चेपाङ समुदायको पहिलो नर्स , सधैं ‘स्कुल टप’ हुन्थिन्,

हरेक बिहान ५ बजे उठेर घाँस काट्न जान्थिन्। भारी पुर्याएर फर्किंदा समय भए आमासँगै खेतबारीको काम गर्थिन्। अनि १० बजे स्कुल पुग्थिन्। स्कुलबाट फर्केर फेरि घाँस काट्ने, बारी खन्ने काममा बुबाआमालाई सघाउने। रातको १२ बजेसम्म गृहकार्य सकेर सुत्ने। एक दशकअघि सरिता चेपाङको दैनिकी यस्तै थियो।

 

वर्षभरि खाने मकै आफ्नै बारीमा फल्थ्यो। तरकारी खेतीबाट हुने आम्दानीले घर खर्च चलाइन्थ्यो। काउली, काँक्रा, भिण्डी, साग, घिरौँला बेचेर पढाइ खर्च टथ्र्यो। कक्षा ४ पढ्दा एकजना शिक्षकले सोधेका थिए। भविष्यमा के बन्ने? उत्तरमा कक्षाकोठाका प्रत्येक साथीहरूले जस्तै उनले पनि सुनाएकी थिइन्– डाक्टर बन्ने।

 

यो भन्दै गर्दा लागेको थियो, शिक्षकले के भन्लान्? साथीहरू हाँस्लान् कि? गिज्याउलान् कि? किनभने चेपाङ समुदायका धेरैको कल्पनाभन्दा निकै टाढाको कुरा थियो– डाक्टर बन्नु। यो समुदायको आर्थिक, शैक्षिक, सामाजिक स्तर कमजोर छ। मकवानपुर, चितवन, गोरखा र तनहुँमा यो समुदायको बस्ती छ।

 

सरिताको सपना सुनेपछि शिक्षकले नै भनेका थिए– डाक्टर पढ्न त धेरै खर्च लाग्छ। त्यो सुनेपछि उनले डाक्टर बन्ने लक्ष्य त्यागिदिइन्। आफ्नो बाल्यकालको सपना त्याग्नुपरे पनि धादिङको बेनिघाट रोराङकी सरिता निकै ठूलो संघर्ष गरेर चेपाङ समुदायबाट पहिलो नर्स बन्न सफल भएकी छन्।

 

उनको परिवारमा धेरै पढेका कोही थिएनन्। तर, समाजका अन्य व्यक्तिको तुलनामा भिन्न सोच थियो उनका बुबाको। समाजमा आफ्ना सन्तान बेग्लै बनून् भन्ने चाहन्थे। त्यसैले त भन्थे, ‘समयमै विद्यालय पुग्नू, साथीसँग लागेर खाजाको समयमै भागेर घर नआउनू, पढेर बेलुका मात्रै फर्कनू।’

 

बेन्चको अभावका कारण चित्रकला प्राथमिक विद्यालयमा ५ कक्षासम्म पढ्दा भुइँमा आफैँले लगेको बोरा ओछ्याएर पढ्नुपथ्र्यो। बोरा नलैजानेहरु चप्पलमाथि बस्थे। कहिलेकाहीँ विद्यालय नजिकैको बरको रुखमुनि बसाएर पढाइन्थ्यो।

 

एक घण्टाको उकालो बाटो हिँडेर श्री राष्ट्रिय माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरेकी थिइन् उनले। एसएलसी सक्दासम्म उनलाई नर्स बन्ने सपना पुरा होला कि नहोला शंकै थियो। तर मेहनत गरिरहिन्। विद्यालय तहको पढाइमा कहिल्यै दोस्रो भइनन्। सधैं ‘स्कुल टप’ हुन्थिन्।

 

अभिभावकले नर्सिङ पढाउन सक्दैनन् भनेर उनी कक्षा ११ मा शिक्षा संकायमा भर्ना हुन ठिक्क परेकी थिइन्। त्यसैबेला ‘हामीले नगरे कसले गर्ने’ सामाजिक संस्थाको सम्पर्कमा पुगिन्। जसले उनलाई सघाउने भयो।​

अस्ट्रेलियास्थित चितवन समाज भिक्टोरियाले आर्थिक रुपमा केही सहयोग गर्यो। उक्त संस्थाले नर्सिङ पढ्न सहयोग गर्ने भएपछि सरिता पढ्न चितवन पुगेकी थिइन्।  ‘पहिलोपटक चितवन आएकी थिएँ,’ उनी सम्झन्छिन्, ‘ठूलो बजारमा हराउँछु कि भन्ने डर लाग्यो।’  उनले बिस्तारै बुझिन् नर्स पढ्न धेरै खर्च लाग्दैन। सीटीईभीटीको छात्रवृत्तिमा भरतपुर अस्पतालको नर्सिङ कलेजमा पढ्ने अवसर मिल्यो।

 

पढ्दाताकाका दिन त्यति सजिलो थिएन। होस्टेलमा बसेर प्रवेश परीक्षाको तयारी गर्दैगर्दा पहिलोपटक घर छाडेकी उनलाई घरको यादले धेरै सताउँथ्यो। एक्लै बसेर रुन्थिन्। अंग्रेजी भाषामा परीक्षाको तयारी गर्नुपर्दा निकै आतिन्थ्यो मन।

 

नर्सिङ पढाइका लागि अस्पतालमा अभ्यास गर्दा पनि उनले अप्ठ्यारो अनुभव गरिन्। बिरामी, घाइते र मृतक देखेर भित्रभित्रै डराउँथिन्। २०७५ सालमा नर्सिङ अध्ययन उत्तीर्ण गरेर सिन्धुली जिल्ला अस्पतालमा गत असोज १७ गतेदेखि अ.न.मि. चौथो पदमा (स्थायी) कार्यरत छन् उनी।​

 

समुदायबाटै पहिलो नर्स बनेपछि उनी गाउँघरमा उदाहरणीय बनेकी छन्। अभिभावकले बालबालिकालाई पढ्न प्रेरित गर्दा उनको नाम पनि लिने गर्छन्। उनी गाउँ जाँदा सबैले माया, सम्मान गर्छन्। नर्स पढ्न जति सजिलो थियो, एउटा जिम्मेवार नर्स बनेर निरन्तर सेवा दिन उत्तिकै कठिन छ। सेवाको भावले उत्प्रेरित हुनुपर्छ। जस्तोसुकै परिस्थितिमा पनि निरन्तर सेवामा खट्नुपर्छ। चाडबाड, पारिवारिक जमघट, साथीभाइसँगको रमाइलो केही नभनी खट्नुपर्छ। मनमा पीर भए पनि बिरामीको अगाडि मुस्कुराउनुपर्छ।

 

‘हामी नर्सहरू कतिपय अवस्थामा धेरै जोखिममा काम गरिरहेका हुन्छौँ। चुनौतीपूर्ण पेसामा रहेर पनि उचित सम्मान नपाउँदा पनि कहिलेकाहीँ चित्त दुख्छ,’ उनी भन्छिन्, ‘कतिपय डाक्टर, बिरामीका आफन्त र पढेलेखेकै मानिसले इज्जत गर्दैनन्।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार