने ७६ जना निको भएर घर फर्किएका छन् । अहिले पनि विभिन्न अस्पतालमा उपचारकै क्रममा रहेका संक्रमित नेपालीको संख्या ८ छ ।

एनआरएनए यूकेले सञ्चालन गरेको हेल्पलाइन र आफ्ना प्रतिनिधिहरुको सक्रियतामा नेपालीको तथ्यांक बटुलेको हेल्पलाइनका संयोजक एवम् सचिव जीत रानाभाटले बताएका छन् । रानाभाटसंगै सचिव कोशलेश्वर ढकाल र हेम गुरुङले हेल्पलाइनको संयोजन गरिरहेका छन् ।

एनआरएनए यूकेले बेलायतका विभिन्न विश्वविद्यालयमा अध्ययनरत ५२ विद्यार्थीलाई राहत उपलब्ध गराइएको जनाएको छ ।

संस्थाको सम्पर्कमा आएका २ सय २४ विद्यार्थीमध्ये १३ जनालाई खाने बस्ने व्यवस्था र अन्यलाई विभिन्न परामर्श, रोजगारीका लागि सहायता जस्ता सहयोग दिइएको छ ।

त्यस्तै, बेलायतका विभिन्न ठाउँस्थित भूतपूर्व गोर्खासहितका नेपालीहरुलाई ६ हजार बढी स्वास्थ्य सुरक्षा सामग्रीका किट वितरण गरिएको एनआरएनए यूकेले बताएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार