
लण्डन । बेलायतको नर्दर्न आयरल्याण्ड नेपाली समाजले एनआरएनए यूकेको ३१ जुलाईमा हुन गैरहेको निर्वाचनमा नर्दर्न आयरल्याण्डलाई प्रतिनिधित्व गर्ने उपाध्यक्ष पदमा नारायण कँडेललाई समर्थन गर्ने भएको छ ।
समाजका अध्यक्ष बलबहादुर थापाले नर्दन आयरल्याण्डमा एनआरएनए स्थापना गर्नेदेखि नर्दन आयरल्याण्डलाई सिंगो बेलायतसँग जोड्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएकाले कँडेललाई संस्थागत रुपमा नै समर्थन गरेको बताए ।
एनसीसी यूकेको उपाध्यक्ष रहेका कँडेलले आगामी कार्यकाल २०२१–२०२३ का लागि पनि नर्दन आयरल्याण्डलाई प्रतिनिधित्व गर्ने गरी उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।
“म सुधारका स्पष्ट अजेण्डा सहित एनआरएनए युकेमा प्रवेश गरेको हुँ । मैले आफना् एजेण्डाहरु अनुसार नै काम गरिरहेको छु । आर्थिक पारदर्शिता हासिल गर्न ठोस काम भएको छ । विकेन्द्रिकरण अर्थात राज्य तहमा संरचना पुर्याउने कामको नेतृत्व मैले नै गरेको हुँ । नेपाली नागरिकताको निरन्तरता र गोर्खाको न्यायका लागि मसंग सुस्पष्ट भिजन छ । मैले चुनाव जित्नका लागि मात्र बोलेको होइन आफुले बोलेको पुरा गर्न यहा उभिएको हु । मलाई सदस्यताबाट हटाउने, बैठकबाट निकाल्ने गर्दा समेत मैले आफ्नो लक्ष्य छाडिन र छाड्ने छैन । म सधै तपाईको साथमा उभिने छु,“ कंडेलले भने ।
“मलाई उपाध्यक्ष चुन्न युके भरिबाट (इग्ल्याण्ड, वेल्स, स्कटल्याण्डबाट) एनआरएनए युकेका सम्पूर्ण पंजीकृत सदस्यहरुले मतदान गर्नु पर्ने भएकाले हजुरहरु सबैमा सहयोगका लागि अनुरोध गर्दछु,“ उनले भने।
नर्दन आयरल्याण्डमा एनआरएनए राज्य समन्वय परिषद् स्थापनासँगै एनसीसी यूकेको संस्थागत सुदृढीकरण तथा पारदर्शिताका लागि अभियान नै चलाएका कँडेल बेलायतभर नै लोकप्रिय मानिन्छन् ।
’हामीले सर्वसम्मत नै बनाउने पहल गरेका थियौं,’ समाजका अध्यक्ष थापाले भने, ’सर्वसम्मत नभएपनि निर्वाचनबाट उहाँलाई विजयी गराउने छौं ।’
नर्दन आयरल्याण्डलाई प्रतिनिधित्व गर्ने उपाध्यक्षमा कँडेलसँगै नारायण कुँवरले पनि उम्मेदवारी दिएका छन् । समाजले कुँवरको उम्मेदवारी फिर्ता गराउने पहल गरेपनि कुँवरले अस्वीकार गरेपछि कँडेल र कुँवरबीच चुनावी प्रतिस्पर्धा हुन लागेको हो ।
नर्दन आयरल्याण्डको उपाध्यक्षका रुपमा एक कार्यकाल पूरा गर्न लागेका कँडेलले सिंगो एनसीसी सुधारसहित राज्य समन्वय परिषद्लाई संगठित गर्न योगदान गरेकाले पुन: एकपटक उनलाई निर्वाचित गरिने थापाले स्पष्ट पारे ।
स्थापित व्यवसायी र समाजसेवी
गएको १२ वर्ष देखि नर्दर्न आयरल्याण्डमा बस्दै आएका कँडेल सो क्षेत्रका स्थापित व्यवसायी र समाजसेवी समेत हुन् । नेपाल र बेलायती कानुनका जानकारसमेत मानिने कँडेल बौद्धिक व्यक्तिका रुपमासमेत परिचित छन् । उनले क्विन्स विश्वविद्यालयबाट ’नेपालको सन्दर्भमा अभिव्यक्ति स्वतन्त्रता’ विषयमा पीएचडी पनि गरिरहेका छन्।
‘कँडेलजीकै नेतृत्वमा फेरि एक पटक नर्दर्न आयरल्याण्डलाई सिंगो बेलायतसँग जोड्ने र एनआरएनमा नर्दर्न आयरल्याण्डको छुट्टै पहिचान स्थापित गर्ने हाम्रो योजना हो,’ थापाले स्पष्ट पारे । कँडेलकै पहल र योजनामा नर्दर्न आयरल्याण्ड र स्कटल्याण्डमा राज्य समन्वय परिषद स्थापना भएको थापाले सुनाए ।
नारायण कँडेलले उपाध्यक्षका रुपमा एक कार्यकाल पार गरिसकेको र त्यसक्रममा महत्वपूर्ण अनुभव सँगालेका कारण आगामी कार्यकालमा उनको अनुभव सिंगो नेपाली समुदायको हितका लागि फलदायी हुने समाजको विश्वास छ ।
एनआरएन यूकेमा भएको आर्थिक अनियमिततामा संलग्नलाई कारबाही हुनुपर्ने माग राख्ने मध्येमा कँडेल अग्रस्थानमा आउँछन् । एनसीसीमा गरेको पहल सफल नभएपछि कँडेलसहितका पदाधिकारीहरुले अनियमितता गर्नेलाई कारबाही गर्नुपर्ने मागसहित अदालतमा मुद्दा दायर गरेका हुन् । उक्त मुद्दा बेलायतको अदालतमा विचाराधीन अवस्थामा छ ।
आर्थिक पारदर्शिताका लागि संघर्षरत कँडेललाई पराजित गर्न अनियमिततामा संलग्न पूर्वपदाधिकारी लगायत केही व्यक्तिहरुले कँडेलका विरुद्ध अभियान नै चलाइ रहेका छन् ।







