‘माओको जन्मघर पुग्दा’

पुलम्यान होटल जाङ्जाच्चे देखि एउटा ट्याक्सी समातेर स्थानीय बस स्टेसन पुगेका थियौ । हामी त्यहाँ पुग्दा बिहानको सात बजि सकेको थियो । “अभाटार पर्वत” जाङजाच्चेले बनाएको वुलिङ्गयुन उपत्यकाको जमिनमा सुर्यको किरण भर्खर भर्खरै झर्दै गरेका थिए । बस स्टेसन बाहिर ट्याक्सीले ओराले पश्चात चालक एक्कै छिनमा बिलुप्त भै हाले । चालकले छाडेपछि बसको टिकट कता पाउने होला भनेर दायाँ र बायाँ हेर्न थाल्यौ । वरिपरीका सबै परिचय पाटीहरु चाईनिज अक्षरमा भएको हुनाले हामीलाई बुझ्न निक्कै कठिनाई भै रहेको थियो ।

 

बस स्टेसन बाहिर रहेका खुद्रा पसलहरु त्यसबेला भर्खर भर्खरै खुल्दै गरेका थिए । तर बसमा यात्रा गर्ने यात्रुहरुको भीड निक्कै बाक्लो थियो । कुन यात्रुहरु कहाँ जाने छुट्याउन हम्मे हम्मे परीरहेका थिए । उनीहरुलाई हेर्दा वुलिङ्गयुन उपत्यकाका मानिसहरु अबेलासम्म सुतेर भर्खरै ब्यँुझिएका जस्ता देखिन्थे ।

 

प्रायः जसो यात्रुहरुले हातमा थर्मस जत्रो चियाका कपहरु बोकेर ओहोरदोहोर गरिरहेका नरमाईलो दृश्य त्यहाँ देख्न सकिन्थ्यो । हामीले पनि उनीहरु जस्तै सुक्खा चिया राखेको थर्मसमा सितैमा उपलब्ध हुने तातो पानी भर्यौ र तिनै मानिसहरुका भीडभित्र मिसिएर केही बेर हिडिरह्यौ ।

तुजिया आदिबाशीका पहिरन जाङजाच्चे ।

मानिसहरुको भिडसँगै हिडदै जाँदा बसको टिकट काटने काउन्टरको नजिक्कै पुग्यौ । चिनियाँ रेनमिबि दुई सय तिरेर छाङ्सा जाने बसको दुई वटा टिकटहरु किनेर सरासर घर भित्र छिर्‍यौं ।

 

बस स्टेसनदेखि टाईसान, छेङ्गदु र छाङ्सा लगायत चीनका बिभिन्न सहरहरुमा जाने बसहरु लहरै पार्क गरिएर त्यहाँ राखिएका थिए । हामी कुन बस चढेर छाङ्सा पुग्ने होला भनेर केही समयम द्धबिधामा परिरह्यौ । हुनतः बिगत दुई हप्तादेखी बेईजिङ, संघाई, हुबेई र हुनान प्रान्तहरुको यात्रामा त्यस्तो नियति प्रशस्त भोग्न परिरहेको हामीसँग अनुभव थियो । त्यसैले केही उपाय लाग्ला कि भन्ने आशाबादीको साथ एउटा कुनामा उभिरहर्यौं ।

 

यतिकैमा निलो झोला बोकेर एक सुरमा हिडिरहेको एउटा फुच्चे हाम्रो सामु देखा पर्‍यो । फुच्चेले कतै अंग्रेजी बोल्छ की भनेर पहिले ‘नि हाउ’ भने । उसले प्रति उत्तरमा नि हाउ भनेको हुनाले “नि सोउ इङयोन मा ?” भनेर प्रश्न गर्दा थोरै मुस्कान छाडेर उत्तर दियो ।

 

हाम्रो टिकट मागेर उसले एक सर्को हेर्यो र अलिक पर कुनामा पार्क गरेर राखेको बसलाई संकेत गर्दै त्यहाँ जानोस भन्यो । मैले धन्यबाद ‘सिसे’ भनि दिए, उसले सुर्ता गर्नु पर्दैन ‘मेई वेन्ति’ भन्दै उसको बाटो लाग्यो । हामी सुटकेस गुडाउदै गुडाउदै बस चढने ठाउँतर्फ लाग्यौ ।

 

“तपाईलाई थाह भै नभै के संसार घुमिरहनु पर्ने होला ? अब….कुन्नि, त्यो बस पनि सहि हो कि होइन ?” मुख तन्काएर कान सम्म पु¥याउदै अशोभनीय तरिकाले ताराले म सँग तत्कालै रिस ओकलिन ।

 

“सबै कुरो जन्मदै कसलाई थाह हुन्छ र…? अनुभव गरेर नै चाल पाउने हो,” मैले छोटो उत्तर फर्काई दिए ।

 

हामी तिनै चिनियाँ युबकले भनेको बसको ठीक अगाडि पुग्यौ । त्यहाँ पुगेपछि बस चालकलाई थोरै मुस्कान सहित “छाङ्सा” मात्रै भने । नभन्दै उसले पनि टाउको हल्लाएर ‘हो’ भन्ने जबाफ फर्कायो । उसको नजिकै पुगेर बसको टिकटहरु देखाई दिए । टिकट हेरिसके पश्चात सुटकेसहरु मुनि स्टोरमा राख्न भनेर देब्रे हातले इसारा गर्‍यो । उसले भने बमोजिम सुटकेसहरु मुनि राखेर हामी बस भित्र पस्यौ ।

 

त्यो दिन २० अक्टोबर २०१७ को थियो । वुलिङ्गानमा त्यस दिनको मौसम अति सफा थियो । आकासमा बादलका एउटा टुक्रा पनि देखिएको थिएनन् । सदाबहर रुन्चे झरिसँग पौठेजोरी खेल्ने बेलायती मौसमबाट भागेर त्यति सफा मौसममा पुग्दा मन भित्र आनन्दका अनुभुति भैरहेका थिए ।

अभाटार पर्बत, युलिङ्गान हुनान प्रान्त ।

घडिको सुईले बिहानीको ठीक आठ बजाउँदा बसले बिस्तारै टायर गुडाउन थाल्यो । मैले झ्यालको सिसालाई सरर धकेलेर अभाटार पर्वतको अन्तिम नजर लगाउन थाले । तर तिनै पर्वत श्रृंखलाबाट बहदै आएको मन्द बतासले मेरो गालालाई छुदै गरेको मलाई हल्का आभाष हुन थाल्यो । हुनान प्रान्तको “अभाटार पर्वत, जाङजाच्चे” सम्भवत सँसारको सबैभन्दा सुन्दर ठाउँ होला भनेर हिजो राती नै होटलको कोठामा तारा सँग निक्र्यौल गरिसकेका थियौ ।

बस मुख्य सडकमा निस्कने बितिक्कै लगभग साठी माईल प्रति घण्टाको गतिमा गुडन सुरु गर्‍यो । त्यति फराकिलो चिनिया बाटोमा जर्मनीमा बनेको बसले झन झन बेग मार्न थाल्यो । बसको गतिसँगै अभाटार पर्वत सुस्तरी टाढा क्षितिजमा बिलय हुन थाल्यो । त्यति बिहानै तर त्यति बिरमाईलो दृश्य देखेर मेरो मुटु च्वस्स घोचिरहेको आभाष भैरहेको थियो ।

 

लिसुई नदीको किनारै किनार त्यति ठुलो सडकमा बस एक रफ्तारले गुडिरहँदा म किमकर्तब्यबिमुड भैरहेका थिए । त्यति रमणीय स्थल सँधैको लागि छाडेर जानु गर्दा अचानक ताराको मधुरो स्वर मेरो कानमा बज्रन आई पुग्यो ।

 

“बुढो ! जाङजाच्चे त फेरि पनि आउनु पर्छ है ?”

हृदयस्पर्सी उनको त्यो आवाजले पहिले म झस्के किनभने प्रकृतिको मनोरम दृश्य प्रति भावबिह्वल बनिरहेको थिए । त्यसैले मेरो मुखबाट एक्कै शब्द फुत्केको थिएन । तर उनको सुकोमल मुहार हेरे र फिस्स मुस्कान छाडेर हल्का स्वीकारोक्ति जनाए । तर उनले अभाटार पर्वत पनि दोहोर्‍याएर आउने सुचिमा राख्दा मलाई धेरै खुशीका अनुभुति मिल्यो ।

 

छाङ्दे सहर पुगेपछि बसले लिसुई नदीको किनारलाई सधै सधैको लागि बिदा गरी पठायो । अनि मध्यान्हको चिनिया भोजनको लागि बसले एक घण्टा थकाई मार्‍यो । हुनान प्रान्तमा पाईने बिभिन्न प्रकारको किरा फट्याङ्ग्राको भोजनपछि हाम्रो यात्राले पुनः निरन्तरता लिन सुरु गर्‍यो । छाङ्साको मेट्रो स्टेसन अगाडि पुगेर बस रोकिदाँ समय दिउँसोको ठीक तीन बजिसकेको थियो ।

“कोर्टयार्ड बाई मेरिवट” छाङ्सामा रात कटाए पश्चात भोलि बिहान तीनै मेट्रो स्टेसनको अगाडि फेरी हाजिर भएका थियौ । त्यो स्टेसनको सिधै अगाडि बैंक अफ चाईना देखा पर्दा मलाई चिलाएको ठाउँमा कन्याउन पाएको जस्तो भयो किनभने लण्डन देखी लिएर आएको चिनिया युवान सकिनै लागेको थियो । बैंक देख्ने बितिक्कै केही अमेरिकन डलरलाई युवानमा साटनका लागि हामी सरासर बैंक भित्र छिर्‍यौं ।

 

हामी बैंक भित्र पस्दा केही मानिसहरु पंक्तिबद्ध भएर उभि रहेका थिए । ताराले थपक्कै एउटा कुर्सी ओगटी हालिन र म तिनै पंक्तिको पछाडी उभिन थाले । केही बेरपछि काउन्टरमा पुग्दा अमेरिकन डलरलाई सटही गर्न सहरको मुख्य बैंक जानु पर्छ भन्ने कर्मचारीले भन्दा म खङग्रङ्गै भए । अब चानचुन सत्तरी लाख जनसंख्या भएको सहर छाङ्साको मुख्य बैंक कहाँ पर्ने होला भनेर नुन खाएको कुखुरा झै झोक्राउदै काउन्टर छाडेर निस्के ।

 

मेरो नजिकै एक जना चिनिया युबती उभि रहेकी थिईन । उनले मलाई केही सहयोग गर्ने अपेक्षा गर्दै म सँग बोल्न आईन । त्यसपछि उनले, “के तपाई सँग क्रेडिट कार्ड छ ?” भनेर मलाई प्रश्न गरिन । मैले “छ” भनेर छोटो उत्तर फर्काई दिए । उनले ‘यता आउनोस’ भन्दै मेशिनबाट पैसा निकाल्ने ठाउँमा लगिन । मैले मेसिनमा कार्ड छिराएपछि त्यहाँ देखिने चिनिया अक्षरहरु पढेर उनैले युवान निकाल्न मद्दत गरिन । उनलाई धेरै धेरै धन्यबाद भनेर त्यहाँबाट बिदा भयौ ।

 

“सिटी अफ इन्टरट्रेनमेन्ट” मनोरञ्जनको सहर भनेर बिख्यात उपनामले चिनिने ‘छाङसा’ सियाङ नदीको दायाँ बायाँ किनारमा फैलिएर रहेको थियो । सियाङ नदी कुनै कुनै बेला जोडिएर र कुनै बेला बिशाल भङगालाहरुमा बिभाजित भएर दुई तर्फ हानिदाँ नदीले स–साना दीपहरुको निर्माण गरेका थिए । हामी तिनै दीपहरु मध्येका एउटा सुन्तला दीप “ओरेन्ज आईल” जादै थियौ ।

 

बैंकबाट निस्केर हामी छाङ्सा मेट्रोको ‘लाईन दुई’ समातेर जुजिजौ स्टेसन सुन्तला दीपमा पुग्यौ । स्टेसनदेखि बाहिर निस्कने ठाउँमा सानो खेलौना रेल हाम्रो प्रतिक्षा गरेर बसिरहेको थियो । थोरै युवान तिरेर चढेको त्यो रेलले एक्कै क्षणमा माओको टाउकोको प्रतिमा स्थलमा पु¥याईदियो । दुई बर्ष लगाएर सन् २००९ मा सम्पन्न गरिएको त्यो माओको टाउकोको शालिक फुजियन प्रान्तदेखि ल्याईएको ग्रेनाइट चट्टानबाट निर्माण गरिएको थियो । ३२ मिटर अग्लो र ८ सय टन चट्टानबाट बनेका तिनै शालिक छाङ्साको मुख्य पर्यटकीय स्थल थियो ।

 

भोली बिहानको दश बजे हामी ‘छाङसा दक्षिण रेल स्टेसन’ पुगि सकेका थियौ । जुन स्टेसनदेखि उच्च गतिको ट्रेन समातेर माओ त्से तुङ्गो जन्मघर “साओसान” जादै थियौ । स्टेसनको माथिलो तलामा रेलको टिकट र सुरक्षा जाँच गरेपछि हिडदै प्लेटफर्ममा झरेर हामी चढनै लागेको डिब्बा रोकिने स्थान नजिक गएर रेलको प्रतिक्षा गर्न थाल्यौ ।

 

केही समयपछि रेल आयो । र, दुवै जनाले रेलको आरामदायी सिटमा बसेपछि –

“तारा ! एउटा जिन्दगी जिउनु पर्छ यदि यसैलाई राम्रो बनाउने हो भने यो नै काफी हुन्छ, हगि ?”

मेरो भनाईलाई उनले राम्ररी सुनिन तर केही प्रतिक्रिया दिन चाहिनन् । बरु एकै शब्द नबोली अर्को तिर फर्केर सर्लक्कै आँखा चिम्लेर निदाउने प्रयत्न गरिन । उनले निदाउने प्रयत्न गरेपछि मेरो लोभी नजरलाई यता उता डुलाउन थाले ।

रेल गुडन थाल्यो र बिस्तारै उच्च गति लियो । उच्च गतिमा गुडेको रेल भन्दा पनि बिमानमा उडे झैँ मलाई महशुस भयो । रेलको हरेक डिब्बा छुट्याउने मुख्य द्वारको सिधै माथि सानो बिद्युतीय सूचना दिने ठाउँ थियो । त्यस स्थानमा समय समयमा अंग्रेजी र चाइनिज अक्षरमा सूचनाहरु क्रमैसँग झुल्कन्थे र केही छिनमा मेटिन्थे । रेलले केही मिनेटमा नै प्रति घन्टाको गति ३१० किलोमिटर लिएको सुचना त्यहाँ देखा पर्दा मैले पुर्पुरोमा हात राखेर आश्चर्य प्रकट गरिरहे ।

 

समथर भुमिमा लटरम्म पाकेका सुन्तला, कागती र निभुवाका फलफुल हेर्दै हर्दै हाम्रो समय अबिरल बहने नदी झैँ बहि रह्यो । रेलले लिएको उच्च गति सँग सँगै चिनिया परिचारिकाहरुले पेय पदार्थहरु लिएर हाम्रो सामु खडा हुन थाले । कुनै कुनै यात्रुहरुले बियर र वाईन किनेर पिउन थाले तर कोही कोही त्यतिक्कै बसिरहे । मैले पनि एक बोतल फुच्चे ‘सिङ्ताओ बियर’ दिनुहोस भनेर मागे र टेक्क आवाज निकालेर फुटाए । मैले बियर फुटाएको बियरको आवाज ताराको कानसम्म पुग्यो ।

 

“यति बिहानै पनि के बियर रुचेको हो ?” मस्त सँग सुतेकी जस्तो लागेको थियो तर अमिलो आवाज निकाल्दै बोलिन ।

 

“जाबो बियर पिउन पनि कसले साईत जुराई रहन्छ र…?” रुखो जबाफ हावा तिर छाडी पठाईदिए ।

रातो ज्याकेट र रातै स्कर्ट लगाएकी मोडल जस्ता देखिने परिचारिकाहरुले टकटक हिल पडकाउदै बिभिन्न प्रकारका बास्नादार चाइनिज खानाका परिकारहरु धमाधम ट्रलीमा गुडाउन थाले । उनीहरु गईसकेपछि ‘लाशि – लाशि’ भन्दै फोहोर उठाउने युबतीहरु देखा पर्न थाले । लाशि युबतीहरु रेलको अगाडि भागबाट पुर्णिमाको चन्द्रमा झैँ झुल्केका थिए र केही क्षणपछि डिब्बाको पछाडीतिर अस्ताई हाले ।

 

युबतीहरुको चहलपहल सकिने बितिक्कै डिब्बामा एकाध शुन्यताले छाई रह्यो । धेरै यात्रुहरु बियर र वाईनको चुस्कीसँग सँगै पत्रिका पढिरहेका थिए । तर मैले मन भुलाउन लोभी नजरलाई झ्यालबाट सिधै बाहिर तिर डुलाउन थाले । मलाई यस्तो लाग्यो । रेल कतै घरहरुको धुरी भएर त गुडिरहेको छैन, किनभने त्यहाँ बाट मुनि जमिनमा मानिसका आकृतिहरु कमिला जत्रा मात्र देखिएका थिए । मलाई त्यो दृश्यले आफ्नो देश सम्झेर थोरै बितृष्णा उत्पन्न गरायो । एउटा असल छिमेकी राष्ट्रले मानबीय कल्पना भन्दा धेरै टाढा पुगेर हामीलाई थाहै नदिई बिकासको फड्को त्यति धेरै मारिसकेका रहेछन् ।

म घनिभुत भावनामा डुबुल्की मारिरहेको थिए । अचानक रेलको सिलङमा भएको ध्वनी प्रसारक यन्त्रबाट टिङरिङ….गरेको आवाज आयो । आवाज सँगसँगै चालकले रेल साओसान पुग्नै आटेको उद्घोषण गरे । उदघोषणले तारालाई मस्त निन्द्राबाट सर्लक्कै ब्युझाईदियो । उनले ब्यँुझने क्रममा भर्खरै प्वाँख पलाउदै गरेको जुरेली चरीको सानो बचेरा झै बिस्तारै आँखा खोलिन र मलाई तिनै चिम्रो आँखाले छडके नजर हानिन् । तिनै निर्दयी चर्मचक्षुहरु म देखि लोप हुनै लाग्दा मैले बियरको अन्तिम घुटकी पिए र बोतललाई बिदाई गरि पठाए ।

 

बिना आवाज रेलले बिश्राम लियो । हामी आ–आफ्नो हाते झोलाहरु च्यापेर रेल बाट बाहिर निस्कन थाल्यौ । तर मैले जमिनमा राम्रोसँग खुट्टा टेक्न नपाउदै–

 

“खै माओको घर कहाँ हो ?”

एकझप्को सुतेर उठेपछि ताराले अमिलो प्रश्न गरिन । रेलदेखि झर्ने बितिक्कै आएको उनको त्यो प्रश्नले म केही बेर नाजबाफ बने । माओको गाउँमा आएर श्रीमतीसँग झगडा गरेर के ‘यौद्ध कौशल’ देखाई हाल्ने भन्दै म केही नबोली लुरुलुरु हिडे । बरु बराबरी उत्तरदायित्व बहन गर्नु पर्छ, “आधा आकाश नारीको पनि हो” भन्ने माओको महाणबाणीलाई बिरमाईलो मान्दै सम्झिरहे ।

माओको जन्मघर साओसान ।

हाम्रो कदमहरु स्टेसनबाट बाहिर पर्ने बितिक्कै दुरिबाट ‘माओ जी दुङ, माओ जी दुङ’ भन्ने युबतीहरुको सुरिलो आवाज हामी तर्फ आउन थाल्यो । तिनै आवाजले डोर्‍याउदै हामीलाई बस पार्कसम्म पुर्‍याईदियो । तिनै युबतीहरुको बिचबाट एउटी सिन्का जस्ती पातली युबती मेरो नजिक आईन र थुतुनो बङग्याउदै बोल्न थालिन ।

 

“ट्याक्सी वा कोच बाट जानु हुन्छ ?”

उनले बोलेको कुरो मैले शंकाको भरमा बुझ्न खोजे । चोर औला उठाएर नजिकैको कोचमा जाने संकेत गरिदिए । उनले पनि हात उठाएर ठिक्कैछ भनेर स्वीकार गरिन । हामी कोचमा पसेको एक्कै छिनमा  चिनियाँहरु पस्न थाले र मेण्डरिन भाषामा काङ्ल्याङ कुङ्लुङ गर्दै कोच भरियो । चिनियाँहरु होहल्ला गर्न र उछिना उछिन गर्न माहिर हुने रहेछ भन्ने कुरो उनीहरुले त्यहाँ देखाएको ब्यबहारबाट प्रष्ट भएका थिए ।

 

केही बेरमा दुई वटी स्वर्गको परिहरु कोच भित्र छिरे र पालैपालो मेण्डरिन भाषामा लामो भाषण गरिरहे । उनीहरुले त्यति लामो समय सम्म बोल्दा पनि अंग्रेजीमा एउटै शब्द उच्चारण नगर्दा मेरो मन भित्र एकदम खल्लो भयो । अब के हुने होला भनेर ताराले मलाई चिमोटी रहदाँ म भित्रको सागरमा त्रासको छाल उर्लन थाल्यो ।

 

“माओको घर आउनु भयो कि…? अहिले सम्म कुनै नेपालीलाई यति टाढा आउन रहर लागेको थिएन । तपाईलाई नै नाना थरी ?” उनको त्यस्तो अपुर्ण तर नमिठो बचन मेरो दाहिने छातीमा तिर झै सिधै आएर बज्रन पुग्यो ।

 

“आ….! कोच भित्र छौ, सबै त्यतै तिर त जाने होला ?” मन भित्र थोरै त्रास उत्पन्न भैरहेको थियो तर बाहिर ढुक्क भएको नक्कल पार्दै जबाफ फर्काई दिए ।

युबतीहरुले भाषण गरि सक्ने बितिक्कै कोच भित्र टिकट बेच्न सुरु गरे । हामीले उनीहरुको फिटिक्कै कुरो बुझेका थिएनौ । कुन टिकट किनेर कहाँ जाने भनेर द्धबिधामा परिरहेका थियौ । फेरि त्यति धेरै प्रकारका टिकटहरु केका लागि भनेर झन पीरको भारीमाथि सुफाडी थपिन पुग्यो । तै पनि मैले एउटा टिकट मागेर कतै अंग्रजी अक्षरमा केही लेखिएका छन कि भनेर ओल्टाई पल्टाई हेरे । एउटै फिट्टो अंग्रजी अक्षर नभेटिएपछि हाम्रो यात्रामा झन नयाँ चुनौती थपिन पुग्यो ।

 

“श्रीमान् ज्यू ! के माओको जन्मघर निल्नु न ओकल्नु भयो हो ?” जिब्रो लटपटिदै लटपटिदै फेरि अर्को झटारो आई हाल्यो ।

 

 

“केही भएको छैन । एक छिन धैर्यताको औषधी खाउ न,” थोरै सान्त्वना दिने प्रयत्न गरे ।

उनलाई त्यति भनि सकेर कोचको झ्याल बाट एकछिन बाहिर तिर हेरे । मध्यान्हको टन्टलापुर घामले साओसान गाउँ मुस्कुराई रहेको देखिन्थ्यो । आँखाले देखिन्जेल सम्म कोचहरु लमटन्न पार्क गरेर राखिएको सुन्दर दृश्य मेरो मस्तिष्कमा कैद गरे । कोचहरुको रमितापछि लामो सास तानेर एकछिन शान्तसँग बसे । त्यसपछि कोचमा यात्रा गर्ने टिकट मात्रै किनेर माओको घर सम्म जाने निधो गरे । र, बाँकी निर्णय उतै तिर पुगेर गरौला भन्ने मनस्थितिमा पुगे ।

 

त्यति राम्री युबतीहरुको टिकट बेच्ने आकांक्षालाई खिन्न पार्दै हामीले कोचबाट यात्रा गर्ने दुई वटा टिकटहरु मात्रै खरिद ग¥यौं । र, सबै यात्रुहरुको हात हातमा टिकट परे पश्चात कोचले बिस्तारै बाटो तताउन थाल्यो । मुख्य सडकमा पुगेपछि सडकका चौडाईहरु असाध्यै फराकिला देखेर ताराले आश्चर्य मान्दै –

 

“होइन ! यो बाटो हो कि, एअरपोर्ट हो ?”

 

नभन्दै त्यहाँका सडकहरु त्रिभुवन बिमानस्थलको धावन मार्ग भन्दा अति ठुलो देखिएका थिए । कोचले मुख्य सडकमा केही बेर हिड्यो र मुख्य सडक छाडने बितिक्कै ‘माओ त्से तुङ स्क्वायर’ पुगेर रोकियो । कोच रोकिने बितिक्कै चिनियाँहरु होहल्लाको साथ ओर्लन थाले । बसि रहेको ठाउँबाट हामी पनि जुरुक उठ्यौ र उनीहरुलाई पछ्याउदै कोचबाट झर्‍यौं ।

जमिनमा हाम्रो पाईताला पर्ने बितिक्कै सीधै अगाडि बडेमाको महल देखियो । सबै तिर्थालुहरु एकासुरमा त्यतैतर्फ हानिएर गए । हामी पनि उनिहरुको पछी लागेर महलको ठीक अगाडि पुग्यौ । महलको सीधै अगाडी मस्की रहेकी आकर्षक युवतीहरुले हामीलाई उनीहरुकै भाषामा स्वागत गरे । त्यहाँ भएका कुनै पनि युबतीहरुले अंग्रजी नबोलेपछि खिया परि सकेको मेरो मेण्डरिनले पनि केही माखा मार्न सकेनन् ।

 

केही अन्य उपाए नफुरे पश्चात समुहको एक जना युबती दगुर्दै घर भित्र पसिन । एक्कै छिनमा उनी भन्दा झन सुन्दरी युबती लिएर हाम्रो सामु उपस्थित जनाईन । ती युबतीले केही अंग्रजी पर्चाहरु बोकी रहेकी थिईन । र, मलाई देख्ने बितिक्कै उनले कम्बर मर्काउदै एउटा पर्चा दिई हालिन । मैले पर्चा लिएर एक झलक पढी हेरे । पर्चामा माओको जीवनीदेखि साओसान गाउँको बिस्तृत परिचय लेखिएको थियो ।

पर्चालाई राम्ररी हेरे पश्चात माओको जन्मघर र मेमोरियल स्क्वायर जाने टिकट किन्न उनी सँग मन्जुर गरे । उनले टिकट किन्ने स्थानमा हामीलाई लगिन । टिकट किनिसकेपछि सँगै महल भित्र पस्यौ । महलको सीधै पिछाडि एउटा ठुलो बस पार्क थियो । हामीलाई केही बेर त्यही बसि राख्नोस भन्दै उनी बिलुप्त भईन ।

 

बस चालकहरुको हुलबाट एक जना चालक बोलाएर ल्याईन र एउटा सिङ्गै बस हाम्रो लागि ब्यबस्था गरि दिईन । त्यसको साथ साथै चालकलाई हाम्रो भ्रमणको बारेमा संक्षिप्त जानकारी पनि गराईन । मैले जिन्दगीमा कुनै कुनै बेला, ‘नारीको हृदयमा ईश्वरले बास गरेका हुन्छन,’ भन्ने सुनेको थिए । आफु सँग सँगै यात्रामा निस्केकी नेपाली नारीले त्यस्तो ब्यबहार नदेखाए पनि ती चिनियाँ नारीको त्यस्तो ब्यबहार देख्दा केही हदसम्म त्यो भनाईलाई सत्य लाग्यो ।

 

केही बेरमा हामी दुई जनालाई लिएर कोचले बाटो ततायो । र, माओको जन्मघरको अगाडि झारी दियो । अनि उसले हिडदै जाने बाटो पनि हामीलाई देखाई दियो ।

 

हामी हिडदै जाने सानो गोरेटो बाटो थियो । र, बाटै भरी चिनियाँ पर्यटकहरु बग्रेल्ती थिए । धेरैजसो पर्यटकहरु बिभिन्न गाउँ, स्कुल, कलेज र प्रदेशबाट आएका थिए किनभने उनीहरुले सोही प्रकारका झण्डाहरु बोकी रहेका थिए । कतिपय पर्यटकहरुले खाकी रङ्गका पहिरनमा रातो तारा अङ्कित टोपी लगाएका थिए ।

 

पर्यटकहरुले रातो तारे टोपी लगाएको देख्दा नेपाली माओबादीहरुलाई मैले माओको जन्मघरमा पुगेर झल्यास्स सम्झे । कमरेड माओ त्से तुङ्को जन्मघरमा भेटिएका माओबादीहरु सायद राष्ट्रघाती र भ्रष्टचारी हुन्न जस्तो लाग्यो । नेपाली माओबादीहरुले चन्दा आतङ्क मचाउने, गाईको मासु खाने र कुटपीट गर्ने जस्तो तितो अनुभव सम्झेर मेरो आङ जिरिङ्ग भयो ।

माओ मेमोरियल पार्क साओसान ।

नेपाली माओबादीले दिएको अमिलो अनुभव सम्झदै माओको घर अगाडिको गोरेटोमा हिडिरह्यौ । गोरेटोलाई छाडेपछि भर्खरै पाकेर थन्क्याईएको धान खेतको आली आलि हिड्यौ । कोही पर्यटकहरु पानी नभएको खहरे खोल्साको किनारै किनार पनि हिडदै गरेका देखिन्थे ।

 

कट्टर हिन्दु धर्माबलम्वीहरुले जीवनको उत्तराद्र्धमा काँशी जानुपर्ने रहर गरे झै चिनियाँहरु पनि माओको जन्मघरलाई जिन्दगीमा एक चोटी पुग्नै पर्ने तिर्थयात्राको रुपमा सम्झने रहेछन् । म नास्तिक थिए त्यसैले चार धाम जाने रहर कहिलै गरिन । बरु आफ्नो प्यारो देश नेपाल पनि कम्युनिष्ट मय भै सकेको हुनाले माओको जन्मघरलाई मैले एउटा तिर्थस्थल नै सम्झे । त्यसैले जीवनमा एक चोटी त्यहाँ पुग्ने अभिलाषा थियो । जुन भर्खरै पुरा हुदै थियो ।

 

हिडदै धान खेत पार गरे पश्चात भर्खरै पाकेका खर्बुजा घारी छिचोल्यौ । साम्यवादी शासन ब्यबस्था भएको मुलुक चीनमा सामाजिक संजाललाई पूर्ण रुपले निषेध गरिएता पनि जथाभाबी हिडन पाउदाँ आफुलाई केही हद सम्म प्रजातान्त्रिक अभ्यास भएको अनुभूति भयो । माओको जन्मघर अगाडि मानिसहरुको भिडको बयान गरेर साध्य थिएन । त्यति धैरै मानिसहरुको भिड त मैले ‘जेसस क्राईस्ट’ को जन्मघर बेत्लाहम, जेरुसेलम पुग्दा पनि देखेको थिईन ।

 

हामी तिनै भिडबाट जोगिएर अलिकति सास मात्र बाँकी राखेर माओको जन्मघरको ठेक्कै आँगनमा पुग्यौ । अनि ताराले आँगनमा पहिलो पाईला टेक्ने बितिक्कै –

“मरेर मरेर आई पुगियो । हुनत म यहाँ आएर पनि मैले के नै पो पाउछु र केवल तपाईको रहरको साथी मात्रै त हुँ ।”

 

त्यहाँ पुगेर प्रफुल्ल मुद्रा पार्नुको सट्टा बिरमाईलो मान्दै ताराले पहिलो बाक्य छोडिन । मैले उनको भनाईलाई केबल सुनि मात्रै रहे । घरको मुल ढोका अगाडि उभिएर करिब तीन करोड जनसंख्याको बध गरेको भन्दै गर्ने माओलाई पश्चिमाहरुले कुख्यात तानाशाहको उपनाम दिएको कुरा सम्झे । कस्तो बातावरणमा माओ हुर्केका थिए ? जसले गर्दा त्यति धेरै मानिसहरुको हत्याबाट सत्त परिवर्तन गर्ने सोच आयो भनेर एकछिन सोचिरहे । तर चिनियाँहरुले भगवानको अर्को रुप मान्दै आएको देख्दा म केहीबेर भावुक बनि रहे ।

 

हुनत माओले, “इतिहास हाम्रो रोगको लक्षण हो,” भनेका थिए तै पनि हामी उहाँको घर आँगन पुगेको थोरै इतिहास होस भनेर सम्झनाका लागि केही तस्बिरहरु लिन थाल्यौ । ठिक त्यही बेला नानजिंङ्की एउटी कमरेड युवतीसँग हाम्रो अचानक भेट भयो । उनले नै हाम्रो तस्बिरहरु लिनको लागि मद्दत गरिन । लिभरपुल युनिभर्सिटीमा अंग्रेजी भाषा अध्ययन गरेकी लिना जियाङले माओको बिषयमा हामीलाई संक्षिप्त इतिहास पनि सुनाईन ।

 

माओको जन्म २६ डिसेम्बर १८९३ मा त्यहि घरमा भएको थियो । सत्र बर्षको उमेरमा अध्ययनको लागि छाङ्सा गएर १९१२ मा त्यहि घरमा फर्केका थिए । १९२९ मा यस घरलाई कोमिन्ताङ सरकारले जलाई दिएपछि १९५० मा कम्युनिस्ट सरकारले हुबहु निर्माण गरिदिएका थिए । त्यो घरलाई सङ्ग्राहलयमा परिणत गरेपछि माओले १९५९ मा अन्तिम चोटि त्यहाँ भ्रमण गरेका थिए ।

 

अन्तमा, “बन्दुकको नालबाट राजनीति परिवर्तन हुन्छ,” माओको भनाई राख्दै लिनाले दाहिने हात मुठ्ठी बनाएर आकाशतिर उठाउदै हामीबाट बिदा भईन । उनी बिदा भएपछि हामी घर भित्र पस्ने जमर्को गर्न थाल्यौ । ४७२ बर्ग मिटरको चार धुरे खैरो घर बाहिर मानिसहरुको भिड बाक्लै थियो । केही समय सम्म पङ्त्तिमा उभिएर हामी पनि घर भित्र पस्यौ ।

 

घर भित्र सानो स्मारिकाको दोकान थियो । जहाँ माओको मुर्तिहरु, बन्दुकका गोलीहरु, लालबुकदेखि विभिन्न पुस्तकहरु बेच्नका लागि राखिएका थिए । हामीलाई सबैभन्दा आश्चर्य त्यतिबेला भयो, जतिबेला प्रसन्न मुद्रामा रहेका माओको शालिकसँग तस्बिर लिन मान्छेहरु एक अर्कामा माहुरी झैँ खप्टिरहेका देखिन्थे । हामीले क्रमशः बिस्तारा, भान्सा कोठा, खाना खाने ठाउँ र उनका कार्यालयको नजर लगाएर बाहिर निस्क्यौ ।

 

घर पछाडिको करेसा बारी र वरिपरीको बाताबरण अति स्वच्छ थियो । घरको सीधै अगाडी एउटा आकर्षक तलाउ देखिन्थे । तलाउका छेउ छेउमा हिडने गोरेटोहरु सफा थिए । तिनै गोरेटोको किनारै किनारमा माओको सम्झनाको लागि लहरै रोपिएका रुख बिरुवाहरु अति शोभनिय देखिन्थे ।

त्यस्तो ऐतिहासिक स्थललाई बिटो मार्दै हामी त्यहाँबाट ‘पहिलो र अन्तिम’ यात्रा भन्दै कोच रोकेको स्थानमा गयौ ।

 

कोच पक्रेर हामी माओको मेमोरियल स्क्वायर तर्फ लाग्यौ । जहाँ ठुलो सैनिक परेड मैदान र उत्तरी भागमा माओको ३६ मिटर अग्लो तामाको शालिक खडा गरेर राखिएका थिए । जुन शालिकमा “अद्वितिय कर्णधार” लेखिएका छन् । हामी त्यहाँ पुग्दा हरेक तिर्थालुहरुले फूल चडाएर तीन चोटी शिर निहुरी रहेका बिरमाईलो दृश्य देखिएका थिए । तारा र मैले पनि नजिकै रहेको फूल दोकान बाट फूलको बुके किनेर चढायौ र शिर झुकाएर तीन चोटी अन्तिम सन्मान “लास्ट रेस्पेक्ट” गर्‍यौं ।

माओको शालिकमा फूल चढाउदै ।

सम्भबत माओले जिन्दगीमा चाहेको जति सबै कुरो पुरा गरेता पनि आफ्नो मृत्यु पछिको इच्छा चाही पुरा गर्न पाएका थिएनन् । आफ्नो मृत्युपछी उहाँको पार्थिक शरीरलाई जन्मघर नजिकको तिनै साओशान डाँडामा राखिओस भन्ने अन्तिम इच्छा थियो । तर उनका कम्युनिष्ट उताराधिकारीहरुले त्यसलाई ठाडै अस्विकार गरि दिएका थिए ।

 

९ सेप्टेम्बर १९७६ को दिन माओको दुखद निधन भयो । उहाँको निधन भएपछि कम्युनिस्ट पार्टीले सगरमाथा लगायत चीनको सबै प्रदेशहरुबाट एक एक वटा ढुंगा जम्मा गरेर टिनानमेन चौक, बेइजिंगमा माओ त्से तुङ् मेमोरियल हलको निर्माण गरेर तिनै हलमा २४ मे १९७७ देखि अहिले सम्म राखि दिएका छन् ।

 

हामीले माओ त्से तुङ्को जन्मघर साओसान, अध्ययन गरेको युनिभर्सिटि छाङ्सा र समाधिस्थल टिनानमेन स्क्वायर बेईजिङलाई बिपरित दिशाबाट भ्रमण गरेर पुरा गरेका थियौ ।

अक्सफोर्ड, बेलायत

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार