माओवादी र कांग्रेससँग रूष्ट एकीकृत समाजवादी

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले सोमबारको सचिवालय बैठकमार्फत पार्टीबाट मन्त्री बनेकाहरूको रिपोर्ट कार्ड माग्यो ।

 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीहरू हेरफेर गर्ने बताइरहेका बेला एकीकृत समाजवादीले प्रगति विवरण माग गरेको हो । मन्त्रीहरूको कार्यशैलीबारे पार्टीभित्रै पनि आलोचना भइरहेको छ । यसैबीच प्रगति विवरण माग गर्नुले एकीकृत समाजवादीले मन्त्रीहरू फेरबदल गर्न लागेको चर्चा सुरू भएको छ ।

 

पार्टीका सचिव तथा कार्यालय सचिव जीवनराम श्रेष्ठ मन्त्रीहरू फेर्ने कुरा अस्वीकार गर्छन् ।  “मन्त्रालय सम्हालेपछि भएका काम कारबाहीको विवरण मागिएको हो,” उनी भन्छन्, “मन्त्री हेरफेर गर्न लागिएको होइन ।”

 

एकीकृत समाजवादीका तर्फबाट केन्द्रीय सरकारमा उपाध्यक्ष बेदुराम भुसाल कृषि तथा पशुपन्छी विकासमन्त्री र उपमहासचिव प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायातमन्त्री छन् । त्यस्तै नन्दा चपाईं भौतिक पूर्वाधार राज्यमन्त्री छन् ।

 

पार्टीका उपमहासचिव गंगालाल तुलाधर मन्त्रीहरूले आफूले गरेका कामबारे सचिवालय बैठकमा नै प्रस्ततु गर्ने निर्णय गरिएको बताउँछन् ।

 

“मन्त्रीले आफूले गरेको सम्पूर्ण काम समय –समयमा पार्टीमा प्रस्तुत गर्नुपर्छ,” उनी भन्छन्, “पार्टीमा रिपोर्ट नआइपुगेको भए पेश गर्ने र एउटा सचिवालय बैठकमा उहाँहरूले नै प्रस्तुत गर्ने कुरा भएको हो ।”

 

मन्त्रीहरूले गरेका काम पार्टीले थाहा नपाएको भए ‘ब्रिफिङ’पछि जानकारी हुने उनको भनाइ छ । पार्टीका मन्त्रीहरू हेरफेरबारे कुनै छलफल नभएको उनको भनाइ छ । अर्का एक पदाधिकारीले भने मन्त्रीहरूले पार्टी कार्यकर्ताबाट अपेक्षा गरे अनुसार काम गर्न नसकेकोमा आलोचना भइरहेको बताए ।

 

पार्टीका कार्यर्ताहरूले मन्त्रीहरूसँग अपेक्षा राख्नु स्वभाविक हो । त्यसअनुसार काम हुन सकेको छैन,” ती पदाधिकारी भन्छन् “मन्त्रीहरू पनि आलोचनाबाट मुक्त हुन सक्नुभएको छैन ।”

 

सरकारका सहभागी दुई मन्त्री नै पार्टीका पदाधिकारी हुन् । पदाधिकारी भएकाले उनीहरूसहितको बैठकमा मन्त्री हेरफेर गर्ने विषयमा छलफल नुहेन ती नेताको भनाइ छ ।

 

अर्का एक पदाधिकारीका अनुसार, मन्त्री हेरफेर गर्ने विषयमा पहिले जस्तो चर्चा नहुने बताउँछन् । एकीकृत समाजवादीले तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारबाट मन्त्रीहरू फिर्ता गर्ने विषयमा धेरै चर्चा पाउँदा राम्रो सन्देश नगएको नेताहरू बताउँछन् ।

 

त्यतिबेला मन्त्रीहरू रामकुमारी झाँक्री, विरोध खतिवडालगायत सरकारबाट बाहिरिँदा असन्तुष्टि पोखिएको थियो । समय अगावै हल्ला गर्दा कर्मचारीले पनि नटेर्ने र मन्त्रालयका काममा प्रभाव पर्ने भएकाले पनि चर्चाको विषयमा नबाइने तयारी छ ।

 

एक पदाधिकारीका अनुसार, पार्टीबाट मन्त्री बनाइएकाहरूलाई निश्चित समयपछि फिर्ता हुनुपर्ने शर्त राखिएको छ । सरकारमा रहेको मन्त्रीहरू पनि त्यहीअनुरुप ‘माइन्ड मेकअप’मा रहेको ती पदाधिकारीको जिकिर छ ।

 

“निश्चित समयमा तपाईंहरू फर्कने अर्को टोली जान्छ भन्ने शर्त नै थियो ।  लगभग एक वर्षको कुरा गरिएको थियो । गएको ३६५ दिन नै भनेर हिसाब हुने कुरा त भएको,” ती पदाधिकारी भन्छन्, “त्यसमा नै मन्त्रीहरूले मनस्थिति बनाउनुभएको छ ।”

‘राष्ट्रियसभामा अपमान भयो’ 

एकीकृत समाजवादीले राष्ट्रियसभाको निर्वाचनका लागि उमेदवार तय गर्दा पार्टीलाई अपमान गरेको निष्कर्ष निकालेको छ । राष्ट्रियसभामा तीन जना उमेदवार पाउनुपर्ने माग राखिएकोमा दुुई जना मात्रै दिइएको र त्यसमा पनि क्लष्टर छान्न नपाइनुले सत्ता गठबन्धनका ठूला दलले पेलेको निष्कर्षमा नेताहरू पुगेका छन् ।

 

कार्यालय सचिव श्रेष्ठ गठबन्धनको भागबण्डामा आफूहरूको असन्तुष्टि रहेको बताउँछन् । माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि एकीकृत समाजवादीबाट घनश्याम रिजाल र सावित्री मल्ल उमेदवार छन् । एकीकृत समाजवादीले वाग्मती प्रदेशमा अन्य क्लष्टर पाउनुपर्ने दाबी गरेको थियो । तर, नेपाली कांग्रेसले उक्त क्लष्टर नछाडेपछि एकीकृत समाजवादीले दलित कोटामा रिजाललाई उमेदवार बनाएको थियो ।

 

सत्ताको नेतृत्व गरिरहेको दल नेकपा (माओवादी केन्द्र) र साझेदार कांग्रेसको अपमान सहेर बस्नुभन्दा सरकारबाट बाहिरिनु उपयुक्त धारणा अधिकांशको रहेको एक नेताको जिकिर छ । तर, गठबन्धनबाट बाहिरने पनि सरकार छाड्ने निर्णय भने हुनेछैन । पार्टीको असन्तुष्टि भने माओवादी र कांग्रेसलाई सुनाउने निर्णय बैठकले गरेको छ ।

 

उपमहासचिव तुलाधरले पार्टीको असन्तुष्टि छुट्टा छुट्टै र सामूहिक रुपमा राखिने जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार